मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख ४ शनिबार १०:०६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

त्रिदेशीय टी–२० शृंखला : कोरोना महामारीबीच मैदानमा पुनरागमन

Read Time : > 2 मिनेट
२०७८ बैशाख ४ शनिबार १०:०६:००

त्रिदेशीय शृंखलाको उद्घाटन खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार २ बजे सुरु, पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स

मान्यताप्राप्त टी–२० खेलमा नेपालले सबैभन्दा बढी प्रतिस्पर्धा गरेको प्रतिद्वन्द्वी हो, नेदरल्यान्ड्स । त्रिदेशीय शृंखलामा त्यही नियमित प्रतिद्वन्द्वीसँगको खेलसँगै नेपालले शनिबार कोरोना भाइरस (कोभिड–१९) महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दै छ । आयोजक नेपाल, नेदरल्यान्ड्स र मलेसिया सहभागी रहेको त्रिदेशीय शृंखलाको उद्घाटन खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार २ बजे सुरु हुने तय छ । वर्षा बाधक नबने खेल निर्धारित समयअनुसार नै सुरु हुनेछ । 

यो प्रतियोगिता नेपालसँगै नेदरल्यान्ड्स र मलेसियाका लागि पनि कोरोना महामारीपछिको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनेछ । कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ । अन्य देशसँगै नेपालमै पनि पछिल्लो केही दिनदेखि संक्रमण दर उकालो लाग्न थालेको अवस्थामा थप अन्तर्राष्ट्रिय प्रतियोगिता अनिश्चितजस्तै देखिएको छ । त्यसका बाबजुद नेपालसहित नेदरल्यान्ड्स र मलेसियाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कारोनाकै समयमै छोटो समयकै लागि भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्नेछन् ।

 

नेपालले पछिल्लोपटक २३ फागुन २०७६ मा थाइल्यान्डमा भएको एसियाली क्रिकेट काउन्सिल (एसिसी) इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेलेको थियो । भाइरस संक्रमण बढिरहेको जोखिमबीच नेपाली टोली उक्त प्रतियोगितामा सहभागी भएर फर्किएको थियो । त्यसको झन्डै दुई सातापछि सरकारले लकडाउनको घोषणा गर्‍यो । कोरोनाकै कारण नेपालमा लामो समय खेलकुद गतिविधि भएन । 

संक्रमण कम भएसँगै घरेलु प्रतियोगिता हुँदै नेपाल क्रिकेट संघ (क्यान)ले यो आमन्त्रित अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । संयोगबस नेपालले टी–२० खेलबाटै अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्ने भएको छ । आमन्त्रित प्रतियोगिता नै भए पनि लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन पाउँदा दुवै टोली उत्साहित देखिएका छन् । यो प्रतियोगिताले तीनै टोलीलाई प्रतिस्पर्धात्मक ‘मुड’मा फर्काउने त छ नै, कोरोना भाइरस महामारीपछिको ‘न्यु नर्मल’को अनुभव पनि दिनेछ ।

दर्शकलाई अनुमति, ‘बायो सेक्योर बबल’मा खेलाडी
काठमाडौंमा दैनिक कोरोना संक्रमण बढिरहेको अवस्थामा जिल्ला प्रशासनले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । यो अनुरोध खेलकुद क्षेत्रलाई पनि हो । यद्यपि, आयोजक क्यानले भने प्रतियोगितामा दर्शकलाई अनुमति दिइने जनाएको छ । त्यसका लागि क्यानले आवश्यक सावधानी अपनाइने जनाएको छ । ‘सम्बन्धित निकायबाट अहिलेसम्म हामीलाई कुनै खबर आएको छैन,’ क्यानका जनरल म्यानेजर रौनक मल्लले भने, ‘यससम्बन्धमा सम्बन्धित निकायले कुनै निर्देशन दिएको अवस्थामा त्यसको पालना गर्नेछौँ । अहिलेलाई खेलमा दर्शकले प्रवेश पाउनेछन् । संक्रमण फैलन नदिन हामी आवश्यक सबै उपाय अपनाउनेछौँ ।’ 

