Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २ बिहीबार ०९:०२:००
Read Time : > 4 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भ्याक्सिनले मात्रै रोक्न सक्दैन कोभिड संक्रमण 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २ बिहीबार ०९:०२:००

हामीमध्ये धेरैको विश्वास छ कि भ्याक्सिनले कोरोना भाइरस (कोभिड–१९) महामारी पूर्ण रूपमा नियन्त्रणमा लिनेछ । अनि हाम्रो पुरानो जिन्दगी फिर्ता गरिदिनेछ । तर, वैज्ञानिकहरूको भनाइ भने फरक छ । वैज्ञानिकहरूका अनुसार भ्याक्सिनले मात्रै भाइरस संक्रमण नियन्त्रणमा लिन सम्भव हुनेछैन । यसका लागि अरू उपाय पनि आवश्यक छ । कोरोना भाइरस नियन्त्रण गर्न कुनै पनि एक उपाय शतप्रतिशत (१०० प्रतिशत) प्रभावकारी छैनन् ।

ती उपायमध्ये भ्याक्सिन पनि एक हो । यो सत्य कुरालाई सहज तरिकाले बुझाउन एउटा मोडल छ, ‘स्विस चिज रेस्पाइरेटरी पान्डेमिक डिफेन्स मोडल’ । यसलाई नेपालीमा श्वासप्रश्वाससम्बन्धी महामारी रोकथाम स्विस मोडल भनेर बुझ्दा पनि हुन्छ । यो मोडल अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयका भाइरस विज्ञ इयान एम म्याकेले प्रतिपादन गरेका हुन् । उनले चिजको नौ टुक्रा (स्लाइस)मार्फत यसलाई बुझाउने प्रयास गरेका छन् ।

यी नौमध्ये प्रत्येक स्लाइसमा रहेको छिद्रले फरक महत्व बोकेका छन् । नौमध्ये प्रत्येक स्लाइसले कोरोना भाइरसविरुद्ध लड्न हामीले अपनाइरहेको एउटा–एउटा उपायलाई प्रतिनिधित्व गर्छन् । नौमध्ये कुनै पनि स्लाइस पूर्ण छैनन् । यी प्रत्येक स्लाइसमा छिद्र छ । यी प्रत्येक स्लाइसमा रहेको प्रत्येक छिद्र वा दुलोले कोरोनाविरुद्ध हामीले अपनाएका प्रत्येक उपायसँग भएको कमीलाई जनाउनेछ । जसमार्फत भाइरस मानव शरीरभित्र प्रवेश गर्न सक्छ । तर, यी नौमध्ये सबै स्लाइसलाई एकपछि अर्काे गर्दै एकमाथि अर्काे खप्टाएर राख्ने हो भने कुनै न कुनै स्लाइसमा गएर भाइरस रोकिनेछ ।

पहिलो स्लाइस भ्याक्सिन
कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न हामीले प्रयोग गरेको हतियारमध्ये भ्याक्सिन सबैभन्दा बलियो हतियार हो । केही भ्याक्सिन ९० प्रतिशतभन्दा पनि बढी प्रभावकारी देखिएका छन् । यसले धेरै मानिसलाई बिरामी हुन र संक्रमणकै कारण मृत्यु हुनबाट जागाउनेछ । तर, कुनै पनि भ्याक्सिन अहिलेसम्म शतप्रतिशत (१०० प्रतिशत) प्रभावकारी छैन । त्यस कारण भ्याक्सिन लगाइसकेपछि पनि संक्रमण हुन सक्छ । वा हामीले अर्काे व्यक्तिलाई संक्रमित बनाइरहका हुन्छौँ ।

दोस्रो स्लाइस बृहत् तहमा परीक्षण
ठूलो परिणाममा गरिएको परीक्षणबाट को व्यक्ति संक्रमित छ भन्ने कुरा थाहा पाउन सकिन्छ । कुनै व्यक्ति संक्रमित भएको हुन सक्छ । तर, परीक्षणको अभावमा उनीहरूलाई त्यसबारे जानकारी नभइरहेको हुन सक्छ । त्यसैले ठूलो परिणाममा गरिएको परीक्षणबाट कसमा भाइरस संक्रमण छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । तर, ¥यापिड परीक्षणबाट भने यो सम्भव छैन । र्‍यापिड परीक्षणमा कोही संक्रमित व्यक्ति छुट्न सक्छन् ।

