मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडौं
२०७७ चैत ३० सोमबार ०६:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुलुक डढेलो र आगलागीको चपेटामा : एकै दिन ३९७ ठाउँमा डढेलो, ३६ स्थानमा आगलागी

Read Time : > 2 मिनेट
यम बम, काठमाडौं
२०७७ चैत ३० सोमबार ०६:५१:००

मुलुक आगलागी र डढेलोको चपेटामा परेको छ । हिउँददेखिको खडेरी र औसत तापक्रम वृद्धिका कारण मुुलुकका धेरैजसो वनजंगलमा डढेलो लागेको छ । डढेलोबाट काठमाडौं उपत्यकाका वनजंगल पनि अछुतो रहनसकेका छैनन् । पश्चिम नेपालका तराई क्षेत्रमा डढेलो झनै फैलिएको छ ।

पछिल्लो २४ घन्टामा ४७ जिल्लाका तीन सय ९७ स्थानमा डढेलो लागेको छ भने २८ जिल्लाका ३६ स्थानमा आगलागी भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । आगलागी र डढेलाका घटनामा एकजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकाका वनजंगलमा हरेक दिनजसो डढेलो लागिरहेको छ । आइतबार भक्तपुरको सल्लाघारी जंगलमा डढेलो लागेको थियो । शुक्रबार मात्र चोभारस्थित आदिनाथ मन्दिर रहेको जंगल क्षेत्रमा डढेलो लागेको थियो । आइतबार बिहानैदेखि ललितपुरको हात्तीवनस्थित जंगलमा लागेको आगो दिउँसो मात्र नियन्त्रणमा लिइएको थियो । जंगलको वरिपरि अपार्टमेन्ट र निजी घर छन् । सहरभित्रकै जंगलमा आगलागी भएकाले मानवबस्ती जोखिममा परेका छन् । डढेलोका कारण नजिकै वनजंगलमा रहेका वन्यजन्तु जोखिममा हुन्छन् नै, नजिकैका बस्तीमा डढेलो सल्किने खतरा उत्तिकै रहन्छ । 

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी कैलालीका ३८ स्थानमा डढेलो लागेको छ । यसैगरी, सुर्खेतका ३६ डडेल्धुराका ३४ र बाँकेका ३२ स्थानमा डढेलो लागेको पोर्टलमा उल्लेख छ । प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलले वैशाख दोस्रो साता डढेलो र आगलागीका घटना झनै बढ्न सक्ने भएकाले तीनवटै तहका सरकारसँग समन्वय भइरहेको बताए । ‘पछिल्ला वर्षको तथ्यांक हेर्दा १२ वैशाखमा सबैभन्दा बढी डढेलो र आगलागीका घटना भएका देखिन्छन् । यो वर्ष त लामो खडेरीका कारण त्यसअघि नै धेरै ठाउँमा डढेलो लागेको छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘दमकल तयारी अवस्थामा राख्न भनिएको छ ।’

डढेलो मानवीय कारणले लाग्ने गर्छ । चुरोट–बिँडी खाएर ठुटो त्यत्तिकै फ्याँकिदिँदा डढेलो लागेर ठूला घटना हुने गरेका छन् । त्यसबाहेक नयाँ पालुवा र घाँसको लोभमा पनि वनजंगलमा डढेलो लगाउने गरेको पाइन्छ । यस वर्ष हिमपात भएन, पर्याप्त पानी पनि परेन । वैशाख–जेठमा ठूलो हावाहुरी चल्छ, यस्तो वेला आगलागी र डढेलाका घटना बढी नै हुने गर्छन् ।

एक वर्ष आगलागीका साढे दुई हजार घटना, ५४ जनाको मृत्यु
प्राधिकरणका अनुसार यो वर्ष मात्र आगलागीका दुई हजार पाँच सय ६ घटना भएका छन् । ती घटनामा परी ५४ जनाको ज्यान गएको छ भने तीन सय ६९ जना घाइते भएका छन् । आगलागीबाट एक अर्ब ७७ करोडको धनमाल नष्ट भएको प्राधिकरणको तथ्यांक छ । 

