मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७५ फाल्गुण ४ शनिबार १२:५४:००
Read Time : > 1 मिनेट
समाचार

बाजुराका ९५ बस्ती उच्च जोखिममा

Read Time : > 1 मिनेट
रासस
२०७५ फाल्गुण ४ शनिबार १२:५४:००

जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।     

जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । ती ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको छ । 

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका जोखिममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाई स्थान्नातरण गर्नुपर्ने निर्णय गरेको प्रजिअ बरालले बताए । जसमा त्रिवेणी नगरपालिकाको वडा नं १ को विशालबजार, सल्लेरी, वडा नं ४ को पिपलसैन, राउतेला, वडा नं ५ को किम्नीको ढोड क्षेत्र रहेको छ । वडा नं ६ को गैरा, पन्धारागाउँ, फल्नेतोला–८ को पन्ताली, ढडाली, बाँगापाटा, कालापानी, गिरीवाडा, नेपालीटोल, ९ को ताम्सु, नुवाकोटको बस्ती जिल्लाकै उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै त्रिवेणीपछि दोस्रो जोखिममा रहेको बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् । 

समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिश गरेको छ । जोखिममा रहेका बस्तीको स्थानान्तरण तथा व्यवस्थापनाका लागि शहरी विकास तथा भवन निर्माणका लागि सिफारिश गरिएको समितिका सदस्य कृष्ण अधिकारीले जानकारी दिए । सरोकारवालासँग छलफल गरी बस्ती जोखिममा रहेको पहिचान गरेको अधिकारीले बताए । त्यस्तै अन्य कतिपय गाउँपालिकाको पनि बस्ती जोखिममा रहेको र स्थानान्तरणको लागि सिफारिश गरिएको जनाइएको छ । 

त्यस्तै सबैभन्दा कम जोखिममा रहेको जगन्नाथ गाउँपालिकाका बस्ती रहेका छन् । हिमाली गाउँपालिकामा भने बस्ती जोखिम कम भए पनि स्थानान्तरण गर्नुपर्ने बस्ती भने धेरै रहेको प्रजिअ बरालले बताए  ।