१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार ०७:३८:००
Read Time : > 1 मिनेट
साहित्य

शशी लुमुम्बूलाई मन परेका पाँच कविता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार ०७:३८:००

मातेको मान्छेको भाषण मध्यरातको  सडकसित : बैरागी काइँला
कवि बैरागी काइँलाको यो कविता मलाई ज्यादै मनपरेका कवितामध्येको एक हो । जब–जब म यो कविता पढ्छु, तब–तब ममा एक प्रकारको अनौठो शक्ति सञ्चार हुन्छ । निरंकुशताविरुद्ध सशक्त आवाज उठाएको अनि संरचना, शिल्प र विचारको बेजोड संगम रहेको यो कविताले मलाई सधैँ झुम्म पारिरहन्छ । मुक्तिकामी जनताको आवाज बोलेको कालजयी कविता हो यो ।

रहीबहादुर: जसराज किराती 
गाउँसमाजका संवेदनालाई टपक्क टिपेर कविता रचना गर्ने कवि हुन् जसराज किराती । ‘रहीबहादुर’ शीर्षकको उनको यो कविताले मेरो मथिंगल हल्लाइरहन्छ । २०१४ सालमा खोटाङ, बुइपाका चारवटी दिदीबहिनीले चरम गरिबीको सामना गर्न नसकेपछि विषालु च्याउ खाएर मृत्यु वरण गरेछन् । तिनको सानो भाइचाहिँ बाँचेछ । त्यसरी बाँचेको केटोलाई समाजले नाम दिएछ, रहीबहादुर । हो, उही रहीबहादुर ठूलो भएपछि भारतको आसामतिर लागेछ । उक्त घटनाबाट संवेदित बनेका जसराजले रहीबहादुरका मृतक दुई दिदी गंगा–जमुनालाई सम्बोधन गर्दै रचना गरेको उक्त कविताले ग्रामीण समाजको चरम गरिबीको चित्रण गरेको छ । संवेदनाको जग हल्लाउने यो कविता मलाई अग्र्यानिक लाग्छ ।

दुस्मन:मनु मञ्जिल
कवि मनु मञ्जिलको ‘दुस्मन’ शीर्षकको कविता मलाई मनपरेको अर्को कविता हो । एउटा आहारिसे प्रवृत्तिको मानिसको मनोविज्ञानलाई यस कवितामा सरल ढंगमा प्रस्तुत गरिएको छ । आफ्नै मात्र राम्रो होस्, भलो होस्, तर अरूको भलो नहोस् भन्ने नकारात्मक मनोग्रन्थीबाट ग्रस्त मानिसको प्रवृत्तिको चित्रण गरेको यो कविता साँच्चै सशक्त छ । हाम्रा वरिपरि यस्ता खाले मानिस बग्रेल्ती भेटिन्छन् । ‘दुस्मन’ वास्तवमै बलशाली कविता हो । 

तिनीहरू राँके भूत होइनन् : विप्लव ढकाल
कवि विप्लव ढकालका थुप्रै कविता छन्, जसले पाठकका शरीरमा काँडा उमार्छन् । तीमध्ये मलाई उनको सबैभन्दा बढी मनपरेको कविता हो, ‘तिनीहरू राँके भूत होइनन्’ । एकदलीय निरंकुश व्यवस्थाविरुद्ध तथा न्यायप्रेमी जनताका पक्षमा लेखिएको यो कविता वास्तवमै सशक्त छ । अन्याय र अत्यचारविरुद्ध क्रान्तिको मसाल बोकेर हिँडेका योद्धालाई यस कवितामा बिम्ब बनाइएको छ र भनिएको छ, ‘तिनीहरू राँके भूत होइनन् ।’

अमिलो पसिना र बाको सपना : पूर्ण इन्फादा
पछिल्लो समय मेरो मनमा आँधी सिर्जना गरेको र मस्तिष्कलाई झंकृत गरेको कविता हो, कवि पूर्ण इन्फादाको ‘अमिलो पसिना र बाको सपना’ शीर्षकको कविता । शोषित–पीडित वर्गका पक्षमा आदर्श र विचारलाई मियो बनाएर कञ्चन कविता रचना गर्ने कवि इन्फादाको ‘बुबा’लाई केन्द्र बनाएर रचिएको यो कविताले बडो मार्मिक लय उत्पन्न गराउँछ ।