मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी वासिङ्टन
२०७८ बैशाख १ बुधबार १०:५०:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्रम्प फेरि जुर्मुराए : सिनेट निर्वाचनमा रिपब्लिकनलाई बहुमत दिलाउने दाबी

Read Time : > 2 मिनेट
एजेन्सी वासिङ्टन
२०७८ बैशाख १ बुधबार १०:५०:००

४६औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएपछि डोनाल्ड ट्रम्प मौन नै रहे । पूर्वराष्ट्रपति ट्रम्पले निर्वाचनमा डेमोक्रेटिक पार्टीले व्यापक धाँधली गरेको र आफूलाई परिणाम स्वीकार्य नभएको मात्र प्रतिक्रिया दिइरहे । निर्वाचन सकिएको लगभग पाँच महिनासम्म चुपचाप बसेका ट्रम्प पुनः एकपटक चर्चामा आएका छन् ।

ट्रम्पले २०२२ मा हुने सिनेट निर्वाचनमा रिपब्लिकनलाई जित दिलाउने विश्वास मात्र दिलाएनन्, पार्टीले स्पष्ट बहुमतसमेत प्राप्त गर्ने दाबी गरेका छन् । शनिबार दाताहरूसँगको डिनर (रात्रिभोज) कार्यक्रममा ट्रम्पले भने, ‘सन् २०२२ मा सिनेटको निर्वाचन हुँदै छ, यसमा म रिपब्लिकनलाई बहुमत नै दिलाउनेछु ।’ सिनेटमा रिपब्लिकन पार्टीको बहुमत हुँदा डेमोक्रेटिकले सत्तामा चलखेल र दबदबा गर्न नपाउने उनको भनाइ छ । 

‘सिनेटमा हाम्रो कब्जा हुनेछ, त्यसपछि सत्तासीनले केही पनि गर्न सक्दैन,’ ट्रम्प भन्छन्, ‘यति वेला म रिपब्लिकन पार्टीलाई एक बनाउने कोसिसमा छु ।’ सिनेट निर्वाचनले रिपब्लिकनको भविष्य निर्धारण हुने उनले जनाए । ‘हामी सबै अमेरिकामा रिपब्लिकन झन्डा फहराउन लाग्नुपर्छ, यसैमा हाम्रो भविष्य जोडिएको छ ।’ 

ट्रम्पले आफ्नो ध्यान दुई वर्षपछि हुने सिनेट निर्वाचनमा भएको बताए पनि २०२४ को राष्ट्रपतिको उम्मेदवारसम्बन्धी केही बोलेनन् । तर, ट्रम्पले घुमाउरो रूपले आफूहरूमध्ये एक ह्वाइटहाउसको सिटमा हुने बताए । ‘तीन वर्षपछि हुने राष्ट्रपति निर्वाचनबारे सोचेकै छैन, यतिवेला म यति मात्र भन्न सक्छु, ह्वाइटहाउसमा हामीमध्ये एकजना अवश्य पुग्नेछौँ,’ सिनेटसँगै ४७औँ राष्ट्रपतीय निर्वाचनको खाका बिस्तारै खुलाउँदै पूर्वराष्ट्रपति ट्रम्पले भने, ‘प्रतीक्षा गर्नुस्, दिन हाम्रै हुनेछ ।’ 

यसैबीच, ट्रम्पले दाताहरूलाई पुनः एकपटक २०२२ को सिनेटर निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । सीमित व्यक्तिबीच सम्पन्न डिनरमा पूर्वउपराष्ट्रपति माइक पेन्स तथा सिनेटका अल्पसंख्यक नेता मिच म्याककोनेल सहभागी थिए । फ्लोरिडामा भएको डिनर पार्टीमा ट्रम्पले नोभेम्बरमा भएको निर्वाचनमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिएका छन् ।

