१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
उत्तमराज सुवेदी, प्रहरी प्रवक्ता
नुनुता राई
२०७५ फाल्गुण ४ शनिबार ०८:२९:००
Read Time : > 4 मिनेट
फिचर

कहिल्यै रिसाउँदिनँ : उत्तमराज सुवेदी

ऐनाअगाडि

Read Time : > 4 मिनेट
नुनुता राई
२०७५ फाल्गुण ४ शनिबार ०८:२९:००

ऐना दुई तरिकाले हेर्छु
ऐना समय–समयमा हेरिरहन्छु । म ऐना दुई तरिकाले हेर्छु । एक, कुनै पनि पहिरन लगाइसकेपछि हेर्छु । नमिलेको खण्डमा मिलाउँछु । पहिरनले मान्छेको व्यक्तित्व पनि झल्काउँछ । त्यसैले म विशेष ख्याल गर्छु । सबै पहिरन सबैलाई सुहाउँदैन । आफूलाई नसुहाएको खण्डमा परिवर्तन गरेर सुहाउने पहिरन लगाउँछु । युनिफर्म लगाउँदा पनि विशेष सजग हुन्छु, कतै मिलेको छैन कि भनेर ।  अर्को, आफूलाई समीक्षा गर्नका लागि हेर्छु । आफूले गरेको कार्य कस्तो रह्यो भनेर ऐनामा उभिएर सोच्ने गरेको छु । आफूमा भएका कमजोरी केलाएर सुधार्ने वाचा गर्छु । यसरी मेरा लागि ऐनाअघि उभिनु भनेको आफूले आफैँलाई नियाल्नु हो ।
 पारिवारिक जिम्मेवारीमा चुकेको छु 
हरेक व्यक्तिका सबल पक्ष र दुर्बल पक्ष हुन्छन् । मेरा पनि छन् । मेरो कमजोर पक्ष भनेको नै पारिवारिक जिम्मेवारी वहन गर्न नसक्नु हो । परिवार, आफन्तलाई समय दिन सकिरहेको छैन । यो मलाई खट्किरहन्छ । श्रीमतीलाई समय दिन सकिराखेको छैन, घरको काममा सहयोग गर्न सकिरहेको छैन । 
अबचाहिँ घरको काममा पनि सहयोग गर्छु भनेर आफैँसँग प्रतिबद्घता गर्छु, तर फेरि पनि चुक्छु । निरन्तर चुकिरहेको छु । म आफैँलाई समीक्षा गर्दा पारिवारिक जिम्मेवारीअनुसार समय अथवा घरायसी काममा सहयोग गर्नेचाहिँ शून्य नै छ । यो पाटो सुधार गर्ने कोसिस गर्नेछु । 

 प्रहरीको ग्ल्यामरले तान्यो
प्रहरीको जागिर खाने सोच नै थिएन । परिवारको पनि मलाई सिभिल इन्जिनियर बनाउने सोच थियो । इन्जिनियर पढिसकेपछि सरकारी जागिर खानुपर्छ भन्ने पहिलादेखिकै सोच थियो । म पनि त्यही सुन्दै आएको र आफूलाई त्यहीअनुरूप तयार गर्दै थिएँ । त्यो भन्दा अरू केही मनमा थिएन ।  त्यही योजनाका साथ एसएलसी दिएपछि साइन्स पढ्न काठमाडौं आएँ ।

आइएस्सी पढ्न थालेँ । पहिलो वर्ष राम्रो अंक ल्याएर पास गरेँ । दोस्रो वर्ष पढ्दा प्रहरीको काम नजिकबाट नियाल्ने मौका पाएँ । त्यसवेला एकदम जवान इन्स्पेक्टरसा’बहरू हुनुहुन्थ्यो । वडा प्रहरी कार्यालयलाई त्यसवेला लाइन भनिन्थ्यो । काठमाडौंका लाइनमा इन्स्पेक्टरसा’बहरू बस्ने । ७५० सिसीको सेतो मोटरसाइकल चढेर हिँड्ने, रेब्यान चस्मा लगाएर चट्ट परेकाहरू हुनुहुन्थ्यो । कतै झगडा भएको ठाउँमा, गुन्डाहरू भएको ठाउँमा जाँदा भागाभाग हुने । गुन्डा तथा बदमासहरूलाई लखेटी लखेटी समात्ने, भ्यानहरू आफैँ चलाउने । त्यो देख्दा मलाई साँच्चै प्रहरीको जागिर एकदम ठीक रहेछ, अब जसरी नि प्रहरी बन्छु भन्ने सोच आयो । 

