मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०८:५८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मार्चमा इतिहासकै धेरै आन्तरिक हवाई यात्रु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०८:५८:००

नेपालको आन्तरिक उडानमा कोरोनाको असर सकिएको छ । मार्च महिनामा इतिहासकै धेरै हवाई यात्रुले विभिन्न एयरलाइन्समार्फत आन्तरिक उडान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार सन् २०२१ को मार्चमा आन्तरिक हवाई यात्रुको संख्या ३ लाख ४६ हजार ४ सय ७१ पुगेको छ ।

 सन् २०१९ को मार्चमा २ लाख ६४ हजार ५ सय ४५ यात्रुले सेवा लिएका थिए । सन् २०२० मा पूरै लकडाउन हुँदा ठप्प थियो । यसले २०१९ को तुलनामा २०२१ को मार्चमा झन्डै १ लाखभन्दा बढी यात्रुले सेवा लिएका छन् । २०२१ मार्चमा ७ हजार ८ सय ६४ वटा उडान तथा अवतरण भएको छ । तर, सन् २०१९ मा उडान संख्या अहिलेको भन्दा बढी थियो । सन् २०१९ मा कुल ८ हजार २ सय ७१ थियो । 

एयरलाइन्समा यात्रु बढे पनि आम्दानी भने बढ्न नसकेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । ‘अहिले खर्च कटौती गर्ने र जतिसक्दो धेरै यात्रु उडान गर्ने हो, यसबाटै एयरलाइन्सहरू टिक्न सक्छन्,’ बस्नेतले भने । आन्तरिक हवाई यात्रु बढ्नुको प्रमुख कारण सहज र सस्तोदरको हवाई टिकट रहेको उनको बुझाइ छ । सन् २०२१ को मार्चमा काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या १ लाख ७३ हजार ५ सय ५९ रहेको छ भने बाहिरबाट काठमाडौं आउनेको संख्या १ लाख ७२ हजार ८ सय ७९ रहेको छ । 

आन्तरिक हवाई उडानमा सबैभन्दा बढी यात्रु भने बुद्ध एयरले बोकेको छ । बुद्ध एयरले ३ हजार २ सय २१ उडानमार्फत १ लाख ८५ हजार १ सय ५५ यात्रुलाई हवाई सेवा दिएको छ । यती एयरलाइन्सले १ हजार ७ सय ४४ वटा उडान तथा अवतरणमार्फत ८७ हजार ९ सय ७० यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ । यसैगरी श्रीले ५४ हजार २ सय ४९, सौर्यले ८ हजार ५ सय २६ र नेपाल वायुसेवा निगमले २ हजार १ सय ९८ यात्रुलाई सेवा दिएको छ । 

अन्तर्राष्ट्रिय यात्रु सवा लाख पुगे 

कोभिडपछि अन्तर्राष्ट्रिय उडानमा हुने यात्रुको संख्यामा पनि वृद्धि हुन थालेको छ । अन्तर्राष्ट्रियतर्फ मार्च महिनामा कोरोना कहरकै बीच एक लाख २२ हजार ७ सय ४ जनाले हवाई यात्रा गरेका छन् । मार्च महिनामा मात्रै एक हजार पाँचवटा उडान तथा अवतरण भएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपालबाट बाहिरिने यात्रुको संख्या ५५ हजार २ सय ३१ रहेको छ । भने नेपाल भित्रिनेको संख्या ६७ हजार ४७३ रहेको छ ।

सबैभन्दा बढी नेपाल वायुसेवा निगमले यात्रु बोकेको छ । निगमले १९८ वटा उडान तथा अवतरणमार्फत २७ हजार ४५० यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ । अहिले यात्रुतर्फ सुधार हुँदै गएको छ, अझ दिल्ली उडानमा यात्रु खचाखच रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडलले जानकारी दिए । दोस्रोमा कतार एयरवेजले २५ हजार ५ सय ५१ र तेस्रोमा हिमालय एयरलाइन्सले २० हजार ७ सय ८७ यात्रुलाई सेवा दिएका छन् ।