तेस्रो स्लाइस छरितो र भरपर्दो कन्ट्याक्ट ट्रेसिङ
कन्ट्याक्ट ट्रेसिङ प्रणालीमार्फत संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरू पत्ता लगाउन मद्दत गर्नेछ । जो व्यक्ति त्यसरी कुनै संक्रमितको सम्पर्कमा पुगेका हुन्छन्, उनीहरूलाई एकान्तवासमा पठाउन सकिन्छ । यसबाट संक्रमण ठूलो मात्रामा फैलन पाउँदैन । तर, कन्ट्याक ट्रेसिङ गर्दा निकै छिटो गर्नुपर्छ र ८० देखि १०० प्रतिशत व्यक्तिमा पुग्नुपर्छ । अनि मात्रै यो उपाय प्रभावकारी देखिनेछ ।

चौथो स्लाइस सेल्फ आइसोलेसन
धेरैजसो देशले संक्रमित भएको शंकास्पद व्यक्ति वा संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई घरमै एकान्तवास बस्न र अरूसँगको सम्पर्कमा नजान सुझाब दिने गर्छन् । केही देशहरूले भ्रमण गरी आएका व्यक्तिहरूलाई क्वारेन्टिन बस्न पनि सुझाएका हुन्छन् । तर, केही व्यक्तिहरू यो नियम पालना गर्दैनन् । वा केही व्यक्ति यो नियम पालना गर्न असमर्थ हुन्छन् । भाइरसबाट आफू बच्न र अरूलाई पनि बचाउन यो उपाय अपनाउन उत्तम हुनेछ । 

पाँचौँ स्लाइस मास्कको अनिवार्य प्रयोग
मास्क प्रयोग गर्नाले पनि धेरै व्यक्तिहरूलाई संक्रमित हुनबाट बचाउनेछ । यदि तपाईंले मास्क प्रयोग गर्नुभएको छ भने संक्रमित व्यक्तिले खोक्दा, हाछ्यँु गर्दा वा बोल्दा थुकको छिटासँगै उछिट्टिएर निस्किएको भाइरस तपाईंको मुखभित्र प्रवेश गर्न पाउँदैन । यसले संक्रमित हुन र त्यसबाट हुने सम्भावित क्षतिबाट बचाउनेछ । फेरि पनि एउटा सत्यता के छ भने गुणस्तरयुक्त भनिएका मास्कहरूबाट पनि भाइरस भित्र प्रवेश गर्न सक्छ । मास्क राम्रोसँग र सबै व्यक्तिले लगाएको छ भनेचाहिँ त्यसले धेरै प्रभाव पार्न सक्नेछ ।

छैटौँ स्लाइस शारीरिक दूरी
दुई मिटर (६ फिट)सम्मको दूरी कायम गर्न सकियो भने संक्रमित व्यक्तिबाट भाइरस संक्रमण हुनबाट रोक्न सकिन्छ । तर, फेरि पनि अरू धेरै तरिकाबाट संक्रमण हुन सक्ने तथ्यलाई बिर्सनु हुन्न ।

सातौँ स्लाइस बाहिरको शारीरिक दूरी
स्वच्छ हावाले संक्रमण फैलने सम्भावनालाई कम गर्छ । सूर्यको किरणमार्फत आउने ‘अल्ट्राभायोलेट रेडिएसन’ले सतहमा देखिएका भाइरसलाई मार्ने गर्छ । फेरि पनि बिर्सन नहुने कुरा के हो भने त्यस्ता ठाउँमा पनि भाइरस सर्ने सम्भावना शून्यमा पुगेको भने हुँदैन ।

आठौँ स्लाइस खुला झ्याल
हावा आवत–जावत गर्ने माध्यम कमजोर भएको वा झ्यालहरूको राम्रो व्यवस्था नभएको कोठाबाट भाइरस संक्रमण हुने सम्भावना बढी हुने गर्छ । हावा आउने–जाने भेन्टिलेटरको व्यवस्था जति राम्रो भयो भाइरस संक्रमण हुने सम्भावना त्यति नै कम हुने गर्छ । फेरि पनि भाइरस सर्ने सम्भावना शून्यमैचाहिँ हुन्न । 