ट्रम्पले ह्वाइटहाउसबाट बाहिरिनुपर्दा दुःख लागेको बताएका छन् । आफ्ना दाताहरूलाई आश्वस्त पार्दै ट्रम्पले ३ नोभेम्बरमा भएको निर्वाचन कसैले पनि आत्मसात् नगरेको जनाएका छन् । क्यापिटल हाउसमा भएको दंगामा आफ्नो कुनै हात नरहेको उनले पुनः दाबी गरेका छन् । 

६ जनवरीमा क्यापिटल हाउसमा निर्वाचनको आधिकारिक परिणाम सुनाउने कार्यक्रम थियो । ट्रम्पका समर्थकले हाउसभित्र छिर्दै उपद्रो मच्चाएका थिए । जसमा एक सुरक्षाकर्मीसहित ६ व्यक्तिको निधन भएको थियो । जनवरीमा डेमोक्रेटिकले ट्रम्पमाथि महाअभियोगको प्रस्ताव राखेको थियो । उनीमाथिको महाअभियोग पारित भएन । जसका कारण ट्रम्प अभियोगबाट मुक्त भएका थिए । ट्रम्पले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफूले पुनरावलोकन नगर्ने र केवल आसन्न सिनेटको निर्वाचनमै ध्यान केन्द्रित रहेको स्पष्ट पारेका छन् । 

यो रात्रिकालीन भोज आयोजना गर्नुअघि नै म एउटा स्पष्ट निर्णयमा पुगिसकेको थिएँ, मलाई विश्वास छ, ०२२ को सिनेट निर्वाचनमा हाम्रो नै जित हुनेछ र रिपब्लिकन फेरि ह्वाइटहाउसमा फर्कनेछ : ट्रम्प

‘निर्वाचनमा हामी किन असफल भयौँ, त्यसबारे अहिले चर्चा गर्नु आवश्यक देख्दिनँ, यो वेला २०२२ को सिनेट निर्वाचनमै लाग्नुपर्छ,’ उनले भने । सो डिनर कार्यक्रममा ट्रम्पले पहिलाजस्तै खुलेर कुराकानी गरेको एजेन्सीहरूले जनाएका छन् । अधिकांश समयमा ट्रम्पले २०२२ र २०२४ कै निर्वाचनसम्बन्धी आफ्नो योजना सुनाए ।

उनी भन्छन्, ‘यो रात्रिकालीन भोज आयोजना गर्नुअघि नै म एउटा स्पष्ट निर्णयमा पुगिसकेको थिएँ, मलाई विश्वास छ, २०२२ को सिनेट निर्वाचनमा हाम्रो नै जित हुनेछ र रिपब्लिकन फेरि ह्वाइटहाउसमा फर्कनेछ ।’ सिनेटपछि राष्ट्रपतीय निर्वाचन पनि रिपब्लिकनकै कब्जामा आउने उनले घमण्डका साथ बोलेका छन् ।

ट्रम्प भन्छन्, ‘पहिलो २०२२ त्यसपछि २०२४ मा हाम्रा सिनेटर ह्वाइटहाउसमा प्रवेश गर्नेछन् ।’ ट्रम्पले आफ्ना निजी सचिव माइक पोम्पेए तथा फ्लोरिडाका गभर्नर रोन डेसान्टेसलाई उठाउनेछन् । ट्रम्पले डिनर कार्यक्रममा वर्तमान राष्ट्रपति जो बाइडेनविरुद्ध तिखो टिप्पणी गरेका छन् ।

रिपलिब्कन पार्टीले दुई वर्षभित्र मध्यम तथा मजदुर वर्गको हितमै काम गर्ने उनले बताए । ‘हामीसँग मध्यम वर्गीय समूह रहँदा ह्वाइटहाउसमा बसेका बाइडेनले हार स्वीकार गर्नुपर्छ,’ बाइडेनविरुद्ध खनिँदै उनले भने, ‘२०२२ को विजयपछि हाम्रा च्याम्पियनले ह्वाइटहाउसमा झन्डा गाड्नेछन्, त्यसवेला डेमोक्रेटिक मुख छोपेर बाहिरिनेछ ।’