मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
त्रिनगर नाकामा मंगलबार भारतबाट फर्केका व्यक्तिमा कोरोना परीक्षणका लागि स्वाब लिँदै स्वास्थ्यकर्मी । नयाँ पत्रिका
२०७८ बैशाख १ बुधबार १०:१८:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

एन्टिजेन किट अभावले नाकामा कोरोना परीक्षण प्रभावित

धनगढीको त्रिनगर नाकाबाट आएका एक हजारमध्ये एक सय ८० को मात्र परीक्षण

Read Time : > 2 मिनेट
२०७८ बैशाख १ बुधबार १०:१८:००

एन्टिजेन किट अभाव भएपछि त्रिनगर भन्सार नाकामा भारतबाट आउनेको कोरोना परीक्षण प्रभावित भएको छ । किट पर्याप्त नहुँदा मंगलबार भारतबाट आएका अधिकांशको कोरोना परीक्षण हुन सकेन । प्रहरीको तथ्यांकअनुसार त्रिनगर नाकामा मंगलबार नौ सय ८६ जना भित्रिएका छन् ।

उनीहरूमध्ये एक सय ८० जनाको मात्र कोरोना परीक्षण गरिएको नाकामा कोरोना परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मीले बताए । परीक्षण गरिएकामध्ये १५ जनामा कोरोना पजिटिभ देखिएको परीक्षणमा संलग्न अहेब गणेश बोहराले जानकारी दिए । किट अभाव भएपछि समूहमा आएकामध्ये एकजनाको मात्र जाँच गर्ने गरिएको उनले बताए ।

कोरोना पजिटिभ देखिएमा ती व्यक्तिसँगै आएका अन्यमा पनि परीक्षण गर्ने गरिएको छ । ‘बिहान भारतबाट आउनेको थामिनसक्नु भिड लाग्यो । तर, हामीसँग सय किट मात्रै भएकाले सबैको जाँच गर्न सकेनौँ,’ बोहराले नयाँ पत्रिकासँग भने, ‘धेरैलाई जाँच नगरी पठायौँ ।’ भारतबाट आउने अधिकांश बिहान पुग्ने गरेका छन् ।

किट सकिएपछि दिउँसो स्वास्थ्य कार्यालय कञ्चनपुरबाट डेढ सय र सेती प्रादेशिक अस्पतालबाट सय किट त्रिनगर नाकामा पु¥याइएको थियो । ‘दिउँसो केही किट आयो, तर आपूर्ति केन्द्रमा पनि किट सकिएकाले भोलिका लागि पनि किट जोगाउनुपर्ने भएकाले सबैको जाँच गरेनौँ,’ अहेव बोहराले भने, ‘थप किट नआए भोलि पनि अधिकांशलाई जाँच नगरेरै पठाउनुपर्ने बाध्यता छ ।’ अहिले भारतबाट दैनिक करिब हजारजनासम्म आउने गरेका छन् । तर, नाकामा एक सय २० किट मात्र बचेको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पनि एन्टिजेन किट सकिएको छ । आपूर्ति केन्द्रका प्रमुख पदम विष्टले मंगलबार बेलुकीसम्म केन्द्रबाट थप किट नआएको बताए । ‘विभागमा बुझ्दा युएनडिपीको सहयोगमा प्राप्त १२ हजार किट आज आइपुग्ने भनिएको थियो, तर बेलुकीसम्म पुगेको छैन । किट नभएकाले भोलि पनि नाकामा कोरोना परीक्षण प्रभावित हुन्छ,’ उनले भने, ‘किट नआए एक–दुई दिनमा गड्डाचौकी नाकामा पनि परीक्षण प्रभावित हुनेछ ।’ 

 संक्रमण फैलने जोखिम
सुदूरपश्चिमका नाकामा भारतबाट फर्कने नेपालीमा कोरोना संक्रमण देखिने क्रम बढ्दो छ । त्रिनगर नाकामा भारतबाट फर्किएका ६ सय १३ जनाको एन्टिजेन परीक्षण गर्दा सोमबार ४४ जना संक्रमित फेला परेका छन् । सीमानाकास्थित स्वास्थ्य डेस्कमा खटिएका अहेब गणेश बोहराले तीमध्ये कोरोनाको लक्षण देखिएका चारजनालाई सेती प्रादेशिक अस्पताल र पजिटिभ देखिएका अन्यलाई धनगढीमा रहेको आइसोलेसनमा पठाइएको जानकारी दिए ।

आइतबार यो नाकाबाट भित्रिएका ५४ जनामा कोरोना पजिटिभ देखिएको थियो । कोरोना पजिटिभ देखिने संख्या केही दिनयता ह्वात्तै बढेको नाकामा खटिएका स्वास्थ्यकर्मीले बताएका छन् ।

भारतमा अहिले कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको छ । रोजगारका लागि भारतमा रहेका सुदूरपश्चिमेली बिसु पर्व र चैतेदसैँ मनाउन यतिवेला घर फर्किरहेका छन् । घर फर्कनेको घुइँचो लाग्न थाले पनि नाकामा सबैको परीक्षण हुन सकेको छैन । 

एकैपटक ठूलो संख्यामा नेपाली आइरहेकाले सबैलाई जाँच्न समस्या हुने गरेको अहेब बोहराले बताए । ‘ह्वात्तै ठूलो भिड आउँछ, जनशक्ति कम भएकाले हामी धान्नै सक्दैनौँ,’ उनले भने, ‘चार–पाँचजनाले सबैको कोरोना जाँच्न सम्भव छैन ।’ त्रिनगर नाकामा भारतबाट फर्कनेहरूको परीक्षणका लागि १० जना स्वास्थ्यकर्मी खटाइएको छ । दैनिक दुई सिफ्टमा पाँच–पाँचजना स्वास्थ्यकर्मी एन्टिजेन परीक्षणका लागि खटिने गरेका छन् ।

 भारतबाट फर्किएका  संक्रमितको ज्यान गयो
कैलालीमा सोमबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका– ३ का ५० वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । आफन्तका अनुसार भारतमा रोजगारीमा रहेका उनी केही दिनअघि भारतबाट स्वदेश फर्किएका थिए । कडा खालको निमोनिया देखिएपछि उनलाई आइतबार राति धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएका थियो ।

नमुना परीक्षण गर्दा कोरोना पजिटिभ देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको ज्यान गएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिममा संक्रमितको संख्या बढ्न थालेपछि सेती प्रादेशिक अस्पतालमा पनि भर्ना हुने संक्रमित बढ्न थालेका छन् । 

सुदूरपश्चिम उच्च जोखिममा
भारतबाट फर्कनेमा धमाधम संक्रमण देखिन थालेपछि सुदूरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा अहिले कोरोना संक्रमण दर र संक्रमणका कारण मृत्यु हुने दर बढेको छ । नजिकका भारतीय क्षेत्रमा संक्रमण बढ्नु र भारतबाट फर्कने नेपालीमा संक्रमण देखिन थाल्नुले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण फैलने जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

केही दिनयता सुदूरपश्चिममा संक्रमित फेला पर्ने दर बढेको छ । नाकामा हुने अव्यवस्थित भिडमा स्वास्थ्य सावधानी अपनाएको देखिँदैन । चैत पहिलो सातायता त्रिनगर नाका भएर आएकामध्ये साढे चार सयभन्दा बढीमा कोरोना पजिटिभ देखिएको अहेब बोहराले जानकारी दिए । कोरोना जाँच नगरेरै घर गइरहेकाबाट संक्रमण फैलने जोखिम रहेको उनले बताए ।