Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत ३० सोमबार ११:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटकको आकर्षण बन्दै ‘स्याँगे वाटरफल जिपलाइन एड्भेन्चर’

Read Time : < 1 मिनेट
२०७७ चैत ३० सोमबार ११:२७:००

अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४, स्याँगे झरनामा निर्माण गरिएको ‘स्याँगे वाटरफल जिपलाइन एड्भेन्चर’ पर्यटकको रोजाइमा पर्न थालेको छ ।  विगतदेखि नै पर्यटकको रोजाइमा पर्दै आएको स्याँगे झरनामा जिपलाइन व्यावसायिक रूपमा सञ्चालन हुन थालेपछि थप पर्यटकको आकर्षण बनेको स्थानीय समाजसेवी तथा पर्यटन व्यवसायी नरबहादुर गुरुङले बताए । 

उनका अनुसार झरनामा दैनिक दर्जनाैँ पर्यटक आउने गर्छन् । प्रति‘जिप फ्लाएर’ टिकट शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको छ । जिपलाइन सञ्चालनको जिम्मा स्थानीय कन्यादेवी युवा क्लबले लिएको छ । क्लबले जिपलाइन सञ्चालनबाट संकलित रकमबाट वार्षिक रूपमा गाउँपालिकालाई मनोरञ्जन कर बुझाउनुका साथै जिपलाइन सञ्चालन, मर्मत–सम्भार तथा अन्य सामाजिक सेवाका क्षेत्रमा खर्च गर्नेछ । 

अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटक सीधै मनाङ जाने गरेकोमा केही समय जिपलाइनको आनन्द लिने र यसले आर्थिक गतिविधि बढ्ने मस्र्याङ्दी गाउँपालिका–४ का वडाध्यक्ष सुमन गुरुङले बताए । जिपलाइनको कुल लम्बाइ १ सय ३० मिटर रहेको छ । तीन ठाउँमा ‘ब्रेकर’ राखिएको छ । 

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अन्नपूर्ण पदमार्गको झरनामा बनेको जिपलाइनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्‍याउने बताए । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले मनाङ जाने प्रत्येक पर्यटकलाई झरनामा रोकाउन सके र मनोरञ्जन दिन सके स्थानीयको आयआर्जनमा सहयोग पुग्ने बताए । 

जिपलाइन चढ्न आउने पर्यटकहरू 
स्याँगे झरनासँगै जगत्को तातोपानी, अक्टोपस झरनालगायतका मनोरम स्थानमा घुम्न पाउनेछन् । मस्र्याङ्दी गाउँपालिका टेकेपछि पावरहाउस, सुरुङमार्ग, ड्यामसाइड, झरना, पार्क, जिपलाइन आदिको मज्जा लिन सकिने गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । मस्र्याङ्दी गाउँपालिकाको ५ लाख, अपर स्याँगे जलविद्युत् आयोजनाको २ लाखका साथै स्थानीयको श्रमदान गरी झन्डै साढे ८ लाख लागतमा ‘वाटरफल जिपलाइन’ निर्माण गरिएको हो ।