सेवा पनि हुने, ग्ल्यामर पनि देखिने बुझाइले आकर्षित भएँ । त्यसपछि मैले मनमनै अब त म प्रहरी नै बन्छु भन्ने अठोट लिएँ । त्यहीअनुरूप आफूलाई तयार गरेँ । पढाइलाई निरन्तरता दिएँ । बिएस्सी पढिसक्दा इन्स्पेक्टर पदमा भर्ना खुल्यो । परिवारलाई कन्भिन्स गर्न एकदम गाह्रो भयो । विशेषगरी हजुरआमा मान्नुभएको थिएन । आमाबुवाले सम्झाउनु भएपछि मान्नुभयो । यसरी ग्ल्यामरले प्रहरी सेवामा तानेको मलाई जनयुद्घमा खटिन प¥यो । ०५१ सालको अन्तिममा म छनोट भएँ, ०५२ देखि त जनयुद्ध  सुरु भयो । 

 प्रहरीप्रतिको सोच परिवर्तन गर्ने प्रयास
मान्छेलाई असुरक्षित महसुस भयो भने पहिलो नम्बरमा भगवान् सम्झन्छन्, दोस्रोमा प्रहरी । भगवान् आस्थाले र प्रहरी विश्वासले सम्झन्छन् । हामीलाई पहिलो नम्बरमा सम्झिऊन् भनेर हामीले बाटो बनाइरहेका छौँ । अथवा जनतासम्म पुग्नलाई विभिन्न उपाय अपनाइरहेका छौँ । अझै पनि केटाकेटीलाई ‘पुलिस आयो है’ भनेर डर देखाउने गरिएको पाइन्छ । जुन एकदम गलत हो । यस्ता कार्यहरू बन्द हुनुपर्छ । एक वर्षको बालकलाई पनि प्रहरी हाम्रो सुरक्षाका लागि हो भन्ने भान पार्नका लागि काम भइरहेको छ । चोर आयो भने, असुरक्षाबाट प्रहरीले बचाउँछ भन्ने चेतना छर्न ‘समुदाय–प्रहरी साझेदारी’मार्फत प्रयास गरिरहेका छौँ, जसको संयोजक म रहेको छु । 

 कर्तव्यनिष्ठ छु 
प्रहरी सेवामा आबद्घ भएको २५ वर्ष भयो । अहिलेसम्म पाएको जिम्मेवारीमा ९५ प्रतिशत सफल भएको छु । जनयुद्घको समयमा नेपालका विभिन्न ठाउँमा बसेर काम गरियो । त्यसवेला काठमाडौंमा पर्नु भनेको हरेक हिसाबले सुरक्षित हुनु थियो । तर, काठमाडौंमा कहिलेकाहीँ मात्रै परिन्थ्यो । बढी समय त द्वन्द्व क्षेत्रमा नै खटिनपथ्र्यो । जनयुद्घको वेला जतिवेला जे पनि हुन सक्छ भन्ने मनमा लिएर काम गर्नुपथ्र्यो । तर, आफ्नो ज्यानको डरले कहिल्यै पनि कर्तव्यबाट भागिनँ । 

कर्तव्यनिष्ठ भएर काम गरेँ, गरिरहेको छु । धेरै एड्भेन्चर कार्यहरू पनि गरेँ । जुन ग्ल्यामरले म आकर्षित भएँ, त्यस्तै किसिमका काम पनि गरेँ । त्यस्तै, कामहरूबाट आफूलाई सक्षम भएको साबित गर्ने मौका मिल्छ । २६ किलोमिटरसम्म मोटरसाइकलबाट गाडीमा भएका बदमासहरूलाई लखेटेर समातेको छु । जुन एकदम फिल्मीशैलीमा भएको थियो । यस्ता विषयहरू सम्झेर एकदम गर्व लाग्छ । 

