मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अजित अधिकारी काठमाडौं
२०७७ चैत २९ आइतबार २२:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देहीमा पेट्रोलपम्पमा तेल खन्याउने क्रममा आगलागी

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ चैत २९ आइतबार २२:३६:००

रुपन्देहीको गैडहवा गाउँपालिका– ७ गुलरियास्थित सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा पेट्रोल खन्याउने क्रममा ट्यांकरमा आगलागी भएको छ । समयमै दमकल आएर आगो नियन्त्रण भएकाले ठूलो क्षति भने हुन पाएको छैन ।

आयल निगमको भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयबाट तेल बोकेर गएको लु.२ख २८७५ नम्बरको ट्यांकरबाट दुई र तीन नम्बरको च्याम्बरमा रहेको पेट्रोल खन्याउने क्रममा एक्कासि आगलागी भएको हो । निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार तीन नम्बर च्याम्बरमा रहेको चार हजार लिटर पेट्रोल खन्याएर दुई नम्बर च्याम्बरमा रहेको थप चार हजार लिटर पेट्रोल अभिषेक आयल सप्लायर्सको अन्डरग्राउन्ड ट्यांकीमा खन्याउने क्रममा एक्कासि आगलागी भएको थियो ।

‘आगलागीबाट ट्यांकर पूर्ण रूपले जलेको छ,’ घटनास्थलमै रहेका आचार्यले आइतबार राति १० बजे टेलिफोन सम्पर्कमा नयाँ पत्रिकासँग भने, ‘पम्पका एक कर्मचारीलाई पनि आगोको लप्काले समातेकाले सामान्य उपचारका लागि अस्पताल लगिएको छ ।’ तीन महिनाअघि रुपन्देहीमै पम्पको अन्डरग्राउन्ड ट्यांकीमा तेल खसाल्ने क्रममा ट्यांकरमा आगलागी भएको थियो । आगलागीका क्रममा आठ हजार लिटर पेट्रोल जलेको थियो ।

आइतबारको घटनामा चाँडो दमकल पुगेकाले ठूलो क्षतिबाट जोगिएको आचार्यले बताए । निगमको भैरहवा कार्यालयबाट करिब ४० किलोमिटर टाढा रहेको पम्पमा आगलागीको घटना थाहा पाउनासाथ निगमका प्राविधिक गएका थिए । ‘हाम्रा प्राविधिक कर्मचारी आएर पनि आगो निभाउन मद्दत ग¥यौँ,’ उनले भने, ‘आगो के कारणले लाग्यो भने पत्ता लागेको छैन । हामी यसको कारण खोजेर समाधान गर्न क्रियाशील हुनेछौँ ।’

एक वर्षअघिबाट नेपाली बजारमा युरो ६ मापदण्डको तेल आयात भइरहेको छ । प्रदूषण नियन्त्रणमा सघाउ पु¥याउने उच्च गुणस्तरको युरो ६ तेलको प्रज्ज्वलन क्षमता तुलनात्मक रूपमा बढी हुने गर्छ । यो तेलको ह्यान्डलिङबारे पम्पका कर्मचारी र ट्यांकरका चालकलाई उचित तालिम प्रदान गर्न नसक्दा आगलागीका घटना बढिरहेका छन् । पछिल्लो तीन महिनामा मात्रै चारवटा पम्पमा आगलागी भइसकेका छन् ।