मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
अस्मिता ढकाल
२०७५ फाल्गुण ४ शनिबार ०८:२४:००
Read Time : > 2 मिनेट
अर्थ

रोजगार बजारमा कृत्रिम बौद्धिकताले ल्याएको हलचल

Read Time : > 2 मिनेट
अस्मिता ढकाल
२०७५ फाल्गुण ४ शनिबार ०८:२४:००

कामको भविष्यबारे सधैँ सैद्धान्तिक रूपमा मात्रै छलफल हुँदै आएको छ । भविष्यमा लाखौँ बेरोजगार रहनेदेखि समाजलाई परिवर्तन गर्दै थप राम्रो बनाउन भूमिका खेल्ने सामाजिक र आर्थिक गतिशीलताका लागि थप अवसरको निर्माण हुनेसम्मका तर्कहरू प्रस्तुत हुँदै आएका छन् । विश्व आर्थिक मञ्चको ‘कामको भविष्य २०१८’ले अनुमानभन्दा पनि तथ्यमा यस बहसलाई आधार प्रदान गर्ने लक्ष्य लिएको छ । नयाँ रोजगारी भूमिका, पेसा र उद्योग बढाउने प्राविधिक परिवर्तनको वृद्धिलाई ट्र्याक गरेर यस प्रतिवेदनले चौथो औद्योगिक क्रान्तिमा कामको परिवर्तित आकारको मूल्यांकन गर्छ । 

परिवर्तनको प्रमुख चालकमध्येको एक हो, कृत्रिम बौद्धिकता (एआई) र स्वचालनजस्ता उदीयमान प्रविधिको भूमिका । एआईले आर्थिक अवसरको सिर्जना र सीमितता दुवै ल्याउँछ भन्ने बहसलाई थप स्पष्ट पार्न प्रतिवेदनले श्रम बजारमा नयाँ प्रविधिको भूमिकालाई प्रकाश पारेको छ । विश्वव्यापी रूपमा ५७ करोड ५० लाखजना सदस्य रहेको सामाजिक सञ्जाल लिंक्डइनको प्लेटफर्मले विश्व श्रम बजारको विकासमा एक उच्चस्थ बिन्दु प्रदान गरेको छ ।  

यो विश्लेषणले हालको दुईवटा प्रवृत्तिलाई भने छोएको जस्तो लाग्दैन । त्यो हो, प्राविधिक रोजगारी र कौशलको लगातार वृद्घि तथा मानवकेन्द्रित रोजगारी र कौशलको कमी । सफ्टवेयर इन्जिनियर र डाटा एनालिस्टसँगै क्लाउड कम्पुटिङ, मोबाइल एप्लिकेसन डेभलपमेन्ट, सफ्टवेयर परीक्षण र एआईजस्ता प्राविधिक कौशल भएका प्राविधिक रोजगारीहरू सबै क्षेत्रका अधिकांश उद्योगमा बढिरहेका छन् ।

तर, उच्च स्वचालन जागिर भने १० वटा सबैभन्दा तीव्र रूपमा घटिरहेको रोजगारीभित्र पर्छ । विगत पाँच वर्षमा यो क्षेत्रमा कर्मचारी भर्नादरमा तीव्र रूपमा आएको कमीले यसको पुष्टि गर्छ  । यसमा प्रशासनिक सहयोगी, कस्टमर सर्भिस प्रतिनिधि, एकाउन्टेन्ट र इलेक्ट्रिकल–मेकानिकल प्राविधिकजस्ता पेसा पर्छन् ।

सन् २०२५ सम्म मेसिनले गर्ने कामको परिमाण हालको २९ प्रतिशतबाट ५० प्रतिशतमा उक्लिन्छ भन्ने अनुमान गरिएको छ । तर, यो तीव्र परिवर्तन नयाँ श्रम बजारको मागसँग समायोजित हुने हुँदा यसले रोजगारी सिर्जना घटाउनुको सट्टा थप बढाउन सक्छ ।

