मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ चैत २९ आइतबार १०:४६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ को त्रासबीच हिमाल आरोहणको अनुमति

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ चैत २९ आइतबार १०:४६:००

सगरमाथासहित १० हिमाल आरोहणका लागि ४९ आरोहणदलको ४ सय १९ जनाले लिए अनुमति, ३४ करोड रोयल्टी संकलन

कोभिड–१९ को त्रासबीच हिमाल आरोहणको अनुमति लिनेको संख्यामा उत्साह देखिएको छ । हिमाल आरोहणको मुख्य सिजन वसन्त ऋतुका लागि शुक्रबार साँझसम्म ४९ समूहका ४ सय १९ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । 

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएका वा ७२ घन्टाको पिसिआर रिपोर्ट लिएका पर्यटकहरूका लागि क्वारेन्टिनमा बस्नुनपर्ने निर्णय गरेसँगै हिमाल आरोहणको अनुमति लिनेको संख्यामा वृद्धि भएको हो । सरकारले खोप लगाएका र ७२ घन्टाको पिसिआर रिपोर्ट लिएर आएका पर्यटकहरू सीधै घुम्न जान पाउने व्यवस्था गरेको हो ।   

सरकारले केही खुकुलो बनाउँदा आरोहण अनुमति लिनेको संख्या वृद्धि भएको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । ‘अहिले अनुमति लिएकाहरू मात्रै पनि आरोहणमा आए भने पर्यटन क्षेत्रलाई राहत मिल्नेछ,’ शेर्पाले भने । दश हिमालका लागि ४ सय १९ विदेशीले आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४९ समूहका ३ सय २९ पुरुष तथा ९० जना महिला आरोहीले अनुमति लिएका हुन् । विभागले हालसम्म १० हिमाल आरोहण अनुमतिबाट ३३ करोड ९९ लाख बढी राजस्व संकलन गरेको छ ।  

विभागबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न अनुमति लिएका छन् । सगरमाथा आरोहण गर्न २६ समूहका २ सय ४४ जना आरोहीले अनुमति लिएका हुन् । यसैगरी, सगरमाथापछि सबैभन्दा धेरै आरोहीको आकर्षण ल्होत्सेमा रहेको छ । ल्होत्से आरोहण गर्न ७ समूहका ५५ जना आरोहीले अनुमति लिएका छन् । 

अन्नपूर्ण आरोहण गर्न ४ समूहका ४४, धौलागिरि आरोहण गर्न ४ समूहका ३०, नुप्से आरोहण गर्न ३ समूहका २३ र तिलिचो आरोहण गर्न एक समूहका ८ जना आरोहीले अनुमति लिएका छन् । कोरोना महामारीका कारण गत वर्ष रोकिएको हिमाल आरोहण यस वर्ष सुरु हुन लागेकोे हो । विभागले आरोहीको मागअनुसार यस सिजनको पहिलो हिमाल आरोहण २५ फागुनमा जारी गरेको थियो । सरकारले आरोहणका लागि ४ सय १५ हिमाल खुला गरेको छ ।    

१० हिमाल आरोहण अनुमतिबाट विभागले ३३ करोड बढी राजस्व संकलन गरेको छ । सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ । 

सन् २०२१ को फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटक आएका छन् । गत जनवरीमा ८ हजार ८ सय ४७ पर्यटक आएका थिए । गत नोभेम्बरमा १९ सय ५६ र डिसेम्बरमा ४ हजार २ सय ४५ पर्यटक आएका थिए । 

गत वर्ष पनि आरोहणका लागि ४ सयभन्दा बढीले अनुमति लिएका थिए । तर, कोरोनाका कारण सबै क्षेत्र बन्द भएपछि आरोहणमा आउन पाएका थिएनन् । दुई वर्षअगाडि सगरमाथामा मात्रै ३ सय ८१ विदेशीले आरोहण गरेका थिए । एकजना आरोहणमा आउने विदेशीमार्फत २६ जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । कोरोनाका कारण ती सबै रोजगारी गुम्दै आएको छ । होटेल, रेस्टुराँ, आरोहण गाइड, शेर्पा भरिया गरेर एक सिजनमा १ लाख मानिस हिमाल आरोहणमा मात्रै प्रत्यक्ष संग्लन हुने गरेका छन् । 

आरोहणमा आउने पर्यटकले नेपाल बसाइका क्रममा ४० हजार डलरदेखि १ लाख डलरसम्म खर्च गर्ने गरेका छन् । जसमा आरोहण स्वीकृतका लागि एकजनाले ११ हजार डलर सरकारलाई राजस्व बुझाउने गरेका छन् । आरोहणमा संलग्न गाइड, शेर्पा तथा भरियाले दुई महिना काम गरेर एक वर्ष खानुपर्ने बाध्यता छ । कोरोनाका कारण एक वर्षदेखि ठप्प छ ।