Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३१ मंगलबार १०:२५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

मजदुर हडतालले आँगन मिठाईका दुई बिक्री केन्द्र अढाई महिनादेखि बन्द

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३१ मंगलबार १०:२५:००

मजदुर हडतालका कारण आँगन मिठाईका त्रिपुरेश्वर र लाजिम्पाट बिक्री केन्द्र साढे दुई महिनादेखि बन्द रहेको छ । कोभिडका कारण जागिर खोसिएका मजदुरलाई स्थिति सामान्य बन्दै गएपछि पुनर्बहाली नगरेको भन्दै दुईवटा बिक्री केन्द्रमा हडताल गर्नुपरेको मजदुरहरूले बताएका छन् ।

नेपाल स्वतन्त्र होटेल मजदुर युनियन आँगन इकाइ कमिटीको अगुवाइमा दुवै बिक्री केन्द्रमा १६ माघदेखि हडताल जारी छ । हडतालका कारण दुवै बिक्री केन्द्र बन्द छन् । इकाइ कमिटीका वरिष्ठ उपाध्यक्ष वासुदेव भट्टले जागिर खोसिएका मदजुरको पुनर्बहाली भए तुरुन्तै काममा फर्किन तयार रहेको बताए ।

‘दुईवटा बिक्री केन्द्रमा ६५ मजदुर कार्यरत छौँ । कोभिडले व्यापार खस्किएपछि धेरै मजदुरलाई सहमतिमै बिदामा राखिएको थियो,’ उनले भने, ‘स्थिति सामान्य बन्दै गएपछि जागिरमा फर्काउने सर्त थियो । कात्तिकपछि स्थिति सामान्य बन्दै व्यापार पनि पुरानै लयमा आइसकेको थियो । त्यसपछि हामीले बिदामा राखेका ७–८ जना मजदुर साथीहरूलाई काममा फर्काउन व्यवस्थापन पक्षसँग बारम्बार आग्रह ग¥यौँ, तर सुनुवाइ नभएपछि बाध्य भएर हडताल गर्नुपरेको छ ।’

आँगन मिठाई एक वर्षअघि पशुपति फुड्सबाट दुई समूह आकाश फुड्स र शिव फुड्सले खरिद गरेका थिए । त्यसमध्ये शिव फुड्ससँग पशुपति फुड्सकै बहुसंख्यक लगानी छ । काठमाडौंका पाँचवटा आउलेटमध्ये आकाश फुड्सले त्रिपुरेश्वर र लाजिम्पाट बिक्री केन्द्र लिएको थियो । अहिले समस्या आकाश फुड्सकै आँगनको बिक्री केन्द्रमा देखिएको छ । आकाश फुड्सले ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रको उत्पादन स्थलसमेत लिएको थियो 

शिव फुड्सले सञ्चालन गरिरहेको पुतलीसडक, न्युरोड र कमलपोखरीको बिक्री केन्द्रमा भने कुनै समस्या छैन । एक वर्षअघि नै आँगनको त्रिपुरेश्वर र लाजिम्पाट बिक्री केन्द्र खरिद गर्दा आकाश फुड्ससँग ६५ जना नेपाली मजदुर आएका थिए । 

नेपाली हटाएर भारतीय राख्ने चलखेल
अंकुर अग्रवालको स्वामित्व रहेको आकाश फुड्सले आँगनमा २०–२२ वर्षदेखि काम गरिरहेका मजदुरहरूलाई हटाउन चाहिरहेको छ । आँगनमा २२ वर्षदेखि काम गरिरहेका नीलम्बर झाले नेपाली मजदुर हटाएर भारतीय राख्ने चलखेल भइरहेको बताए । आकाश फुड्सले श्रम कार्यालय, टेकुलाई समेत पत्राचार गरी प्रतिमजदुर ६० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म एकमुष्ठ रकम दिएर बिदा गर्ने प्रस्ताव पेस गरेको छ । यो रकम अत्यन्त न्यून हो । 

