१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०७:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चेम्बर र परिसंघले सहकार्य गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०७:४४:००

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मोरले नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरूलाई परिसंघमा स्वागत गर्दै सहकार्यमा जोड दिनुपर्ने बताएका हुन् । 

अध्यक्ष मोरले विगतमा पनि धेरै क्षेत्रहरूमा नेपालका निजी क्षेत्रका संस्थाहरूले सहकार्य गर्दै आएको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन् बढ्दै गएको उल्लेख गरेको जनाइएको छ । उनले कोभिडको पहिलो लहरमा नेपालको निजी क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझाबहरू दिएको उल्लेख गरेका थिए ।

पहिले भएको कोभिडबाट पाठ सिकेर दोस्रो कोभिडको लहरलाई पनि सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनुपर्ने उनको धारणा थियो ।

पहिलेदेखि नै निजी क्षेत्रले लकडाउन गरेर कोभिडबाट मुक्त हुन नसकिने भन्दै आएको र यसबाट बच्नका लागि सुरक्षाका उपाय र सावधानी प्रमुख विकल्पका रूपमा रहेको मोरले बताए । निजी क्षेत्रलाई खोप आयात गर्न दिनुपर्ने धारणा राख्दै उद्योगमा काम गर्ने कामदारहरूका लागि निजी क्षेत्रले सीधै आपूर्तिकर्ताबाट खोप खरिद गरी खोप दिने व्यवस्थाको हुनुपर्ने परिसंघ अध्यक्ष मोरको भनाइ थियो । 

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भाइचारा, मित्रता र सहकार्यको आगामी मार्गमा नेपालका निजी क्षेत्रका संस्थाहरू एउटा सिक्काको दुई पाटा रहेको बताए । सरकारले नेपालको निजी क्षेत्रलाई विगत र वर्तमानमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँदै कोभिडबाट बच्न स्वास्थ्य मापदण्ड तयार गरी विभिन्न जिल्लामा भएका च्याप्टरलाई पनि सक्रिय परिचालन गरिनुपर्ने उनको भनाइ थियो ।

निजी क्षेत्रबाट सरकारलाई जाने सुझाबहरूमा प्रायः एकै प्रकारका सुझाबहरू हुने भएकाले आगामी दिनमा संयुक्त सुझाब प्रस्तुत गर्न निजी क्षेत्र तयार हुनुपर्ने चेम्बर अध्यक्ष मल्लको भनाइ थियो । कतिपय अवस्थामा सरकारले उद्योगी व्यवसायीको मर्कालाई बुझेर मात्र नीति–नियम बनाउनुपर्ने र उद्योग व्यवसायमैत्री नियम बनाउनुपर्ने मल्लको धारणा थियो ।  अध्यक्ष मल्लले राजस्व परामर्श बोर्डमा निजी क्षेत्रको सहभागितालाई जोड दिँदै एकजुट भएर उद्योग व्यवसाय पर्वद्धन गर्न, सुलभ र सरल मूल्यमा सामान उपलब्ध गराउन संयुक्त पहल गर्नुपर्ने बताए ।