मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ चैत ३० सोमबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

६ महिनापछि प्रदेश २ सभाको बैठक बस्दै

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ चैत ३० सोमबार ०९:०७:००

झन्डै ६ महिनादेखि स्थगित रहेको प्रदेश २ सभाको बैठक सोमबार बस्दै छ । ४ कात्तिकमा चौथो अधिवेशन सकिए पनि पाँचौँ अधिवेशन अहिलेसम्म आह्वान गरिएको थिएन । सत्तारुढ र प्रतिपक्षी पार्टीभित्रको आन्तरिक विवादका कारण लामो समयसम्म संसद्को बैठक आह्वान नगरिएको र ६ महिनाभित्र अधिवेश बोलाउनैपर्ने कानुनी बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले ३० चैतमा सभाको बैठक राख्न प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले प्रदेश सभाको बैठकको आह्वान गरिए पनि बैठकअघि कार्यव्यवस्था समितिको बैठक बस्न नसेको बताए । नेकपा विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्यव्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको उनको भनाइ छ । पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलहरूसँग छलफल भइरहेको यादवले बताए । 

प्रदेश सभा गठन भएको तीन वर्षभन्दा बढी भइसक्दा पनि प्रदेश सरकारले अहिलेसम्म ४१ वटा कानुन मात्रै पास गराउन सकेको छ । प्रदेश सभामा अहिले विभिन्न नौवटा विधेयक विषयगत संसदीय समितिमा छलफलमा छन् । दुईवटा विधेयक सभामा छलफलको क्रममा रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए । ६ महिनादेखि सभा नबस्दा छलफलमा रहेका कानुन अझै पास हुन सकेका छैनन् ।