Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ३० सोमबार १०:३७:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्व कोरोनासँग लड्दै : तीन महोत्सव मनाउँदै चीन

Read Time : > 1 मिनेट
२०७७ चैत ३० सोमबार १०:३७:००

 विश्वमा कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा चलिरहेको छ । सिंगो विश्व नै कोरोना महामारीबाट बच्न संघर्षरत छ । युरोपियन, अमेरिका तथा एसियाका अधिकांश देशले कोरोनाबाट सुरक्षित रहन सेनिटाइजर, मास्क तथा भौतिक दूरीको नियम कडा बनाएका छन् । तर, चीनमा कोरोनाको कुनै डर छैन । शनिबार मात्रै चीनमा तीनवटा महत्वपूर्ण महोत्सव आयोजना भएका छन् । 

यस महोत्सवमा कोरोनासँग सम्बन्धित नियम लागू भएको छैन । महोत्सवमा सहभागी चिनियाँ नागरिकलाई हेर्दा सामाजिक दूरी, मास्क तथा क्वारेन्टाइनजस्ता शब्द पुरानोजस्तो भएको अनुभूति हुन्छ । समग्रमा तीनवटै महोत्सवमा ६५ हजारभन्दा बढी दर्शक थिए । तीनदिवसीय ड्र्यागन बोट महोत्सवमा १० हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको एजेन्सीहरूले जनाएका छन् । 

यसैगरी, ट्युलिप महोत्सव हेर्न ३० हजार दर्शक पुगेका छन् । संघाईस्थित विश्वचर्चित डिज्निल्यान्डको पाँचौँ वार्षिकोत्सवमा २५ हजार दर्शक आएको एजेन्सीको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार चीनमा अहिले ९० हजार संक्रमित छन् । अहिलेसम्म ८५ हजार तीन सय २९ जना संक्रमणमुक्त भएका छन् । चीनमा कोरोनाका कारण चार हजार ६ सय ३६ जनाको निधन भएको छ । 

पछिल्लो समय चीनले कोरोनाविरुद्धको रणनीति खासै कडा नबनाए पनि कतिपय नागरिक भयभीत छन् । कुनै पनि वेला कोरोनाबाट आफ्नो निधन हुन सक्ने जनाउँदै उनीहरूले सम्पत्ति परिवारको नाममा लेखाएका छन् । चीनको रजिष्ट्रेसन  विभागका अनुसार २०१९–०२० को समयमा ६० प्रतिशत चिनियाँले सम्पत्ति सन्तानका नाममा गरेका छन् । यसैबीच, संघाईका एक १८ वर्षीयले आफ्नो नाममा रहेको दुई लाख २८ हजार युआन परिवारको नाममा लेखाएका छन् ।

इरानमा १० दिन लकडाउन
इरानले चौथो लहरको कोरोना फैलिएको जनाउँदै १० दिन लकडाउन घोषणा गरेको छ । चौथो लहरको कोरोना नियन्त्रण लिनकै लागि लकडाउन जारी भएको इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अलिरेजा रेसीले बताएका छन् । उनका अनुसार ३१ मध्ये २३ प्रान्तमा लकडाउन भएको छ । यस अवधिमा स्कुल, कलेज, व्यापारिक कम्पनी तथा अफिस बन्द रहनेछन् । यसैगरी, सिनेमा तथा खेलकुद गतिविधि पूर्ण रूपले ठप्प भएको उनले बताए । अलिरेजाले धार्मिक कार्यमा संलग्न नहुन आग्रह गरेका छन् । 

इरानका राष्ट्रपति हसन रुहानीले आफ्नो देशमा चौथो लहरको कोरोना फैलिनमा छिमेकी देश इराकलाई दोषी मानेका छन् । राष्ट्रपति हसनले इराकले कोरोनामाथि नियन्त्रण नगरेका कारण नै इरानमा संक्रमित संख्या बढेको आरोप उनको छ । इरानमा अहिले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस फैलिरहेको छ । 

पछिल्लो २४ घन्टामा विश्वभरि सात लाख तीन हजार संक्रमित भएको डब्लुएचओले जनाएको छ । एक दिनभित्र ११ हजार दुई सय ७४ जना संक्रमितले ज्यान गुमाएका छन् । शुक्रबार एक दिनमा सात लाख ७२ हजार संक्रमित भएका थिए । यस दिन १३ हजारले ज्यान गुमाए । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा २४ घन्टाभित्र दुई हजार पाँच सय ३५ जना संक्रमितको निधन भएको छ । ब्राजिलपछि मृतकको संख्यामा मेक्सिको दोस्रो स्थानमा छ । मेक्सिकोमा आठ सय ७४ जनाको निधन भयो । भारतमा ८३८, पोल्यान्डमा ७४९, अमेरिकामा ७४०, रसियामा ४०२ र युक्रेनमा ३८९ जनाको निधन भएको डब्लुएचओले जनाएको छ ।