नवौँ स्लाइस हात धुने र अरू सरसफाइ
हात धुने र आफूवरपरको क्षेत्रलाई सफा राख्नाले संक्रमणको सम्भावना साँच्चिकै कम हुन्छ । फेरि पनि हावामार्फत हुने संक्रमणको सम्भावना भने उत्तिकै रहनेछ । 

                                                     ०००

कुनै पनि स्लाइस वा उपाय शतप्रतिशत सुरक्षित छैनन् । तर, हामीले यी सबै उपायलाई राम्रोसँग एकसाथ प्रयोग गर्न सक्यौँ भनेचाहिँ हामीले आफूलाई मात्रै होइन, साथीभाइ र परिवारका अन्य सदस्यलाई पनि बचाउन सक्नेछौँ । त्यसका लागि बिर्सनै नहुने तथ्य के हो भने हामीले कोरोना भाइरसबाट बच्न सम्भव र उपलब्ध रहेका सबै उपाय अपनाउन आवश्यक छ ।

जोनसोन एन्ड जोनसोनको भ्याक्सिनमा रोक

कोभिड–१९ विरुद्धको भ्याक्सिन जोनसोेन एन्ड जोनसोनले सिभियर साइड इफेक्ट देखिएपछि रोक लागेको छ । जोनसोनको भ्याक्सिन लगाएका ६ जना अमेरिकी महिलामा सिभियर ब्लड क्लटिङको समस्या देखिएपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र र एफडिएले खोप प्रयोग तत्कालका लागि रोक लगाएको हो ।
खोप लगाएसँगै रगतमा समस्या देखिएकी ४६ वर्षीया महिलाको निधन भएको थियो भने अर्को एक महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको रिपोर्ट सार्वजनिक भएको छ । हालसम्म अमेरिकामा ८.६ मिलियन डोज खोप प्रयोगमा आइसकेको छ । 

खोपले साइड इफेक्ट देखाएका महिलाहरू १८ देखि ४८ वर्ष उमेरका रहेको सिडिसीले जनाएको छ । खोप लगाएको ६ देखि १३ दिनको अन्तरालमा रगतमा समस्या देखिएको छ । एफडिएले जोनसोनको साइड इफेक्टमाथि अनुसन्धान गरिने जनाएको छ । साइड इफेक्टका केसहरू गम्भीर देखिन थालेपछि यसबारे पूर्ण अध्ययन नगर्दासम्म ‘भ्याक्सिनेसन’ रोकिने जनाइएको छ । एफडिएका अनुसार, जोनसोन खोपको साइड इफेक्टबारे पुनः अध्ययन गरिनेछ । साथै खोपपछि गम्भीर रूपमा देखिएको ब्लड क्लटिङको समाधानबारे पनि अनुसन्धान थालिनेछ । 

जोनसोन एन्ड जोनसोन कम्पनीले पनि मंगलबार राति विज्ञप्ति जारी गर्दै युरोपमा समेत भ्याक्सिनेसन रोक्ने जनाएको छ । खोपमा लगातार ट्रायल र अध्ययन भइरहे पनि महिलामा ब्लड क्लटिङको समस्या देखिनु दुर्लभ भएको कम्पनीले बताएको छ । 

विज्ञप्तिमा कम्पनीले साइड इफेक्टबारे गहिरो अध्ययन भइरहेको र आगामी भ्याक्सिनेसनका लागि चिकित्साविज्ञ र स्वास्थ्य अधिकारीहरूसँग मिलेर काम अघि बढाएको जनाएको छ । उत्पादन कम्पनीले खोप प्राप्त गरेको तीन साताभित्र टाउको दुख्ने, पेट दुख्ने, खुट्टाका मांसपेशीमा समस्या देखिने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिनसमेत अनुरोध गरेको छ । 

तर, लाखौँ व्यक्तिमा खोप लगाउँदा एक–दुईजनामा मात्र स्वास्थ्य समस्या देखिएकाले यसको साइड इफेक्ट निकै दुर्लभ भएको विज्ञहरूको भनाइ छ । इमोरी स्कुल अफ मेडिसिन युनिभर्सिटीका कार्यकारी प्रमुख डा. कार्लोस डेल रियाले हजारौँमा एक–दुईवटा केसहरू मात्र देखिनु सामान्य भएको बताए । तर, सिडिसीले समयमै यसबारे एक्सन लिएकोमा धन्यवादसमेत दिए ।