मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार ०८:३९:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार ०८:३९:००

कोरोना संक्रमणको दर बढ्दै जाँदा त्यसले जनमानसमा एकप्रकारको भय उत्पन्न भएको छ । दैनिक चार हजारजति कोरोना परीक्षण गरिएकामध्ये १० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि हुने क्रम बढेपछि यस्तो त्रास फैलिएको हो । साथै नेपालमा पनि डबल म्युटेन्ट प्रकृतिको र पछि देखिएका विभिन्न प्रकारको कोरोना भाइरस फैलिएको बताइएको छ । यस्तो संक्रमण फैलिँदै जाँदा गम्भीर प्रकारका बिरामीको संख्या बढ्ने र त्यसले क्रमशः मृत्यु हुनेको संख्या पनि बढ्दै जाने निश्चित छ । यसबीच दुई महिनाअघिदेखि नियमित रूपमा विद्यालय सञ्चालन हुन थालेको छ, जुन आजका दिनसम्म पूर्ण रूपमा बन्द गर्ने आधिकारिक निर्णय भइसकेको छैन । 

लकडाउनको समयमा सतर्कता अपनाउन सबैलाई प्रेरित गर्नुपर्छ । सतर्कता अपनाए कम जोखिम हुन्छ, नअपनाए परिवार, समाज र देशले ठूलो क्षती व्यहोर्नुपर्ने निश्चित छ ।

पहिलो लहरको तुलनामा १८ वर्षमुनिका बालबालिकामा लक्षणसहितको संक्रमण दर वृद्धि हुनु र युवाहरू पनि सिकिस्त हुने दर बढ्नु यसपटकको मुख्य चिन्ताको विषय हो । विद्यालयहरू संक्रमण विस्तार गर्ने माध्यमका रूपमा रहने जोखिम पनि देखिएको छ । छिमेकी भारतमा कोरोना महामारी गत वर्षको संक्रमणको समयमा भन्दा अहिले उच्च तहमा पुगेको छ । दैनिक दुई लाखका दरले संक्रमित र एक हजारभन्दा बढीको मृत्यु हुन थालेपछि भारतको स्वास्थ्य सेवा अस्तव्यस्त बन्न पुगेको छ । दुवै खेप कोरोना खोप लिइसकेकामा समेत संक्रमण देखिन थालेको छ भने खोपको उपलब्धता पनि सीमित संख्यालाई मात्र पुग्ने अवस्था छ । खुला सिमानाका कारण भारतबाट नेपाल आउजाउ गर्नेबाट संक्रमण फैलिने सम्भावना बढेर नेपालका सीमाक्षेत्रहरू थप जोखिममा धकेलिएका छन् । 

यसरी कोरोनाको संक्रमण फैलिँदै जाँदा पनि सरकार र सर्वसाधारण नागरिक दुवै पक्षबाट यसका बारेमा अपनाउनुपर्ने सतर्कता पर्याप्त मात्रामा नअपनाइएको देखिन्छ । विद्यालयलगायत भिडभाड बढी हुने ठाउँमा अहिले पनि न्यूनतम स्वास्थ्य सतर्कताविनै पढाइलगायत गतिविधि सञ्चालन भइरहेका छन् । हिजो मात्र स्वास्थ्य मन्त्रालयले बढी संक्रमित रहेका र जोखिम मानिएका १४ जिल्लाका विद्यालयमा अध्ययन अध्यापन गर्न नजान र भिडभाडयुक्त स्थलमा नजान अपिल गरेको छ । यसरी अपिल गर्नु अरू व्यवसाय र मनोरञ्जन या खाजा घरमा नजान सम्भव भए पनि विद्यालयको हकमा मन्त्रालयको अपिल प्रभावकारी हुने देखिन्न । अभिभावकहरू आफैँ सतर्क भएको अवस्थामा बाहेक पढाइ भइरहेका विद्यालयमा नजाने अवस्था आउँदैन । 

त्यसैले मन्त्रालयको यो अपिलभन्दा मन्त्रिपरिषद्बाटै निर्णय गराएर विद्यालय केही समय बन्द गराउनु उपयुक्त हुनेछ । यसैगरी सर्वसाधारण नागरिकले पनि मास्क लगाउने र भौतिक दूरी कायम गर्ने विषयमा लापर्बाही गरिरहेसम्म संक्रमण फैलनबाट रोक्न असम्भव हुन्छ । सार्वजनिक यातायातमा भिडभाड गरेर यात्रु ओसार्न प्रतिबन्ध नै लगाउनु आवश्यक देखिन्छ । लकडाउनको समय र त्यसलगत्तैको जत्तिको सतर्कता अपनाउन सबैलाई प्रेरित गर्नुपर्छ र कतिपय ठाउँमा कडाइ गरेर बाध्य पार्नुपर्ने पनि हुन सक्छ । सतर्कता अपनाए कम जोखिम हुन्छ, नअपनाएर परिवार, समाज र देशले ठूलो भार व्यहोर्नुपर्ने निश्चित छ । यो काम सरकारको मात्र होइन, तर सरकारले नै अलि कडाइ गरेर नागरिकको ज्यान जोगाउन भूमिका खेल्दा सकारात्मक हुनेछ ।