Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत २९ आइतबार ११:२१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सीमानाका हुँदै स्वदेश फर्कने नेपालीमा संक्रमण बढ्दो

Read Time : > 2 मिनेट
२०७७ चैत २९ आइतबार ११:२१:००

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भारतीय नाका हुँदै स्वदेश फर्कने नेपालीको संख्या बढेको छ । यससँगै कोरोना संक्रमित पनि बढेका छन् । शनिबार भारतीय सीमानाका हुँदै नेपाल भित्रिएका थप तीनजना नेपालीमा कोरोना पुष्टि भएको छ । 

नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कमै एन्टिजेन पद्धतिबाट कोरोना परीक्षण गर्दा तीनजनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालगन्ज नाकामा फेला पर्ने कोरोना संक्रमितको संख्या १० पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

नेपालगन्ज नाकामा ११ चैतदेखि भारतबाट आउने नेपालीको एन्टिजेन पद्धतिमार्फत कोरोना परीक्षण हुँदै आएको छ । हालसम्म ६ हजार दुई सय चारजनाको स्वास्थ्य जाँच गरिएको डिसिसिएमसीका फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । उनले शंकास्पद एक सय नौजनाको कोरोना एन्टिजेन जाँच गर्दा गुजरात र महाराष्ट्रबाट आएका १० जनामा संक्रमण पुष्टि भएको बताए । 

शनिबार बारबर्दिया नगरपालिका–७, बर्दियाका २५ वर्षीय पुरुष, नारायण नगरपालिका– ५, दैलेखका २१ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–३, बाँकेका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको ओलीले जानकारी दिए । शनिबार फेला परेका सबैलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

यसअघि दैलेखका तीन, बर्दियाका दुई, बाँके र रोल्पाका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेख, रोल्पा र बर्दियाका एक–एकजना संक्रमित आ–आफ्नो जिल्लाको होम आइसोलेसनमा बस्ने गरी गएका छन् । बाँकी दुईजनालाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको ओलीले बताए । ‘पहिलो चरणमा फेला परेका पाँचजनालाई होम आइसोलेसनमा बस्ने गरी एम्बुलेन्समार्फत सम्बन्धित जिल्लामा पठाएका छौँ,’ उनले भने । 

१०४ संक्रमित विभिन्न आइसोलेसनमा 
बाँकेका विभिन्न आइसोलेसनमा एक सय चारजना कोरोना संक्रमित रहेको डिसिसिएमसीले जनाएको छ । कोरोना फोकलपर्सन ओलीका अनुसार भेरी अस्पतालको आइसोलेसनमा ३४ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन् । 

त्यसैगरी, नेपालगन्ज होम आइसोलेसनमा ३३ महिला २१ पुरुष गरी ५४, कोहलपुर आइसोलेसनमा चार महिला र पाँच पुरुष गरी नौ, खजुरा, बैजनाथ, राप्तीसोनारी तथा डुडुवा गाउँपालिकाको होम आइसोलेसनमा एक–एकजना कोरोना संक्रमित रहेका छन् । कोरोना पुष्टि भएका सर्वसाधारणलाई १० दिन होम आइसोलेसनमा बस्ने नियम बनाइएको छ ।

सातजनाको स्वास्थ्य गम्भीर
भेरी अस्पतालमा पिसिआर जाँच गराउँदा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ । २८ चैतमा नेपालगन्जका २१ जनामा कोरोना पुष्टि भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । भेरी अस्पतालको पिसिआर ल्याबमा परीक्षण गराएका ८० जनामध्ये २१ जनामा कोरोना पुष्टि भएको उनको भनाइ छ । दुई महिनाअघि भेरी अस्पतालको आइसोलेसनमा ८–१० जना मात्रै थिए । अहिले सक्रिय संक्रमितको संख्या ८० पुगेको उनले बताए । ‘संक्रमितको संख्या घट्दै गएपछि आइसोलेसन बन्द हुने अवस्थामा पुगेको थियो । पछिल्लो १५ दिनमा बढेर ८० जना पुगेका छन्,’ उनले भने । बाँकेका ८० संक्रमितमध्ये सातजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उनले जानकारी दिए । ‘यसैगरी, बढ्दै गए भेरी अस्पतालको आइसोलेसनले धान्न नसक्ने हुन सक्छ,’ उनले भने, ‘समयमा ध्यान नदिने हो भने अवस्था गम्भीर हुन सक्छ ।’

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भेरी अस्पतालले शनिबार पनि पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि सर्वसाधारणको सजिलोका लागि शनिबार पनि पिसिआर ल्याब सञ्चालन गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । कोरोना संक्रमण दर घटेपछि भेरी अस्पतालले पिसिआर ल्याब शनिबार बन्द गरेको थियो । ‘कोरोना संक्रमित धमाधम फेला पर्न थालेपछि शनिबार पनि पिसिआर जाँच गर्ने निर्णयमा पुगेका हौँ,’ उनले भने ।

नेपालगन्जमा छैन सजगता
पछिल्लो समय मास्क प्रयोग गर्नेको संख्या घटेको छ । नेपालगन्जको सदरलाइन, एकलैनी, घरबारीटोल, न्युरोड, लक्ष्मी सिनेमा हल रोड, धम्बोझीलगायत अति भिडभाड हुने ठाउँका व्यापारी र किनमेलका लागि जाने ग्राहकले मास्क प्रयोग गरेको देखिँदैन । सरकारले कोरोनाबाट जोगिन मास्क प्रयोग गर्न, भिडभाडमा नजान र समय–समयमा हात धुन आग्रह गरे पनि त्यसको पालना नभएको नागरिक समाजका अगुवा प्रकाश उपाध्यायले बताए । उनी भन्छन्, ‘कोरोना संक्रमण दर बढे पनि यसबाट जोगिन सर्वसाधारणले सजगता अपनाएको देखिँदैन । स्थानीय प्रशासन र सुरक्षा निकाय पनि सरकारको निर्णय कार्यान्वयन गर्न चासो दिएको देखिँदैन ।’ उनले समयमा सजगता नअपनाए ठूलो दुर्घटना निम्तिन सक्ने औँल्याए । किनमेलका लागि बजार आउनेलाई मास्क अनिवार्य गर्नुपर्ने बताए । ‘दोस्रो चरणको कोरोनाको बारेमा स्थानीय प्रशासन र सरोकारवाला निकायले बुझाउन सक्नुपर्दथ्यो, तर सर्वसाधारणलाई बुझाउन कसैले चासो दिएनन्,’ उनले भने ।