प्युठानको स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा बुधबार जिप दुर्घटनामा मृत्यु भएका सबैको अन्त्येष्टि गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले पाँचैजनाको शव परिवारलाई बुझाएपछि बिहीबार अन्त्येष्टि गरिएको हो ।
प्रशासकीय अधिकृत श्याम न्यौपानेको शव बुधबार नै प्युठानमा पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारीचालक मुसिकोट नगरपालिका–३ का केशव कार्कीको शव बिहीबार परिवारलाई बुझाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । जिप दुर्घटनामा घाइते हुने १२ जनाको काठमाडौंसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण फाँटमा काम गर्ने कर्मचारीको मृत्युका कारण बिहीबार प्रशासन कार्यालयको सबै सेवा बन्द भएको छ । ३ देखि ६ वैशाखसम्म शान्ति सुरक्षा र मुद्दाबाहेकका अन्य सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।