‘म यहाँ २२ वर्षदेखि काम गरिरहेको छु । यहाँबाट निस्कियो भने बुढ्यौली उमेरमा कहाँ जाने ?’ झाले भने । भारतीय मजदुर सस्तो श्रम मूल्यमा पाइने भएकाले व्यवस्थापनले नेपाली हटाउन खोजिरहेको उनको आरोप छ । ‘ललितपुरको पाटनमा रहेको उद्योगमा काम गरिरहेका नेपाली मजदुरलाई व्यवस्थापनले काम गर्न नदिएर जबर्जस्ती निकाल्यो, तर भारतीय कामदारलाई खाना–नास्ता दिएर काममा लगाउनेजस्तो दुई थरी व्यवहार भएको छ,’ झाले भने ।

आकाश फुड्सका व्यवस्थापक आलोक अग्रवालले श्रम कार्यालयसँग समन्वय गरी मजदुर समस्या हल गर्न खोजिरहेको बताए । ‘हामीले मजदुर हितमा सबै काम गरिरहेका छौँ । ०७६ असारसम्मको सामाजिक सुरक्षा कोषमा दाखिला गर्नुपर्ने रकम, उपदानबापत कोषमा व्यवस्था गर्नुपर्ने रकमलगायत राखेका छौँ,’ अग्रवालले भने, ‘मजदुरहरूले एक्कासि हडताल गरेर व्यवसायमा नराम्रो असर गरेका छन् ।’ मजदुर युनियनको मागअनुसार ७–८ जना कर्मचारी राख्ने प्रक्रिया अघि बढाइरहेका वेला एक्कासि हडताल गरेर बिक्री केन्द्र जबर्जस्ती बन्द गराएको गुनासो गरे ।

मजदुर युनियनका वरिष्ठ उपाध्यक्ष भट्टले भने बिदामा राखिएका कर्मचारीलाई जागिर दिलाउन बारम्बार आग्रह गर्दा सुनुवाइ नभएको बताए । ‘भेट गर्न खोज्दा भेट नहुने, फोन गर्दा नउठाउनेलगायतका समस्या भएपछि हडतालमा छौँ,’ भट्टले भने, ‘हडताल गरेकै साढे दुई महिना भइसक्यो । व्यवस्थापनले कुनै चासो दिएको छैन । यतिका धेरै समय कामविहीन हुँदा पैसा अभावमा मजदुरहरूलाई खान र बस्न नै समस्या हुन थालिसक्यो ।’

समाधान होइन, द्वन्द्व चर्काउँदै व्यवस्थापन
आँगन मिठाईको सञ्चालक आकाश फुड्सले हडतालमा उत्रिएका मजदुरको समस्या समाधान गर्न पहल गर्नुको सट्टा दुईवटा बिक्री केन्द्र बन्द हुँदा ३० लाख ८३ हजार ६ सय ५५ रुपैयाँ क्षति भएको दाबी गर्दै मजदुरहरूबाट असुलउपर गर्नुपर्ने जिकिर गरेको छ । आकाश फुड्सले श्रम कार्यालयलाई लेखेको पत्रमा मजदुर हडताल समाधानका लागि पहलकदमी लिन इच्छुकसमेत नरहेको संकेत दिएको छ । कम्पनीले एक दिनअघि मात्रै श्रम कार्यालयमा वार्ताका लागि हाजिर हुने व्यहोराको पत्र पठाएर अप्ठ्यारोमा पारेको भन्दै श्रम कार्यालयमाथि नै प्रश्नसमेत गरेको छ । 

व्यवस्थापकहरू दुवै बिक्री केन्द्र बन्द गरेर नयाँ ढंगले व्यवसाय गर्ने दिशामा अघि बढेको एक कर्मचारीले बताए । ‘मजदुरहरू हडतालबाट पछि हट्ने देखिएको छैन । त्यसैले आकाश फुड्सले मजदुरसँग वार्ता गर्नुको सट्टा दुवै आउटलेट सधैँका लागि बन्द गरेर नयाँ ढंगले अघि बढ्ने रुचि देखाएको छ,’ एक कर्मचारीले भने ।