मान्छेलाई असुरक्षित महसुस भयो भने पहिलो नम्बरमा भगवान् सम्झन्छ, दोस्रोमा प्रहरी । भगवान् आस्थाले र प्रहरी विश्वासले सम्झन्छन् । अब हामीलाई पहिलो नम्बरमा सम्झिऊन् भनेर बाटो बनाइरहेका छौँ । 

 धनुषाको कार्यकाल एकदम सफल
हामी प्रहरीको एक ठाउँमा एक वर्षको कार्यावधि हुन्छ । हरेक एक वर्षमा कार्यक्षेत्र परिवर्तन भइरहन्छ । धेरै वर्ष फिल्डमा रहेर नै काम गरियो । जिल्ला प्रहरी कार्यालय प्रमुख भएर पाँचवटा जिल्लामा काम गरेँ । मेरो मिहिनेतसँगै संयोग पनि प¥यो होला, मैले ह्यान्डल गरेका ९५ प्रतिशतभन्दा बढी केसमा सफलता प्राप्त गरेको छु । 

त्यसैमध्ये शतप्रतिशत केस सफल भएको भनेको धनुषामा पनि हो । मेरो जीवनकै सफल, सन्तुष्ट लाग्ने कार्यक्षेत्र धनुषा हुँदाको समय हो । ०७० मा त्यहाँ एसपी भएर गएको थिएँ । भारतमा बसेर विभिन्न समूहको नाममा चन्दा उठाउने, धम्की दिनेजस्ता कार्य एकदम धेरै हुन्थ्यो । मैले आफ्नै सक्रियतामा धेरैजनालाई समात्न सफल भएँ, भारतीय प्रहरीसँगको समन्वयमा भारतबाट पनि पक्राउ परे । त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ गर्दै कारबाहीको दायरामा ल्याउन थालेपछि आपराधिक क्रियाकलाप एक्कासि घट्यो । त्यसले जनताको प्रहरीप्रतिको विश्वास पनि बलियो भएको थियो । विभिन्न प्राविधिक कारणले १४ महिना बस्दा त्यहाँको अपराध कार्य घटेको थियो । 

 जस्तो परिस्थितिमा  पनि रिसाउँदिनँ
कत्तिले पत्याउँछन्, त्यो त थाहा भएन, तर म कहिल्यै रिसाउँदिनँ । मलाई रिस नै उठ्दैन । तर, रिस उठेको नाटकचाहिँ वेलावेला गर्छु । मनबाट रिसाएको मलाई याद छैन । भिडलाई नियन्त्रण गर्न कहिलेकाहीँ ठूलो स्वरले कराउनुपर्ने हुन्छ, तर त्यो सबै स्थिति नियन्त्रणका लागि हुन्छ । स्वभावले रिस उठ्दैन ।  मेरो श्रीमतीले गुनासो गर्छिन् र डर पनि यसैमा छ । उनी किन कहिल्यै रिसाउनुहुन्न भनेर गुनासो गर्छिन् । नरिसाउने मान्छे रिसाउँदा साह्रै डरलाग्दो हुन्छ भन्ने पनि पर्दो रहेछ । कहिलेकाहीँ रिसाउनेको रिस छिटो शान्त हुन्छ, त्यसैले कहिलेकाहीँ रिसाउनुपर्छ भन्छिन् । 

 अपराधीलाई भुसुना ठान्छु
म समाजलाई सुरक्षित बनाउने कुरामा हरसम्भव प्रयास गर्छु । आफ्नो क्षमताले भ्याएजति सबै प्रयास गर्छु । जनतासँगको सहकार्यमा विश्वास राख्छु । जनतासँग जोड्न सकिएन भने प्रहरीले कुनै पनि अनुसन्धान पूरा गर्न सक्दैन । त्यसैले हामी प्रहरी भनेको जनतासँग रमाउने सक्ने, आफ्नो समस्या हामीकहाँ सहजै भन्न सक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता राख्छु । त्यहीअनुरूप काम पनि गर्दै आएको छु । र, अपराधीलाई जसरी पनि कानुनको दायरामा ल्याएरै छाड्छु । यस मानेमा म आफूलाई सिंह र अपराधीलाई भुसुना ठान्छु । 

तस्बिर : अमुल थापा