Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सोमत घिमिरे
२०७८ बैशाख १ बुधबार १०:२९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रधानमन्त्रीको अत्यासलाग्दो विकास

Read Time : > 4 मिनेट
सोमत घिमिरे
२०७८ बैशाख १ बुधबार १०:२९:००

तपाईंको विकासको गफ अत्यासलाग्दो भो प्रधानमन्त्रीज्यू, अत्यास लाग्नु विरोधी हुनु हो भने सबै तपाईंका विरोधी हुन्

प्रधानमन्त्री खड्गप्रसाद ओली आजकाल एउटा कुरा बारम्बार भन्छन्, उनले गरेको विकासले विरोधीहरू अत्तालिए । दमकमा भ्यु टावरको सपनामुनि सुकुम्बासी बस्तीमा डोजर लगाएपछि सुकुम्बासी किन नआत्तिउन् । मध्यकोरोनामा कीर्तिपुरमा दाम्लोसहित मृत भेटिएका परिवार ओलीसँग किन नआत्तिउन् । सामुदायिक विद्यालय कामै नलाग्ने बनाएर शिक्षा माफियाको बोर्डिङको फिस तिर्न बाध्य पारिएका बा–आमा ओलीसँग किन नआत्तिउन् । ओलीसँग आत्तिनेहरूको सूची लामो बनाउन सकिन्छ, जसको सविस्तार व्याख्या तल गरिएको छ । अझ सबैभन्दा अत्यासलाग्दो त ओलीको हावादारी विकास गफ हो । अलिकति सभ्य भाषामा भन्ने हो भने विकास चिन्तन हो । प्रधानमन्त्री ज्यू, तपाईंसँग सबै आत्तिएका छन् । यती र ओम्नीको टेको लगाएका तपाईंका वरिपरिका व्यक्तिलाई बाहेक निकै छोटो समयमा सबैलाई अत्याउनसक्नु भयो भने तपाईंको बहादुरी नै हो ।

नेपालमा विकास भन्ने शब्द अलिकति साइड लागेको छ । समृद्धिले मूलधार ओगटेको छ । के फरक होला विकास र समृद्धिमा ? म आफैँ विकासका वरिपरि २५ वर्ष बिताएँ, तर मैले बुझ्न सकेको छैन । बुझे पनि नबुझे पनि बुझेझैँ गरी समृद्धि भन्नुपर्ने छ । सहरमा एकाध ठूला बाटा बनाउनु, ठूला घर बनाउनु, बाटा चिल्ला बनाउनु, विमानस्थललाई चिटिक्क पार्नु भनेको समृद्धि होला । तर, यो सब कामको लाभ कसले पाउँछ ? त्यहाँभित्र न्याय छ कि छैन कुनै खोजीको विषय छैन । एकोहोरो समृद्धिको नाराले ओली रमाइरहेका छन् । पानीजहाज र चुच्चे रेल उनको विकासको पर्याय बनेको छ । हुन त चरम दक्षिणपन्थी शासकले कोरा राष्ट्रवाद र विकासको नाराबाटै सत्ताको आयु लम्बिन्छ भन्ने ठान्छन् । ओली यही पुरानो सडेगलेको मान्यताको नेपाली भरिया हुन पुगेका छन् ।

नेपालजस्तो बहुभाषिक र बहुधार्मिक देशमा ओलीले अहिले जेजति विकासका गफ दिइरहेका छन्, त्यो कति काम लाग्ला ? आदिवासी जनजातिहरू आफ्ना भाषा, धर्म र संकृतिसँग अर्थात् पहिचानसँग सम्वेदनशील छन् । विकास र पहिचानको सम्बन्ध के होला ? अहिले कुरा गरिरहेको तमकझमकवाला विकासले पहिचानलाई झन् मेट्ला कि के गर्ला कुरा प्रस्ट छ । अहिलेको विकास चिन्तनभित्र पहिचानले ठाउँ पाएको छैन । अहिले चलिरहेको वा ओलीले चलाउने विकासे डोजरले पहिचानलाई कच्याककुचुक्क बनाउने हो । किनभने आदिवासी जनजाति समुदायको दृष्टिकोणअनुसार विकासे गाडि चलेकै छैन । विकास चिन्तनले यो देशमा आदिवासी जनजाति समुदाय पनि छन् भन्ने थाहा नै पाएको छैन । सबै समुदायका लागि विकासको चक्की र औषधि एउटै छ । त्यसैले यो विकासले आजभन्दा धेरै पहिले मधेसका थारूलाई जे–जस्तो सीमान्तकरणको प्रक्रियाले भित्तामा पुर्‍यायो अहिलेको विकासले साँचो अर्थमा भन्ने हो भने जनजातिलाई बाहुनकरण गर्ने हो । हिन्दुकरण गर्ने हो । 

