१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २ बिहीबार ०९:२१:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

खाजाले  जगाएको आशा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २ बिहीबार ०९:२१:००

समाचार मनाङको हो । मनाङका सबै सामुदायिक विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म पढ्ने विद्यार्थीका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएपछि नियमित रूपमा विद्यालय आउने विद्यार्थीको संख्या बढेको रहेछ । त्यसअघि निजी विद्यालयमा आफ्ना सन्तानलाई पढ्न पठाउने अभिभावकले पनि सामुदायिक विद्यालयमै पढाउन थालेका छन् । बुधबार छापिएको समाचारसँगै एउटा तस्बिर पनि छ, जसमा साना–साना नानीहरू खाजा खाइरहेका छन् । तिनले खाजा–खाना खाँदै गरेको टेबल र प्रयोग गरिरहेका भाँडावर्तन पनि राम्रा र सफा देखिन्छन् । अधिकांश यस्ता समाचार कि त प्राथमिकतामा पर्दैनन् वा त्यहाँसम्मका समाचार मूलधारका मिडियासम्म आइपुग्दैनन् किनभने यस्ता कार्यक्रम नियमित रूपमा हुन्थे भने त्यसलाई समाचारको रूपमा बाहिर ल्याउनुपर्ने आवश्यकता नै हुन्थेन ।

कमसेकम सामुदायिक विद्यालयमा खाजा सेवाको व्यवस्थापन गर्नु सबैका लागि आधारभूत शिक्षा दिने महत्वपूर्ण सर्त बन्न सक्छ । मनाङका विद्यालयले दिएको संकेत पनि यही हो ।

नेपाल सरकारले यस्तो कार्यक्रम केही वर्षयता मात्र लागू गरेको हो । त्यो पनि सबै विद्यालयमा होइन । तर, जहाँ–जहाँ यस्तो कार्यक्रम लागू भएको छ, त्यहाँ विद्यार्थी कक्षामा नियमित आउन थालेका छन् । यसले कक्षाकोठाको पढाइको गुणस्तर वृद्धिमा सहयोग पुर्‍याएको छ । त्यसैले यो समाचार टिप्पणी गर्न र चर्चा गर्न लायकको छ । अर्थात् यसबाट शिक्षानीति बनाउनेले शिक्षा लिन सक्नेछन् र यस्तो कार्यक्रम विस्तार गरेर नेपालमा शिक्षाको गुणस्तर बढाउन मद्दत गर्ने गरी भूमिका खेल्नेछन् भनेर आशा गर्न सकिन्छ । दिवा खाजा कार्यक्रमले विद्यार्थीको दैनिक आवश्यकताअनुरूपको पोषणसँग मात्र सरोकार राख्दैन । यो हाम्रो समाजको अर्थतन्त्र र परिवारको जीवनशैलीसँग पनि जोडिन्छ । 

सहरिया गरिब होऊन् या गाउँका गरिब र श्रम गरी खानुपर्नेहरू तिनले आफ्ना सन्तानलाई तीन पहर भरपेट खुवाउने व्यवस्था गर्न सक्दैनन् । यसमा कसैको गच्छे पुग्दैन, कसैले कामको चटारोबीच यसो गर्न सक्दैनन् । कसैले परिवारको संरचना र चेतनाका कारण पनि गर्दैनन् । यस्तो अवस्थामा घरमा भरपेट खान नपाउने विद्यार्थीले पनि र दिउसोभर खाजा खान नपाएर भोकले ओइलाउनेहरूले पनि पढाइमा राम्रोसँग ध्यान दिन सक्दैनन् । तिनलाई घरबाट पैसा खल्तीमा राखेर आउने र विद्यालय वरपर पाइने खाजा किनेर खान पनि सुविधा हुँदैन । परिवारका सदस्यले टिफिनमा खाजा राखेर विद्यालयसम्म ल्याइदिने या पठाइदिने पनि गर्न सक्दैनन् । भोक लागेपछि पढ्न र शिक्षकले पढाएको बुझ्न पनि कठिन हुन्छ । दिवा खाजासम्बन्धी कार्यक्रमले लाखौँ विद्यार्थीको यो खाँचो पूरा गर्न सक्छ । 

ज्यालादारी श्रमिकका भरपेट खान नपाएका सन्तान यही खाजा खान पाइने भएपछि त्यसैका लागि विद्यालय आउन आकर्षित हुन्छन् । पढाइ छाडेर हातमुख जोड्नका लागि मात्र जोतिनुपर्ने वर्ग र समुदायका लागि सरकारले ल्याएको यो कार्यक्रम सराहनीय छ । त्यसैले कमसेकम सामुदायिक विद्यालयमा खाजा सेवाको व्यवस्थापान गर्नु सबैका लागि आधारभूत शिक्षा दिने महत्वपूर्ण सर्त बन्न सक्छ । मनाङका विद्यालयले दिएको संकेत पनि यही हो ।