मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०८:१३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनास्लु आरोहण गरेको प्रमाणपत्र लिने चिनियाँ नागरिक अनुसन्धानको घेरामा

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०८:१३:००

पर्यटन मन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिति गठन

मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको भन्दै पर्यटन विभागबाट जारी दुई चिनियाँ नागरिक गाओ ली र जियाङ्घुई लीको प्रमाणपत्र शंकास्पद देखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रमाणित ‘माउन्टेनेरिङ इन नेपालः फ्याक्टस् एन्ड फिगर ०१९’ नामक पुस्तक र पर्यटन विभागबाट जारी हिमशिखर आरोहण अनुमतिपत्रमा गाओ र जियाङ्घुईको नाम नमिलेपछि दुवैको प्रमाणपत्र शंकापस्द देखिएको हो ।

रुद्रसिंह तामाङ महानिर्देशक, पर्यटन विभाग

चिनियाँ नागरिकका नाममा जारी केही प्रमाणपत्र शंकास्पद भएको सूचना प्राप्त भएको छ । मनास्लु हिमाल चढेको भन्दै विभागबाट प्रमाणपत्र जारी भएको सूचना हामीकहाँ आएको छ । सोही आधारमा तालुकदार मन्त्रालयले गहन रूपमा अध्ययन गरिरहेको छ ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले मनास्लु हिमाल चढेको भन्दै विभागबाट जारी केही प्रमाणपत्रमाथि अनुसन्धान सुरु भएको जानकारी दिए । ‘चिनियाँ नागरिकका नाममा जारी केही प्रमाणपत्र शंकास्पद भएको सूचना प्राप्त भएको छ । मनास्लु हिमाल चढेको भन्दै विभागबाट प्रमाणपत्र जारी भएको सूचना हामीकहाँ आएको छ । सोही आधारमा तालुकदार मन्त्रालयले गहन रूपमा अध्ययन गरिरहेको छ,’ उनले भने ।

विभागले आरोहणको अनुमति दिएपछि प्रत्येक सफल पवर्तारोहीको नामावली मन्त्रालयले अभिलेखीकरण गर्छ । सोही अभिलेखका आधारमा मन्त्रालयले प्रत्येक वर्ष ‘माउन्टेनेरिङ इन नेपाल : फ्याक्टस् एन्ड फिगर’ नाम पुस्तक प्रकाशन गर्ने गर्छ । विभागबाट जारी अनुमतिपत्रमा उल्लेख भएको नाम र पुस्तकमा उल्लेख भएको नाम मिल्नुपर्छ । तर, गाओ र जियाङ्घुईको नाममा जारी प्रमाणपत्रको नाम एक–आपसमा मिल्दैन ।

गृह मन्त्रालयबाट उपलब्ध कागजातअनुसार १४ असोज ०७३ मा सफलतापूर्वक मनास्लु हिमाल आरोहण गरेको भन्दै ४४ वर्षीय जियाङ्घुईको नाममा २१ मंसिर ०७३ मा प्रमाणपत्र जारी भएको देखिन्छ । मनास्लु आरोहणका लागि विभागबाट जारी अनुमतिपत्रमा पनि उनको नाम उल्लेख छ । तर, मन्त्रालयको अभिलेखमा उनको नाम समावेश छैन । सोही कारण आधिकारिकता दिन मन्त्रालयबाट प्रकाशित ‘माउन्टेनेरिङ इन नेपाल : फ्याक्टस् एन्ड फिगर ०१९’ नामक पुस्तकमा उनको नाम समावेश छैन । 

त्यस्तै, गाओले १४ असोज ०७३ मै मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको भन्दै सोही मितिमा प्रमाणपत्र जारी भएको छ । तर, उनको नाममा विभागले उक्त मितिमा मनास्लु आरोहणका लागि अनुमति नै दिएको देखिँदैन । ‘दुई चिनियाँ नागरिकको नाममा विभागबाट प्रमाणपत्र जारी भएको देखिन्छ । प्रमाणपत्रमा शाखा अधिकृत र निर्देशकको हस्ताक्षरसमेत देखिन्छ । नेपाली कागजमा जारी प्रमाणपत्र सक्कलीझैँ देखिन्छ । तर, प्रमाणपत्रमा उल्लेख भएको नामावली मन्त्रालय र विभागको अभिलेखमा फरक–फरक हुनु खोजीको विषय हो,’ गृह स्रोतले भन्यो ।

शंकास्पद प्रमाणपत्रधारी गाओ हाल नेपालमा छन् । उनले अहिले भने मनास्लु आरोहणका लागि विभागबाट अनुमति लिएका छन् । २३ मार्चमा लिएको अनुमतिअनुसार ७५ दिनभित्र उनले मनास्लु आरोहण गरिसक्नुपर्छ । 

पर्यटन विभागबाट जारी प्रमाणपत्र शंकास्पद देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपसचिव राजन नेपालको संयोजकत्वमा गत ६ चैतमा छानबिन समिति गठन गरेको थियो । समिति सदस्यमा मन्त्रालयका शाखा अधिकृत टीकाराम निरौला र प्रकाश दुलाल छन् । ‘प्रमाणपत्र शंकास्पद देखिएका छन् । उजुरी संकलनपछि छानबिनका लागि समिति गठन भएको छ,’ संयोजक नेपालले भने । 

भारतीय कान्छा आरोही राघवलाई अनधिकृत अनुमति 

भारतीय कान्छा आरोही राघव जोनेजाले २१ मे ०१३ मा सगरमाथा आरोहण गरेर चर्चित बने । तर, उनलाई पर्यटन विभागले अनधिकृत रूपमा सगरमाथा आरोहणको अनुमति दिएको खुलेको छ । पर्वतारोहणसम्बन्धी नियमावली ०५९ को धारा ३ अनुसार सगरमाथा आरोहण गर्ने व्यक्ति अनिवार्य रूपमा १६ वर्ष पूरा गरेको हुनुपर्छ । पर्यटन विभागमा पेस भएको कागजातअनुसार उनको जन्ममिति २१ अक्टोबर १९९७ उल्लेख छ । उनले सगरमाथाको सफल आरोहण २१ मे ०१३ मा गरेको थिए । यस आधारमा सगरमाथा आरोहण गर्दा उनको उमेर १५ वर्ष सात महिना नै भएको देखिन्छ । 

पर्वतारोहणसम्बन्धी नियमावली ०५९ को धारा ३ मा पर्वतारोहीले सलामी रकमको थप पाँच प्रतिशत रकम भुक्तान गरे सगरमाथा आरोहणको अनुमति दिन सकिने भनिएको छ । तर, त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने व्यवस्था छ । राघवको हकमा न सलामी रकम भुक्तानी भएको छ, न मन्त्रिपरिषद्बाटै निर्णय गराइएको छ । पर्यटन मन्त्रालयका अनुसार मन्त्रालयबाट गठित नेपाल संयोजकत्वको समितिले राघवको सम्बन्धमा पनि अनुसन्धान गर्नेछ । ‘भारतीय कान्छा आरोहीको सम्बन्धमा पनि उजुरी परेका छन् । यस सम्बन्धमा पनि छानबिन हुनेछ । सबै कागजात गम्भीरताका साथ अध्ययन हुँदै छ,’ संयोजक नेपालले भने ।