मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत २९ आइतबार ०६:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिसिक्यामेराले नेपालको गतिविधि नियाल्दै भारत

Read Time : > 1 मिनेट
२०७७ चैत २९ आइतबार ०६:४६:००

दशगजाबाट झन्डै २० मिटर दक्षिणमा ३०–४० फिट अग्लो टावर खडा गरी सिसिक्यामेरा जडान

भारतले नेपालको शान्ति, सुरक्षालाई चुनौती दिँदै दशगजामै सिसिक्यामेरा जडान गरेको छ । दशगजामा हुने आपराधिक गतिविधिलाई नियाल्न सिसिक्यामेरा जडान गरिएको भारतीय पक्षले दाबी गरेको छ । तर, सिसिक्यामेराको क्षमता पाँच सय मिटरसम्मको गतिविधि नियाल्न सक्ने रहेको नाम उल्लेख नगर्ने सर्तमा एक भारतीय अधिकारीले जानकारी दिए । 

भारतीय सुरक्षा अधिकारीको भनाइलाई आधार मान्ने हो भने भारतले दशगजामा जडान गरेको सिसिक्यामेराको सहायताले नेपालगन्ज भन्सारसम्म हुने गतिविधि भारतीय पक्षले रुपइडिहामा बसेर गर्न सक्नेछन् । भारतीय पक्षले दशगजाबाट झन्डै २० मिटर दक्षिणमा ३०–४० फिट अग्लो टावर खडा गरी त्यसमा सिसिक्यामेरा जडान गरेको छ । 

सिसिक्यामेराको बारेमा भारतीय पक्षले कुनै औपचारिक जानकारी गराएको छैन । भारतीय पक्षले दशगजामा हुने गतिविधि नियाल्न सिसिक्यामेरा जडान गर्न लागेको भन्ने अनौपचारिक सूचना पाएको एक सुरक्षाकर्मीले बताए । उनका अनुसार, सिसिक्यामेराबाट नेपालगन्ज भन्सारसम्मको गतिविधि भारतले हेर्न सक्नेछ । ‘भारतले नेपालको सहमतिविना दशगजामा आफूखुसी सिसिक्यामेरा जडान गरेको छ । यसले नेपालको शान्ति सुरक्षामा चुनौती थपिएको छ,’ उनले भने । 

सीमानाकामा कुनै पूर्वाधार निर्माण गर्नुभन्दा पहिले दुई देशबीच सहमति हुनुपर्छ । दशगजामा गतिविधि सञ्चालन गर्दा दुवै देशलाई कुनै असर नपर्ने गरी सञ्चालन गर्ने दुई देशका सुरक्षा अधिकारीबीच निर्णयसमेत भएको छ । तर, भारतीय पक्षले नेपालको सुरक्षालाई चुनौती दिँदै अन्तर्राष्ट्रिय मापदण्डविपरीत नाकामा सिसिक्यामेरा जडान गरेको छ । दशगजामा जडान भएका सिसिक्यामेराको सञ्चालन र रेखदेख भारतको लखनउमा रहेको एसएसबीको कार्यालयले गर्ने भएको छ । त्यस्तै, केन्द्रस्थित दिल्लीमा रहेको एसएसबीको मुख्यालयले त्यसको अनुगमन गर्ने बताइएको छ । 

स्थानीय प्रशासन अनभिज्ञ
भारतीय पक्षले दशगजानजिकै सिसिक्यामेरा जडान गरेको कुनै पनि जानकारी प्रशासन कार्यालयमा नआएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले दुई देशको सिमानामा सिसिक्यामेरालगायत सुरक्षामा असर पर्ने अन्य कुनै संरचना निर्माण गर्न नमिल्ने बताए । यस विषयमा भारतीय पक्षसँग जानकारी लिने बताउँदै उनले दशगजानजिकै सिसिक्यामेरा जडान गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताए ।

‘भारतले दशगजानजिकै सिसिक्यामेरा जडान गरेको हो भने यो सरासर अन्तर्राष्ट्रिय कानुनविपरीत हो । यो या त्यो बहानामा भारतले दशगजानजिकै सिसिक्यामेरा जडान गर्न पाउँदैन,’ उनले भने, वास्तविकता बुझेर यस विषयमा भारतसँग कुरा राख्छौँ । हो भने विरोध गरेर हटाउन लगाउँछौँ ।’