Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १ बुधबार ०८:४७:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय : नयाँ वर्षको आशा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १ बुधबार ०८:४७:००

आजदेखि विक्रम संवत् २०७८ आरम्भ भएको छ । बिदा भएको २०७७ नेपालका लागि त्यति सुखद रहेन । अर्थतन्त्र र राजनीतिमा धेरैजसो निराशालाग्दा चित्रहरू देखापरे । गत वर्ष जनवरीबाटै विश्वलाई हल्लाउँदै आएको कोभिड–१९ ले नेपाललाई यस वर्ष पनि नराम्रोसँग गाँज्यो । वर्षको पहिलो तीन महिना त पूर्ण लकडाउनको अवस्था रह्यो । अर्थतन्त्रलाई यसले नराम्रोसँग कमजोर बनायो । २०७७ साउनबाट बढ्दै गएको संक्रमणको ग्राफ पछिल्लो समय ओह्रालो लागेर सुस्ताए पनि वर्षको अन्त्यमा आउँदा फेरि उकालो लागेको छ । कोरोना महामारीलाई नियन्त्रण गर्नमा कतिपय सरकारी प्रयास कमजोर र निकम्मा देखिए । खासगरी सीमान्त क्षेत्रमा क्वारेन्टिनहरूको व्यवस्थापन अमानवीय नै देखियो । उपचारको व्यवस्थापनमा पनि सरकारी अधिकारी उपचार सहज बनाउनमा भन्दा नीतिगत भ्रष्टाचारका माध्यमबाट धन कमाउन खोजेको आरोपमा परे । तर, माघ महिनामा आएर सरकारले कोरोनाविरुद्धको खोप व्यवस्थापनमा देखाएका प्रयासहरू प्रशंसायोग्य रहेका थिए । पहिलो डोज खोप लगाएकाहरूलाई दोस्रो डोज लगाउने खोप आपूर्ति नै हुन सकेको छैन ।

सबै घटनाले गत वर्ष नेपालमा समृद्धिका लागि गरिएका प्रयासले धक्का खाएको देखाएका छन् । आउने वर्ष यी समस्यासँग जुधेर अघि बढ्ने अवस्था सिर्जना होस् । सबैलाई नयाँ वर्ष २०७८ को शुभकामना । 

कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ । ४० वर्षपछि आर्थिक वृद्धिदर ऋणात्मक हुन गयो । औपचारिक अनौपचारिक क्षेत्रमा काम गर्ने लाखौँले रोजगारी गुमाए । अहिले पनि अर्थतन्त्रले लय समातेको छैन । खासगरी पर्यटन, मनोरञ्जन र सञ्चार क्षेत्र यसबाट नराम्रोसँग थला परेको छ । अझै त्यसले गतिलिने संकेत सम्भावना देखिएको छैन । पछिल्लो समय फेरि बढ्न थालेको नयाँ प्रकृतिको कोरोनाको संक्रमणले अर्थतन्त्रसामु चुनौती खडा गरेको छ । कोरोनाकै कारण कला, संस्कृति र सहित्यका क्षेत्रमा उल्लेख्य गतिविधि भएनन् । सिनेक्षेत्र त नराम्रोसँग थला परेको छ । शिक्षा क्षेत्रमा पनि यसले नकारात्मक प्रभाव पारिरहेको छ । अर्थतन्त्र र विकासका क्षेत्रमा यो वर्ष मेलम्ची परियोजना सम्पन्न हुनु सबैभन्दा सकारात्मक विषय बन्यो ।

यता राजनीतिका क्षेत्रमा यो वर्ष निकै नमीठो अनुभव लिएर गयो । वर्षको प्रारम्भमै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशलाई संविधानले स्थापित गर्दै लगेको लिक बाहिर पुर्‍याउन प्रधानमन्त्रीले सक्रियता देखाएपछि नै राजनीति धमिलिन थालेको हो । पछि उनले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरताको बाटोमा देशलाई धकेले, संसद् पुनस्र्थापना भए पनि विघटनका प्रभावबाट देश अहिले पनि मुक्त हुन सकेको छैन, बरु थप जटिलतातिर फस्दै गएको छ । वर्षको अन्त्यमा आउँदा प्रधानमन्त्री प्राविधिक बहुमतका साथ सत्तासीन छन्, तर राजनीतिक रूपमा उनको विकल्प दिन नसकेर प्रतिपक्षी दलहरूसँगै संसद् असफल देखिन थालेको छ । संघीय संसद् भूमिकाविहीन बनाइँदै छ ।

प्रदेश संसद्हरूको अवस्था पनि उस्तै छ । सर्वोच्च अदालतले नै सत्तारुढ नेकपाको विभाजन गरिदिएपछि आरम्भ भएको राजनीतिक अस्थिरताको सिकार बन्दै गएका प्रदेश सरकार र प्रदेश संसद्हरू अन्योलमा छन् । यता नेकपा (एमाले)भित्र देखिएको विभाजनले राजनीतिलाई थप विकृत र बद्नाम बनाउँदै लगेको छ । यस वर्ष मात्रै दुईवटा दल एकीकृत भएर बनेको समाजवादी जनता पार्टी वर्षको अन्तिममा आउँदा विभाजनउन्मुख देखिएको छ । यस वर्ष भएको एउटा राम्रो काम लिम्पियाधुरा क्षेत्र समेटेर नक्सा बनाउन र त्यसलाई संविधानको अंग बनाउन जुटेको सर्वदलीय सहमति पनि हो । यी सबै घटनाले गत वर्ष नेपालमा समृद्धिका लागि गरिएका प्रयासले धक्का खाएको देखाएका छन् । आउने वर्ष यी समस्यासँग जुधेर अघि बढ्ने अवस्था सिर्जना होस् । सबैलाई नयाँ वर्ष २०७८ को शुभकामना ।