कुनै पनि मानेमा जनजाति हुन छुट दिएको छैन विकासले । त्यसैमाथि ओलीको हातमा विकासे स्टेरिङ परेपछि यो प्रक्रिया तेज मात्रै भएको छ । जनजाति योभन्दा बढी जीविकाको संकटमा जानेछन् । किनभने अहिलेको विकासले खोला र जंगलसँग जोडिएको जीविकालाई जीविका मान्दैन । उदाहरणका लागि नदी किनारमा बस्ने बोटे, माझी समुदायलाई लिन सकिन्छ । आफ्नै नजिकको जंगलबाट साग, सिस्नुलगायतका तरकारी संकलन गर्नु, नजिकको खोलाबाट माछा मार्नु र जीविका गर्नु थियो । विकाससँगै हामीलाई पर्यटन चाहियो र राज्यले राष्ट्रिय निकुञ्ज बनायो र बोटे, माझी समुदायलाई आफ्नै जंगलमा जान छेक्यो । राज्यले विकास ग¥यो, तर बोटे, माझीको जीविका गहिरो संटकमा पर्‍यो, परिरहेकै छ । विकासका अगाडि बोटे, माझीको जुनी केही होइन । आदिवासी जनजाति आफ्नै थातथलोबाट विस्थापित हुनुपर्ने, जीविकाको संकट व्यहोर्नुपर्ने । त्यसैले प्रधानमन्त्रीज्यू, हजुरसँग आदिवासी जनजाति समुदाय आत्तिएकै छन् । 

विकास, वर्ग र गरिबीबीच के साइनो हो ? के सम्बन्ध हो ? खोजबिन गर्ने कहीँ प्रयास छैन । नेपालमा मात्रै होइन, संसारमै विकासको बाँसुरी जति चर्को बज्दै गयो त्यति नै धनी र गरिबबीच खाडल बढ्दै गयो । बहुसंख्यक मानिस गरिब हुँदै छन् । झन्झन् थोरै मानिसहरू धनी हुँदै छन्, तर विश्वले विकास गर्दै छ । अनौठो भाष्य निर्माण भएकै छ । नेपालमा नै हेर्ने हो भने आठ–दश घरानाले सम्पत्ति कब्जा गरेका छन् । तर, नेपालमा विकास भएकै छ । प्रधानमन्त्रीका हैसियतले निकाल्ने आफ्ना बखाने पुस्तकमा यति विकास भयो भनेकै छन् । तर, बहुसंख्यक मानिस गरिब बन्दै छन् । त्यही भएर चीनले विकासको परिभाषामा गरिबी बडार्नु हो भनेर विकासलाई पुनर्परिभाषित गरेको छ । हाम्रो तमक–झमक वा भौतिक पूर्वाधारको विकासले गरिबीलाई बढो मलजल गरेको छ । स्याहार–सुसार गरेको छ । 

नेपालमा मात्रै होइन, संसारमै विकासको बाँसुरी जति चर्को बज्दै गयो त्यति नै धनी र गरिबबीच खाडल बढ्दै गयो । बहुसंख्यक मानिस गरिब हुँदै छन् । झन्झन् थोरै मानिस धनी हुँदै छन्, तर विश्वले विकास गर्दै छ ।

के विकास हुनु भनेको गरिबी बढ्नु हो ? के विकास हुनु भनेको अनिकाल बढ्नु हो ? के विकास हुनु भनेको ऋण बढ्नु हो ? के विकासको मूल मर्म वर्गीय खाडल बढ्नु हो ? हामीले कहिल्यै यसबारे गहिरो चिन्तन गरेनौँ । गहिरो चिन्तन ओलीलाई जरुरी छैन, किनभने उनलाई सबै थाहा छ । ध्यान कसरी गर्ने ? कोराना आए के–के खाने ? भ्यु टावर कहाँ–कहाँ बनाउने ? रेल र पानीजहाजको गफ कहाँ दिने ? प्रचण्ड र माधव नेपाललाई कहाँनिर होच्याउने, महिला र मेधेसी समुदायलाई कसरी खिसिट्याउरी गर्ने, गोकुल बाँस्कोटालाई कसरी ठूलो बनाउने ? ओलीलाई सब थाहा छ । तर, थाहा नपाएको एउटा विषय छ– माक्र्सवादी ज्ञान । माक्र्सभित्र गरिएको वर्ग विश्लेषण सँगसँगै लेनिन र माओको योगदान । बाँकी कुरा सब उनलाई थाहा छ । यही ज्ञानका आधारमा उनले विकासको विचार बनाइरहेका छन् । 

