कञ्चनजंघाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन् । कोरोनाका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भन्ज्याङ बन्द भएसँगै स्थानीयको आम्दानीको स्रोत सुकेको छ । जसका कारण स्थानीय विस्थापित हुने अवस्थामा पुगेका छन् ।
स्थानीयस्तरमा उत्पादन भएका गलैँचा, घिउ, छुर्पीलगायतका सामग्रीको नेपाली बजारमा कुनै भाउ छैन । व्यापार पनि हुँदैन । ती सामानले तिब्बतको रिउमा धेरै मूल्य पाउने गरेका थिए । करिब डेढ वर्षदेखि सीमानाका बन्द भएकाले व्यापार हुन नसकेको स्थानीय छेतेन शेर्पाले बताए ।
कोरोनाका कारण डेढ वर्षदेखि जडीबुटी संकलन हुन सकेको छैन । यसले पनि आर्थिक रूपमा भार परेको छ । कञ्चनजंघा संरक्षण क्षेत्रभित्र विभिन्न जडीबुटी संकलन गरिँदै आएको छ । नियमअनुसार कुड्की, सत्वा, सेतोचिनी, चिराइतोलगायतका जडीबुटीरू संकलन हुन नसकेको कञ्चजंघा संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए । पर्यटकीय गाउँ ओलाङचुङ्गोलाका बासिन्दा चार सय वर्षदेखि बसोवास गर्दै आएको इतिहास छ । जहाँ ६४ घरपरिवार छन् ।