१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत ३० सोमबार ११:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मैलुङ खोलाका स्थानीयले बाँडफाँड भएको ४ वर्ष बित्दा पनि पाएनन् सेयर

Read Time : > 1 मिनेट
२०७७ चैत ३० सोमबार ११:१५:००

स्थानीय बासिन्दाका लागि बाँडफाँड गरेको सेयर चार वर्षसम्म पनि नपाएपछि स्थानीय लगानीकर्ताले जिल्ला प्रशासन कार्यालयमा छानबिनका लागि निवेदन दिएका छन् । सेयरको बिक्री–वितरणमा रहेको बन्देज हटाउन र बाँडफाँड भएको सेयरको हिसाब–किताब खोजी गर्न माग गर्दै आइतबार रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई निवेदन दिएको स्थानीय लगानीकर्ता कमल तामाङले जानकारी दिए । रसुवाको साबिक हाकु गाविसमा निर्माणाधीन ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाले स्थानीय र जिल्लावासीका नाममा बाँडफाँड गरेको सेयर ४ वर्षसम्म पनि नदिएपछि सेयर खरिद गरेका लगानीकर्ता अन्योलमा परेका हुन् । 

जिल्लाको उत्तरगया गाउँपालिका–१, मैलुङमा सञ्चालित मैलुङ खोला जलविद्युत् आयोजना ५ मेगावाटको आयोजना हो । बर्सातको समयमा ५ मेगावाट विद्युत् उत्पादन हुने भए पनि अहिले डेढ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । ०७१ सालबाट यो आयोजनाको विद्युत् उत्पादन सुरु भएको हो । ०७२ मा भूकम्पले आयोजनामा पूर्ण क्षति पुगेको र अहिलेसम्म क्षतिग्रस्त संरचनाको निर्माणसमेत हुन नसकेको बताइँदै आएको छ । समयमा विद्युत् उत्पादन गर्न नसक्दा प्राधिकरणलाई ९ करोड जरिवाना बुझाएको यो आयोजना घाटामा रहेको छ ।

आयोजनाले ८ जेठ ०७४ मा प्रभावित क्षेत्र डाँडागाउँ, राम्चे र हाकुका बासिन्दाका लागि १ लाख ८४ हजार ७२ कित्ता र जिल्लावासीका लागिसमेत सोही संख्यामा सेयर निष्कासन गरेको थियो । यसरी निष्कासन गरेको सेयर १ साउन 
०७४ मा वितरण गरिएको थियो । तर, आयोजनाको सेयर अहिलेसम्म लगानीकर्ताले किनबेच गर्न पाएका छैनन् । 

आयोजनाले स्थानीयलाई बाँडफाँड गरेको सेयर ३ वर्षसम्म किनबेच गर्न नपाइने व्यवस्था छ । तर, मैलुङ खोला जलविद्युत् आयोजनाको सेयर भने ४ वर्ष बित्दासमेत प्रमाणपत्र, नगद वा बोनस सेयर नपाएको लगानीकर्ता कमल तामाङले बताए । उनले भने, ‘सेयर ४ वर्षअघि भरेको हो, प्रचलित नियम–कानुनअनुसार सेयर तीन वर्षसम्म बिक्री गर्न नपाइने भनिएको थियो, तर तोकिएको समय बितिसक्यो, अहिलेसम्म सेयरको न प्रमाणपत्र छ, न डिम्याड खातामा जम्मा छ, केही छैन, हामी त के गर्ने, अन्योलमा प¥यौँ ।’ 

अर्का लगानीकर्ता उत्तरगया गाउँपालिका ५ का उज्ज्वल आचार्यले भने, ‘हामी मारमा परेका छौँ, लगानी गरिसकेका छौँ, कम्पनीले अहिलेसम्म केही दिएको छैन, बोनस सेयर पनि आएको छैन, अन्त कतै लगानी गरेको भए छुट्टै ब्याज आइसक्थ्यो, लगानी पनि फस्यो, हामी के गर्ने अन्योलमा पर्‍यौँ ।’ 

तामाङ र आचार्य मात्र होइन, यो आयोजनाको सेयर भरेका जिल्लाका अन्य लगानीकर्तासमेत अन्योलमा रहेका छन् । उक्त आयोजनाको सेयर अहिलेसम्म नेप्सेमा समेत सूचीकृत भएको पाइँदैन ।

किन आएन सेयर ?
आयोजना प्रमुख विनय चिपालुका अनुसार कम्पनीको सेयर निष्कासनको जिम्मा सिद्धार्थ क्यापिटलले पाएको छ । क्यापिटलको सेयर संकलन केन्द्रहरूबाट वैशाखभित्र प्रमाणपत्र वितरण गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्र र जिल्लावासीलाई सुरुमा सेयर निष्कासन गरेको भए पनि अन्य नागरिकका लागि करिब ७ लाख कित्ता सेयर निष्कासनको तयारी छ । सर्वसाधारणका लागि सेयर निष्कासन गरेपश्चात् मात्र यो कम्पनीको सेयर नेप्सेमा सूचीकृत हुनेछ । त्यसपछि मात्र स्थानीयले समेत किनबेच गर्न सक्ने उनले बताए । सर्वसाधारणलाई सेयर निकाल्न अनुमति पाइसकेको उनले जानकारी दिए ।