नेपालमा ग्रामीण औद्योगीकरणको वास्तवमा सुरुवातकर्ता र एकखाले वैज्ञानिक नेपालमा दलित समुदाय हो । जो आजका होइनन्, धेरै पहिलाका वैज्ञानिक हुन् । हाम्रो सभ्यताको विकासक्रमका वैज्ञानिक । तर, आज उनीहरू आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा सबैभन्दा पीँधमा पुर्‍याइका छन् । एकातिर विकास भएको छ अर्कोतिर भएको दलित समुदायको ग्रामीण  औद्योगीकरण पनि मरेको छ । के हाम्रो विकासले दलित समुदायलाई संगठित गर्दै साना र ठूला एकाइमा कृषि औजार कारखाना स्थापित गरी हामी कृषि औजारमा आत्मनिर्भर हुन सक्दैन्थ्यौँ ? दलित समुदायको सीप र योगदानलाई कदर गरी हाम्रो विकासको बाटो त्यो हुन सक्दैन्थ्यो । कि विकसित हुनका लागि कृषि औजार बाहिरबाट ल्याउनैपर्ने थियो ? 

अचम्म छ, सिंगो दलित समुदायले अहिलेको विकास प्रक्रियाबाट कुनै लाभ लिन सकेन । बरु त्यो समुदाय झन्झन् दुःख र कष्टमा भासिँदै गयो । तर, यो विकास प्रक्रियाप्रति कहीँ छलफल भएको छैन । के विकास हुनु भनेको ग्रामीण औद्योगीकरण मर्नु हो ? के विकास हुनु भनेको दलित समुदायले थप दुःख व्यहोर्नु हो ? त्यसैले हजुरको पानीजहाजको, रेलको सपना देखेर दलित समुदाय आत्तिएकै हुन् । हजुरले ठिकै भनिबक्सिएको छ, मेरो विकास देखेर विरोधी आत्तिए । आत्तिएकै छन् हजुर गरिब, दलित र जनजाति । 

प्रधानमन्त्रीज्यू, हजुरले एक निर्वाचन क्षेत्र एक सडकको उद्घाटन गरिबक्सियो । के–के न गरेजस्तो लागेको होला । सडक लोकप्रिय कार्यक्रम बनेको छ नेपालमा । सत्य हो, तर सडकले अहिलेसम्म गरेको योगदान भने गाउँ–गाउँमा चाउचाउ, कोकोकोला, विभिन्न थरी रक्सी पुर्‍याएको छ । मकै–भटमास खान छाडेर मानिसलाई चाउचाउ खाने बनाएको छ । मोही खान छाडेर कोकाकोला खाने बनाएको छ । घरेलु खान छाडेर भोड्का खाने बनाएको छ । अथवा भनौँ गाउँको उत्पादनलाई घृणा गर्ने बनाएको छ । गाउँमा स्थानीय उत्पादन घट्यो । जग्गा बाँझिए । घरकै बारीमा तरकारी फलाउन छाडेर अरबको तातो घाम खाएर पठाएको पैसा तरकारी किनेर खाने बनायो । स्थानीय उत्पादन तपाईंको विकासको एजेन्डाभित्र पर्दैन । किसानलाई सम्मान र सहयोग तपाईंको विकासको एजेन्डाभित्र पर्दैन । त्यसले समग्र किसान समुदाय तपाईंको विकाससँग आत्तिएका छन् । तपाईंको विकासको एजेन्डाले सहरका ठालु मात्रै देखेर सिंगो ग्रामीण समुदाय आत्तिएको छ । 

अहिले विकास यति वेगवान छ । सहरमा फेर्ने हावा प्रदूषित छ । सहर कुनै मानेमा पनि बस्न लायक छैनन् । यति प्रदूषित हावा खाएर आजित भएका मध्यम वर्गीय सहरवासीलाई तपाईं बेलुकी टेलिभिजनमा विकासका अनेक चुट्किला सुनाउनुहुन्छ । मेलम्ची कसले सुरु गरेको तपाईं गफ दिनुहुन्छ, तर सहरको पानी खान होइन, छुन अयोग्य भइसक्यो । मानिसको भान्सामा खाना हैन, विष पाकिरहेको छ । खानाका नाममा अनेक रासायनिक हालेको विष खाएर, छुन अयोग्य पानी खाएर, सास फेर्न प्रदूषित हावा लिएर हामी तपाईंको विकासे गफ सुनेर नआत्तिए को आत्तियोस ? तपाईंको विकासको गफ अत्यासलाग्दो भो प्रधानमन्त्रीज्यू, अत्यासलाग्दो । अत्यास लाग्नु तपाईंको विरोधी हुनु हो भने सबै नेपाली तपाईंका विरोधी हुन् ।