मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिपेश शाही काठमाडौं
२०७७ चैत ३० सोमबार ०६:२२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जसपा शीर्ष नेता आन्तरिक छलफलमा : सत्तासमीकरणबारे विवाद कायमै

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडौं
२०७७ चैत ३० सोमबार ०६:२२:००

नयाँ सत्तासमीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक छलफल सुरु गरेको छ । सत्तासमीकरणका विषयमा मतभेद भएपछि संवादहीनताको अवस्थामा पुगेका जसपाका शीर्ष नेता आइतबारदेखि छलफलमा जुटे पनि निष्कर्षमा भने अझै नपुगेको उनीहरूले बताएका छन् । 

लामो समयपछि आइतबार शीर्ष नेताको बैठक बसे पनि सत्तासमीकरणबारे कुनै निर्णय नभएको वरिष्ठ नेता राजेन्द्र महतोले बताए । ‘निर्णय गर्ने कुनै एजेन्डा नै थिएन, केही निर्णय पनि भएन,’ नेता महतोले भने, ‘सत्तासमीकरण हाम्रो प्राथमिकताको विषय नै होइन । त्यसैले छलफल हुन्छ, तर प्राथमिकतामा राखेर निर्णय हुँदैन ।’

तर, महतोले भनेजस्तो जसपाको प्राथमिकतामा सत्तासमीकरणको विषय नपरेको भने होइन । बरु पार्टीभित्रको आन्तरिक मतभेदले ठोस निष्कर्ष निस्कन कठिन भएको हो । पार्टी कार्यालयमा बसेको बैठकमा पनि नेताहरूले आ–आफ्ना धारणाहरू राखे । कांग्रेससँगको वार्तामा जसपाले आन्तरिक छलफल गर्ने बताएको थियो । 

आइतबारको छलफलमा अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरू सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी ओली सकरात्मक रहेको जानकारी गराएका थिए । ठाकुरले विगतमा आफ्ना माग सम्बोधन गराउन धेरै पटक सम्झौता भएपनि कसैले पूरा नगरेकाले यतिबेला कसैको पनि लहडमा लाग्न नहुने धारणा राखेका थिए ।

 ‘फगत राजनीतिक सम्झौता मात्रै गरेर अल्झाउने काम भइरहेको छ । यतिबेला हामीले राजनीतिक सहमति गर्दा आफ्ना माग सम्बोधन हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ,’ ठाकुरलाई उद्धृत गर्दै एक नेताले भने । उनले बैठकमा ओलीले केही माग सम्बोधनका लागि कार्यन्वयनमा नै लगिसकेकाले निर्णय गर्दा यसलाई ध्यानमा राख्नुपर्ने र एजेन्डामा सम्झौता गरेर सत्ता समिकरण लाग्न नहुने बताएका थिए । 

तर, अर्का अध्यक्ष उपेन्द्र यादवले भने राजनीतिक मुद्दा सम्बोधन गराउने नाममा ‘प्रतिगामी’ शक्तिसँग सहकार्य गर्न नहुने धारणा राखेका थिए । ‘राजनीतिक मुद्दालाई छोड्ने वा सम्झौता गर्ने भन्ने हुँदैन, तर प्रतिक्रान्तिकारी शक्तिले माग पूरा गरिदिन्छु भन्यो भन्दैमा उसैलाई सहयोग समर्थन गर्ने काम जसपाले गर्नु हुँदैन,’ यादवले भने । 

जसपाभित्र ओलीलाई समर्थन गर्ने वा कांग्रेस र माओवादी केन्द्रसँग समिकरण गर्ने भन्ने विषयमा एक मत हुन सकेको छैन । संघीय परिषद अध्यष बाबुराम भट्टराई र अध्यक्ष यादव प्रधानमन्त्री ओलीलाई प्रतिगमी भन्दै उनको विकल्पमा सरकार बनाउनुपर्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो माग सम्बोधन गराउने सर्तमा ओलीलाई नै सहयोग गर्न सकिने धारणा राख्दै आएका छन् । 

बैठकबाट बाहिरिने क्रममा अध्यक्ष यादवले ओलीकै सरकारमा सहभागी हुने कुरा असम्भव रहेको बताए । ‘असम्भव कुरा हो । प्रगितमनकारीसँग क्रान्तिकारी कहिले मिल्छ ? प्रतिगमनकारी र क्रान्तिकारी एकै ठाउँमा हुनसक्छ र ?,’ उनले भने, ‘अहिलेको सरकारमा जोन, समर्थन गर्ने, प्रतिक्रान्तिलाई सघाउने, प्रतिगमनलाई बल पु¥याउने कार्य हुँदैन ।’ 

तर वरिष्ठ नेता महतोले भने आफूले उठाएका मागहरू सम्बोधनका लागि प्रक्रियामा गइसकेको बताए । ‘हाम्रो प्राथमिकतामा सरकार होइन, मुद्दा छन् । वर्तमान सरकारले हाम्रा मुद्दा सम्बोधन गर्नका लागि प्रक्रिया नै थालिसकेको छ । हामी त्यसैमा जोड दिइरहेका छौँ,’ महतोले नयाँ पत्रिकासँग भने, ‘यसलाई बाधा पु¥याउने गरी कुनै निर्णय गरिनु हुँदैन । सत्ता समिकरणको विषय जब संसदमा प्रवेश गर्छ त्यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ ।’ 

उनले सरकार गठनको प्रक्रिया संसदबाट हुने भएकाले सडकमा कसैले आह्वान गरेकै भरमा आफूले निर्णय गर्नुपर्ने बाध्यता नरहेको तर्क गरे । महतले पाटीभित्र सबै एक ढिक्का भएर निर्णय लिने समेत दाबी गरे ।कांग्रेसले २० चैतको केन्द्रीय कार्यसमिति बैठकबाट गरेको निर्णय अनुसार आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल थाल्ने र ओलीको राजीनामा माग्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार गत शुक्रबार माआवादी केन्द्र र जसपासँग कांग्रेस सभापति शेरबहादुर देउवाले औपचारिक छलफल गरेका थिए । जसपाले पार्टीभित्र यस विषयमा छलफल गरेर निर्णय दिने भनेर देउवालाई आश्वासन दिएको छ । माओवादी केन्द्रले भने ओलीको विकल्पमा सरकार बनाउने विषयमा आफू सकरात्मक रहेको भन्दै अघि बढ्न कांग्रेसलाई हौसला दिएको छ । 

शुक्रबार भएको कांग्रेससँगको छलफलपछि जसपाले आइतबारदेखि आन्तरिक छलफल थालेको हो । तर पार्टीभित्र कोसँग सहकार्य गर्ने भन्ने विषयमा एकमत नहुँदा जसपाले कस्तो निर्णय गर्छ भन्ने चाँसोको विषय बनेको छ । तोकिएको समय भन्दा ढिलो गरी सुरु भएको आइतबारको बैठकमा कुनै निष्कर्ष ननिस्केपछि छलफललाई निरन्तरता दिने सहमति भएको छ । बैठक केही दिनसम्म निरन्तर चल्ने जसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।