बढ्दो तीन प्रवृत्ति
एआईको प्रभाव अब सैद्धान्तिक मात्रै रहेन । श्रमशक्तिमा एआई कौशलको बढ्दो उपस्थितिले विश्वव्यापी रोजगारी सञ्चालन र विभिन्न उद्योगलाई कसरी प्रभावित पारिरहेको छ भन्ने हेर्न जरुरी छ । विश्वमा उदाइरहेका कौशलमाथि गरिएको अनुसन्धानले बढ्दो संख्यामा रहेका प्रवृत्तिमाथि केही प्रकाश पारेको छ :

-लिंक्डइनमा सबैभन्दा तीव्र रूपमा बढिरहेको कौशलमध्येको एक हो, एआई कौशल । सन् २०१५ को तुलनामा सन् २०१७ मा यस क्षेत्रले १ सय ९० प्रतिशत वृद्घि हासिल गरेको थियो । एआई कौशलको कुरा गर्दा हामी कृत्रिम बौद्धिक प्रविधिको निर्माण गर्दा चाहिने कौशलका बारेमा कुरा गरिरहेका हुन्छौँ । यसमा न्युरल नेटवर्क, डिप लर्निङ र मेसिन लर्निङका सार्थ वेका र स्किट लर्नजस्ता वास्तविक उपकरणको क्षेत्रका विज्ञ पनि पर्छन् । विश्वमा सबै प्रकारका प्राविधिक एआई कौशल तीव्र रूपमा बढिरहेको लिंक्डइनको तथ्यांकले देखाएको छ । 

-हरेक उद्योगमा एआई कौशल बढिरहेको पाइए पनि आफ्नो श्रमशक्तिमा सबैभन्दा धेरै एआई कौशल हुने उद्योगहरू सबैभन्दा तीव्र रूपमा परिवर्तन हुने उद्योगमध्ये हुन् । यदि परिवर्तनलाई नवप्रवर्तनको सट्टाका रूपमा लिने हो भने यसले एआई कौशलको उपस्थितिले उद्योगभित्रको नवप्रवर्तनसँग गहिरो सम्बन्ध छ भन्ने बुझिन्छ । यसले के पनि अर्थ दिन्छ भने एआई क्षमतामा थप लगानी गर्न अधिकांश उद्योगलाई प्रशस्त अवसर छ । 

-एआई कौशल विश्वव्यापी हो र अमेरिका, चीन, भारत, इजरायल तथा जर्मनी सबैभन्दा धेरै एआई कौशल भएका राष्ट्र हुन् ।

सन् २०२५ सम्म मेसिनले गर्ने कामको परिमाण हालको २९ प्रतिशतबाट ५० प्रतिशतमा उक्लिन्छ भन्ने अनुमान गरिएको छ । तर, यो तीव्र परिवर्तन नयाँ श्रम बजारको मागसँग समायोजित हुने हुँदा यसले रोजगारी सिर्जना घटाउनुको सट्टा थप बढाउन सक्छ । यस्ता अनुमानहरूले सकारात्मक र सचेत दुवैको सम्भावनाका लागि प्रशस्त स्थान छोडिदिएको छ । एआईले मानव कामदारलाई विस्थापित गर्न सक्ने सम्भावना त छैन, तर कस्तो प्रकारको रोजगारी सिर्जना हुन्छ, यो कतिसम्म स्थायी हुन्छ र यसका लागि कस्तो किसिमको प्रशिक्षणको आवश्यकता पर्छ भन्ने अनिश्चयहरू भने देखिएका छन् । यस्ता किसिमका परिवर्तनको सामना गर्न श्रम बजारलाई तयार पार्ने कुरा श्रम बजारको भविष्यलाई आकार दिने प्रवृत्ति बुझ्ने खालको दृष्टिकोणको आवश्यकता पर्छ । 

विश्वमा एआई प्रविधिमाथिको लगानी बढ्ने क्रम जारी रहेका कारण यसले श्रमशक्तिमा पार्ने प्रभावहरूको मूल्यांकन पनि जारी नै रहन्छ । नयाँ कौशलको उदयसँगै आधुनिक अर्थतन्त्रका लागि मानिसहरूलाई कस्तो प्रकारको प्रभावकारी सिकाइ कार्यक्रमको आवश्यकता पर्ला भन्नेबारे सरकार, शैक्षिक संस्था र कर्मचारीले विचार गर्न आवश्यक छ ।

–एजेन्सीको सहयोगमा