उनले ‘डिजिटल प्रविधि’मार्फत टिकट बिक्री गरिने जनाए । प्रवेश पाइसकेपछि दर्शकलाई निश्चित दूरीमा राखिने र स्यानिटाइजर उपलब्ध गराउने उनले जनाए ।प्रतियोगिता निर्देशक माधव कर्माचार्यले खेलाडीलाई ‘बायो सेक्योर बबल’मा राखिएको जनाए । बायो सेक्योर बबलको परिकल्पना कोरोना महामारी सुरु भइसकेपछि भएको हो । यसमा खेलाडीदेखि प्रतियोगिता सञ्चालनमा सहभागी सबैलाई निश्चित क्षेत्रभित्र सीमित गरिएको हुन्छ । उनीहरूको नियमित परीक्षण गरिन्छ । बाहिर व्यक्तिहरूसँगको सम्पर्कमा कडाइ गरिएको हुन्छ । खेल्ने र अभ्यास गर्ने स्थानहरूमा समेत सुरक्षाको विशेष उपाय अपनाइएको हुन्छ ।

प्रतियोगिताअघि नेपालीसहित नेदरल्यान्ड्स र मलेसियाका खेलाडीको पिसिआर परीक्षण गरिएको थियो । त्यसमध्ये सबै खेलाडी र अफिसियलको समेत परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको उनले जनाए । निर्देशक कर्माचार्यले प्रतियोगितामा खेल मिलेमतोलगायत गतिविधिको अनुसन्धान गर्नका लागि ‘एन्टी करप्सन’ समिति बनाइएको जनाए । त्यसका लागि आइसिसीसँगको समन्वयमा भारतबाट विज्ञ बोलाइएको उनले जानकारी दिए । उनका अनुसार दुई विदेशी टोली सहभागी रहेको प्रतियोगितामा अम्पायर भने नेपाली मात्रै छन् ।

पछिल्लो तीन खेलमा अपराजित
नेपालले सन् २०१२ पछि नेदरल्यान्ड्सँग आठ टी–२० खेल खेलेको छ । समग्रमा हेर्ने हो भने नेदरल्यान्ड्सविरुद्ध नेपालको नतिजा सुखद् छैन । आठमध्ये पाँच खेलको नतिजा नेपालले नेदरल्यान्ड्सलाई सुम्पिएको छ । तर, पछिल्लो तीन खेल भने नेपाल नेदरल्यान्ड्सँग अपराजित छ । पछिल्लो तीनमध्ये दुई खेलमा नेपालले जित हात पारेको छ भने एक खेल अनिर्णीत भएको छ । नेपालले सन् २०१५ मा नेदरल्यान्ड्सँग उसकै मैदानमा चार खेलको टी–२० शृंखला खेलेको थियो । 

सो खेलमा सुरुवाती तीन खेलमा नेपाल लगातर पराजित रह्यो । पहिलो खेल १८ रन, दोस्रो खेल एक सय तीन रन र तेस्रो खेल १८ रनले नै गुमाएको नेपालले चौथो खेलमा भने ३ विकेटको जित हात पारेको थियो । त्यसयता भने नेपाल नेदरल्यान्ड्ससँग अपराजित छ । 

३० जुलाई २०१८ मा इंग्ल्यान्डको पुरानो मेरिलेवन क्रिकेट क्लब (एमसिसी)को आयोजनामा लड्र्स मैदानमा आयोजकसहितको त्रिकोणात्मक प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले अनिर्णीत भएको थियो । त्यसपछि सन् २०१९ मा ओमानले आयोजना गरेको ‘पेन्टागुलर सिरिज’अन्तर्गत भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको थियो । त्यसपछि पहिलोपटक शनिबार प्रतिस्पर्धा गर्न लागेको नेपालले जितको यो लयलाई कायमै राख्ने अपेक्षा गरिएको छ । 

पारसले प्रतियोगिता नखेल्ने
पूर्वकप्तान एवं नेपाली टोलीका महत्वपूर्ण खेलाडी पारस खड्काले भने त्रिदेशीय शृंखला गुमाउने भएका छन् । फिल्डिङ अभ्यासका क्रममा चोटग्रस्त भएपछि पारसले प्रतियोगिता गुमाउने भएका हुन् । प्रतियोगिता नखेल्नेबारे पारस आफँैले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् । उनले डक्टरको सल्लाहअनुसार आफूले केही साता आराम र उपचार गर्नुपर्ने जनाएका छन् । पारसको स्थानमा सन्दीप जोरालाई बोलाइएको छ ।