१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत ३० सोमबार ०७:५३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक पर्यटकको रोजाइमा तिलिचो

Read Time : > 1 मिनेट
२०७७ चैत ३० सोमबार ०७:५३:००

 संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल गन्तव्य बनाएर दैनिक दर्जनाैँ पर्यटक पुग्ने गरेका छन् । सामुद्रिक सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तालमा बाह्यभन्दा आन्तरिक पर्यटकहरू बढी मात्रामा पुग्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने हजारौँ पर्यटकहरू पछिल्लो समय तिलिचोसम्म पुग्ने गरेका हुन् ।

कतिपय पर्यटकहरूले गन्तव्य नै तिलिचो ताल बनाएर पनि आउने गरेका छन् । असोजदेखि पुससम्म तिलिचो पुग्ने उचित समय मानिन्छ भने फागुनदेखि वैशाखसम्म दोस्रो सिजनका रूपमा लिने गरिन्छ । अग्ला हिमशृंखला, थोरङ्ला पास, लार्के पासलगायत रीतिरिवाज वेशभूषा र गुम्बा छोर्तेन यहाँको महत्वपूर्ण स्थान हो । मनाङका ८० प्रतिशत नागरिक पर्यटन व्यवसायमा लागेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए । विश्वकै सर्वोच्च उचाइमा आफ्नो परिचय साटेको तिलिचो ताल ३ दशमलव ८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । 

पौराणिक किंवदन्तीअनुसार यस ताललाई काग भुसुन्डे नामले पनि चिनिन्छ । साथै, ताल पर्यापर्यटन, जैविक विविधता, जलीय जीवनचक्र अध्ययन गर्न पनि उपयुक्त मानिन्छ । संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमिको दूरीमा पर्छ । खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग चार घन्टाको पदयात्रापछि तिलिचो बेसक्याम्प पुग्न सकिन्छ । बेसक्याम्पमा एक रातको बासपछि झन्डै ५ घन्टाको उकालो हिँडेर तिलिचो ताल पुगिन्छ । गत वर्ष यही समयमा दैनिक २ सय पर्यटक तिलिचो पुग्ने गरे पनि यस वर्ष भने कोरोनाका कारण आन्तरिक पर्यटक मात्र मनाङ पुगेका छन् । 

आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिनादेखि मंसिर अन्त्यसम्म बढी उपयुक्त हुने र अर्को सिजन चैत–वैशाखदेखि जेठको अन्त्यसम्ममा उपयुक्त हुने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले बताउँछन् । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि र हिमशृंखलाले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गरेको छ । कष्टकर र जोखिमपूर्ण यात्रापछि तिलिचो पुगेका पर्यटकलाई स्वर्गीय आनन्द मिलेको आन्तरिक पर्यटक उज्ज्वल बास्तोला बताउँछन् ।