मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १ बुधबार १२:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

७७ सालमा सरकारले उल्लेख्य प्रगति हासिल गर्‍यो : प्रधानमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १ बुधबार १२:०३:००

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ सालमा सरकारले उल्लेख्य प्रगति हासिल गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्ष ०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले अनेकन असहज परिस्थितिका बाजबुत ०७७ साल सफल वर्षको रूपमा रहेको बताएका हुन् । कोभिड– १९ को महामारीले विश्वनै आक्रान्त भएको वेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भए पनि ०७७ सालमा ठूला दीर्घकालीन महत्वका काम भएको दाबी गरे ।

उनले प्रतिकूलताका बीच ०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष रहेको  बताए । कोभिड– १९ महामारीसँगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरे पनि गत वर्ष उपलब्धिको वर्ष रहेको उनले बताए । दशकौँपछिको सफलता प्राप्त गर्दै मेलम्चीको पानी काठमाडाैं आइपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनर्निर्माणका कामहरूले पूर्णता पाउने क्रम तीव्र गतिमा बढेको तथा नयाँ–नयाँ असाधारण र दूरगामी महत्वका कामहरू बढेको पनि उनले उल्लेख गरे । 

उनले आफ्नो भूभागसमेत सामेल गरेर नयाँ नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गरे । सरकारले सातै प्रदेशमा ठूला–ठूला नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकूल वातावरण बनेको उनले उल्लेख गरे । 

कोभिड– १९ महामारीको प्रतिकूल अवस्थामा पनि अनलाइन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी पनि उनले गरे । कोभिड– १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै उनले त्यसबाट अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा असर पुर्‍याए पनि  सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिँदै आएको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरू भइरहेको बताए । सरकारले गरेका कामहरू नदेख्ने समूहले निरन्तर जनता भड्काउने प्रयास भइरहे पनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरू लगातार भइरहेको दाबी उनले गरे ।

उनले  प्रतिदिन साढे पाँच किलोमिटर बाटो बन्ने गरेको, प्रति १२ वटा आवासगृह निर्माण भइरहेको, पूर्वदेखि पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदनभण्डारी राजमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भइरहेको फेहरिस्त प्रस्तुत गरे । 

महिनाको एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता भत्ता दिनको एक सयमा पुगेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिए । पाँच लाखको संख्यामा सामाजिक सुरक्षा भत्ता लिनेहरूको संख्या थपिएका,  ०७५ मंसिर ११ गतेबाट नै मजदुरका लागि योगदानमा आधारिक सामाजिक सुरक्षा भत्ता सुरु गरेको तथा भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण भई ११ दिनपछि उद्घाटन गर्ने पनि उनले उल्लेख गरे ।