१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत २९ आइतबार १३:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङ बजारको फर्निचर उद्योगमा आगलागी

Read Time : < 1 मिनेट
२०७७ चैत २९ आइतबार १३:५२:००

बाग्लुङ सदरमुकामस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । बाग्लुङ नगरपालिका– ३ पेन्सेनक्याम्प रोडमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा १८ लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको छ । 

आइतबार बिहान करिब २ः५० बजेको समयमा भएको आगलागीबाट फर्निचर उद्योग पूर्व रूपमा जलेर नष्ट भएको छ भने आसपासका घरहरूमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । लगातार पाँच घन्टासम्म बाग्लुङ, पर्वत र म्याग्दी गरी तीन जिल्लाका दमकलले बिहान करिब ८ बजे नियन्त्रणमा लिएको हवारीले बताए । आगो निभाउन सेना, प्रहरीका साथै बाग्लुङ, बेनी र कुश्मा नगरपालिकाका कर्मचारी तथा प्राविधिक खटिएका थिए । 

राति अचानक आगोको लप्का देखिएको र आसपासमा थाहा भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगो निभाउन स्थानीय पनि खटिएका थिए । राति नै थाहा पाएर तत्काल दमकल खोजी गरेर नियन्त्रण प्रयास भएको स्थानीय मञ्जुल शाक्य बताउँछन् । प्रहरीले एउटा दमकलबाट सम्भव नदेखेपछि म्याग्दी र पर्वतका दमकल मगाएको थियो । 

आगलागीबाट फर्निचरको १५ लाखबराबरको क्षति भएको छ भने नजिकैका डम्बरबहादुर कार्कीको घरमा दुई लाखबराबर र लालबहादुर थापाको घरमा एक लाख ५० हजारबराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।