१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ फाल्गुण ४ शनिबार ०९:१७:००
Read Time : > 3 मिनेट
अर्थ

हवाई उडानमा वन्यजन्तुको जोखिम

Read Time : > 3 मिनेट
२०७५ फाल्गुण ४ शनिबार ०९:१७:००

हवाई उडान जति द्रुत र अत्याधुनिक छ, यसमा जोखिम पनि उत्तिकै छ । जहाजको अवस्था ठीक भएर मात्र पनि हुँदैन, उडान सफल बनाउन धेरै पक्षमा निर्भर हुने गर्छ । प्रायः विमानस्थल सहरभन्दा केही पर र खुला स्थानमा हुने गरेकाले हवाई उडानमा वन्यजन्तुको जोखिम पनि उत्तिकै रहन्छ । चरा वा जीवजन्तुका कारण विश्वमा ठूला–ठूला दुर्घटना भएका छन् । नेपालले पनि त्यस्तो दुर्घटनाको अनुभव गरिसकेको छ । नेपालमा वन्यजन्तुको जोखिम प्रतिवेदन (वाइल्डलाइफ हाजार्ड रिपोर्ट २०१७) का अनुसार पनि हाम्रा विमानस्थलहरूमा वन्यजन्तु तथा चराको उच्च जोखिमको सम्भावना रहेको छ । त्यसो त समयमै ध्यान दिन सकेमा जोखिम न्यूनीकरणको सम्भावना पनि छ । नेपालका वन्यजन्तुबाट जोखिमयुक्त विमानस्थल, न्यूनीकरणका उपाय र भएका दुर्घटनाबारे जीवन बस्नेतले तयार गरेको रिपोर्ट:

 चार विमानस्थल वन्यजन्तुको क्रियाकलापबाट जोखिमयुक्त
‘वाइल्डलाइफ हाजार्ड रिपोर्ट २०१७’ले नेपालका चारवटा विमानस्थललाई वन्यजन्तुको क्रियाकलापको दृष्टिकोणबाट जोखिमयुक्त मानेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार गरेको प्रतिवेदनअनुसार नेपालगन्ज विमानस्थल, गौतम बुद्ध विमानस्थल (भैरहवा), विराटनगर विमानस्थल र पोखरा विमानस्थल वन्यजन्तु र चराको उच्च जोखिममा रहेका छन् । ती विमानस्थल क्षेत्र विभिन्न प्रजातिका चरा तथा जीवजन्तुको वासस्थानका लागि उत्तम रहेको छ । जसका कारण उनीहरूको संख्यामा चाँडै वृद्धि हुन पुगेको छ र जोखिम बढाइरहेका छन् । 
 
 जोखिममुक्त छैन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि वन्य जीवजन्तु तथा चराको जोखिमबाट मुक्त छैन । विमानस्थलसँगै जोडिएको पशुपतिनाथ मन्दिरपरिसरको वनकाली क्षेत्र बाँदरको वासस्थान रहेको क्षेत्र हो । त्यसैले ती बाँदरहरू सजिलै विमानस्थल क्षेत्रमा पस्न सक्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चराबाट पनि उत्तिकै जोखिमयुक्त रहेको छ । सन् २०११ देखि २०१५ सम्म गरिएको एक अध्ययनअनुसार रातको समयमा भन्दा दिनको समयमा जहाजमा चरा ठोक्किने गरेका छन् । बिहानको समयमा चरा ठोक्किने घटना भने धेरै न्यून रहेको पाइएको छ । त्यस्तै जहाज उड्ने वेला (टेक अफ)मा भन्दा ल्यान्डिङको समयमा बढी ठोक्किने गरेका छन् । सन् २०११ देखि २०१५ सम्ममा ७४ पटक जहाजमा चरा ठोक्किएका थिए । 

 जोखिम न्यूनीकरणका लागि अपनाइएका उपाय
नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार वन्यजन्तु तथा चराको जोखिमबाट बचाउन विभिन्न उपाय अपनाइएको छ । जसमा चर्को आवाज निकाल्ने उपकरणको प्रयोग सबैभन्दा बढी गरिएको छ । त्यस्तै एक प्रकारको एलपी ग्यासको प्रयोग गरेर पनि चरा हटाउने गरिएको छ । बुख्याचाको प्रयोग अर्को उपायका रूपमा अपनाइएको छ । त्यस्तै, विभिन्न प्रकारका लाइट र न्यून विद्युतीय बारको समेत प्रयोग गरिएको छ । यी उपायहरू काठमाडौंबारिहका सबै विमानस्थलमा भने अपनाइएको छैन ।