पछिल्लो २४ घन्टामा २८ जिल्लाका ३६ स्थानमा आगलागी भएको छ । आगलागीमा परी पाँचजना घाइते भएको प्राधिकरणको तथ्यांक छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी पर्साका पाँच स्थानमा आगलागी भएको छ । त्यसैगरी, कपिलवस्तुका चार तथा रौतहट र सर्लाहीका दुई–दुई स्थानमा आगलागी भएको प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणका अनुसार बारा, धनुषा, सप्तरी, नवलपरासी पश्चिम, बर्दिया, सुर्खेत, जुम्ला, कालिकोट, कञ्चनपुर, डडेल्धुरा, बझाङ, अछाम र बर्दियामा आगलागी भएको छ । त्यसैगरी, तेह्रथुम, मोरङ, मकवानपुर, रसुवा, खोटाङ, अर्घाखाँची, कास्की, स्याङ्जा, बाग्लुङ र गुल्मीमा पनि आगलागीका घटना भएको प्राधिकरणले जानकारी दिएको छ ।

सप्तरीको अग्निसाई कृष्णसावरण गाउँपालिकाको एक घरमा आगलागी हुँदा दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि राजविराज लगिएको छ । त्यस्तै, तेह्रथुमको छथर गाउँपालिकास्थित सल्लाघारी सामुदायिक वनमा लागेको डढेलो गोठमा सल्किँदा एकजना घाइते भएका छन् ।

 शिवपुरी जंगलको डढेलो निभाउन हेलिकोप्टर प्रयोग
आइतबार बिहान शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकोप्टर प्रयोग गरिएको छ ।बूढानीलकण्ठ नगरपालिका–२ सैलुङ जंगल क्षेत्रमा डढेलो लागेपछि सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी खसालिए पनि साँझ डढेलो फेरि सुरु भएको थियो । डढेलो नियन्त्रणका लागि नेपाली सेनाका तीनवटा दमकल दिनभर प्रयोग गरिए । तर, साँझपख फेरि डढेलो सल्किएपछि प्रहरी र सेना परिचालन गरियो । 

सुन्दरीजलको उत्तर–पूर्व क्षेत्रको जंगलमा लागेको डढेलो निभाउन निकुञ्ज प्रशासनले टोली परिचालन गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार डढेलो नियन्त्रणका लागि हेलिकोप्टरले २५ खेप पानी ओसारेको थियो । डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार नेपालमा डढेलो नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गरिएको यो दोस्रो घटना हो । यसअघि गत मंसिरमा पाथीभरास्थित जंगलमा ११ दिनसम्म डढेलो लाग्दा हेलिकोप्टरले बकेटबाट पानी बर्साएर निभाउनुपरेको थियो ।

डढेलोले फेरि बढ्यो प्रदूषण
केही दिनयता काठमाडौं उपत्यकामा कम हुँदै आएको वायु प्रदूषण फेरि बढ्न थालेको छ । वर्षासँगै दुई हप्ता लामो तुवाँलो हटेपछि वायुको गुणस्तर सूचकांक (एक्युआई) प्रतिघन्टा ३२६ पुगेको छ भने धनगढीमा २२१ छ । यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । यो आइतबार साँझ साढे ८ बजेको अपडेट हो ।

प्रतिघनमिटर हावामा रौँभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पार्टिकुलेट्स म्याटर (पिएम–२.५)लाई २४ घन्टामा औसतमा केलाउँदा भैँसेपाटी क्षेत्रमा सूचकांक ८० र रत्नपार्क क्षेत्रमा ८२.२ नाघेको छ । जबकि शनिबार यो सूचकांक भैँसेपाटीमा ५३.६३ र रत्नपार्कमा ५७.६९ मा झरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वायु गुणस्तर मापदण्डअनुसार २४ घन्टामा प्रतिघनमिटर हावामा पिएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । नेपालले यो सूचकांकलाई ४० माइक्रोग्राम तय गरेको छ ।