 नेपालगन्ज विमानस्थल 
यो विमानस्थल कृषि उत्पादनका लागि उर्वर जमिन, वन र बस्तीले घेरिएको छ । अध्ययनले उक्त विमानस्थल चराका ३६ प्रजाति र २ प्रजातिका स्तनधारी (म्यामल)बाट जोखिमयुक्त मानेको छ । चराबाहेक बँदेल र गोल्डेन ज्याकलबाट पनि हवाई सुरक्षाका दृष्टिकोणबाट निकै जोखिमयुक्त मानिएको छ । त्यस्तै वेला–वेलामा विमानस्थललाई भुस्याहा कुकुर र घरपालुवा जनावरका कारण पनि जोखिममुक्त मानिएको छ ।
 
गौतम बुद्ध विमानस्थल
रुपन्देहीको भैरहवास्थित यस विमानस्थलवरिपरिको क्षेत्रमा कृषियोग्य जमिन र विविध घाँसे संरचना छन् । यस विमानस्थलमा २८ प्रजातिका चरा र ६ प्रजातिका स्तनधारी प्रजाति भेटिएको छ । यस क्षेत्रमा नीलगाई, फेरल डक्स्, वन बिरालो, घर बिरालो, स्याल र बँदेल पनि छन् । यी जंगली जीव–जनावरको वासस्थान विमानस्थलनजिकैका घाँसे झाडीमा रहेको पाइन्छ । तीमध्ये पनि नीलगाई, स्याल र बँदेल सबैभन्दा ठूला जोखिमका रूपमा रहेका छन् ।

 विराटनगर विमानस्थल 
विराटनगर विमानस्थल पनि जंगली जीवजन्तुको जोखिमबाट मुक्त छैन । यो विमानस्थलमा ३७ चरा प्रजाति र ७ प्रकारका स्तनधारी जनावर पाइएको छ । बार्किङ डियर, गोल्डेन ज्याकल, ठूलो मृग, घरपालुवा कुकुर र चमेरोलगायतका जीवजन्तु विमानस्थलभित्र पाइएका छन् । विमानस्थलवरपर सहरीकरण भएको छ भने फोहोर फाल्ने व्यवस्थित स्थान नहुँदा खुला स्थानमै छाड्ने गरिएको छ । यो विमानस्थल गोल्डेन ज्याकल र बार्किङ डियरबाट बढी जोखिमयुक्त मानिएको छ । 

पोखरा विमानस्थल 
पोखरा उपत्यकामा विभिन्न तालतलैया छन् । र, यी तालतलैयाहरू विमानस्थलबाट धेरै टाढा पनि छैनन् । त्यसैले पोखरा विमानस्थलमा चरा तथा जंगली जीवजन्तुको क्रियाकलाप बढ्दो क्रममा रहेको छ । विमानस्थलवरिपरि पनि स–साना घाँसे झाडी तथा बस्ती रहेका छन् । पोखरा विमानस्थलमा २४ चरा प्रजाति र २ प्रकारका स्तनधारी जीव पाइएको छ । विमानस्थलभित्र ठूलो मृग र गोल्डेन ज्याकल पाइएका छन् । बढ्दो सहरीकरणसँगै बढेको फोहोरको उचित व्यवस्थापन नहुने हो भने जोखिम पनि वृद्धि हुँदै जाने अध्ययनले देखाएको छ ।

नेपालमा चरा ठोक्किएर भएका हवाई दुर्घटना
नेपालमा हवाई उडान थालनीका दिनमा जहाजमा चरा ठोक्किने समस्या हुने नै थिएन । त्यसकारण यो चासोको विषय पनि बनेन । सन् १९९६ मा पहिलोपटक चरासँग ठोक्किएर विमान दुर्घटना भयो । थाई एयरवेज ए–३०० एयरबसमा ठोक्किएका ६ वटा चिल रन वेमा मृत भेटिए । चरा ठोक्किँदा जहाजको इन्जिनको फ्यान ब्लेड्समा क्षति भएको थियो । चिल ठोक्किएका कारण जहाज ४ दिनसम्म काठमाडौंमै ग्राउन्डेड भयो ।

नेपाल वायुसेवाको बोइङ ७५७ सन् २००० र जेट एयरलाइन्सको बोइङ ७३७ जहाज सन् २०१४ मा चरासँग ठोक्किएका थिए । यी दुवै जहाजको एक–एक वटा इन्जिन कामै नलाग्ने गरी क्षतिग्रस्त भए । २८ सेप्टेम्बर २०१२ मा चरासँग ठोक्किएर डोर्नियर २२८ विमान दुर्घटनामा प¥यो । लुक्लाका लागि उडेको यो जहाज ब्ल्याक काइट (चिल वर्गको एक प्रजाति)सँग ठोक्किएको थियो । दुर्घटनामा उक्त विमानमा रहेका सबै १७ जना यात्रु र चालक दलका ३ सदस्यसहित २० जनाको मृत्यु भयो ।

मानवीय क्षतिका हिसाबले यो नै नेपालमा चरासँग ठोक्किएर भएको अहिलेसम्मको ठूलो विमान दुर्घटना हो । पछिल्लो समयमा उडानको संख्यासँगै वन्यजन्तु तथा चरा विमानमा ठोक्किने घटनाको संख्यामा पनि वृद्धि हुँदै गएको छ । वन्यजन्तु तथा चराकै कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा अवरोध पनि आउने गरेका छन् ।

वन्यजन्तुको जोखिम न्यूनीकरण गरिएको छ : वीरेन्द्रप्रसाद श्रेष्ठ
प्रवक्ता, नेपाल नागरिक उड्डयन प्राधिकरण

वन्य जीवजन्तुका कारण केही वर्षअगाडि धेरै नै समस्या उत्पन्न हुने गरेको थियो । तर, अहिले करिब–करिब नियन्त्रण भएको छ । पछिल्ला केही वर्षयता चरा तथा जीव–जनावरकै कारण समस्या भएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पोखरा, विराटनगर, भैरहवा, नेपालगन्जलगायतका विमानस्थलहरूको पनि वन्यजन्तु जोखिम अध्ययन गरियो । अध्ययनपछि प्राप्त सुझाबका विषयहरू कार्यान्वयनमा ल्याउने काम पनि भएको छ । यसकारण पनि विमानस्थलमा जीवजन्तुको जोखिम नियन्त्रणमा प्रगति भएको देखिन्छ । 

मापदण्डअनुसार विमानस्थलको ३ किलोमिटरसम्मको क्षेत्रमा मासुपसल राख्नेलगायतका काम गर्न पाइँदैन । तर, नयाँ विमानस्थल निर्माण गर्दा यस्तो मापदण्ड पूरा गर्न सकिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसो गर्न सम्भव छैन । किनकि, यो विमानस्थल घना बस्तीको बीचमा छ । चरा नियन्त्रण गर्न चराविज्ञहरूले दिएका सुझाबअनुसार काम गरिएको छ ।

विमानस्थलको नजिक धेरै लामो घाँस हुनुहुँदैन । लामो घाँस भएमा स्याललगायतका जीवले वासस्थान विकास गर्छन्, जसले विमानस्थलमा जोखिम बढाउँछन् । धेरै छोटो घाँस हुँदा पनि गँड्यौला तथा अन्य माटोमा रहने किरा बाहिर निस्कन्छन् र तिनलाई आहारा बनाउन चरा आउने गर्छन् । त्यसले पनि हवाई दुर्घटनाको जोखिम बढाउँछ । यसकारण घाँस समयमै काट्ने र व्यवस्थित बनाउने काम गरिएको छ । पछिल्ला वर्षहरूमा वन्यजन्तुको ठूलो जोखिम विमानस्थलमा देखिएको छैन । यद्यपि, यो शतप्रतिशत समाधान हुने विषय नभएर न्यूनीकरण गर्न मात्र सकिने भएकाले सधैँ चनाखो र सतर्क भने रहनुपर्छ ।