मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ चैत २८ शनिबार १०:१३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

संकटा उपाधिका लागि अफ्रिकनविरुद्ध खेल्दै

१९औँ आहारारा गोल्डकप  नयाँ विजेताको प्रतीक्षा

Read Time : > 1 मिनेट
२०७७ चैत २८ शनिबार १०:१३:००

संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसनबीच शनिबार १९औँ आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तका लागि प्रतिस्पर्धा हुँदै छ । यी दुवै प्रतिद्वन्द्वी पहिलोपटक फाइनलमा प्रवेश गरेका हुन् । यस कारण १९औँ संस्करणमा नयाँ विजेता निस्कनेछ । दुवै टोली पहिलोपटक उपाधि उचाल्न आतुर छन् ।

फाइनल पुग्नुअघि संकटाले क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दी र सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गरेको थियो । यसैगरी अफ्रिकन एसोसिएसनले क्वाटरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र र सेमिफाइनलमा नेपाल पुलिस क्वबलाई निराश पार्दै संकटाविरुद्धको उपाधि भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पाउनेछन् । 

युवा खेलाडीले भरिएको संकटा
फाइनलअघि शुक्रबार आयोजित प्रि–पोस्ट म्याच कन्फरेन्समा प्रतिस्पर्धी टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने दाबी गरेका छन् । घरेलु नकआउट फुटबल प्रतियोगितामा दुवै टोलीले पहिलोपटक एकआपसमा प्रतिस्पर्धा गर्दै छन् । संकटाका प्रशिक्षक सल्यान खड्गीले फाइनलको रणनीतिबारे खुलेर बताउन चाहेनन् । विपक्षीको खेल आफूहरूले देखेका कारण उपाधि जित्न सोहीअनुसार रणनीति बनाएको प्रशिक्षक खड्गीले बताएका छन् । 

‘हामीले विपक्षी टोलीका सबै खेल हेरेका छौँ, फाइनलमा हाम्रो योजना फरक छ,’ प्रशिक्षक सल्यान भन्छन्, ‘टोलीमा युवा खेलाडीले भरिएको र उनीहरूमा जोस बग्लै छ ।’ 

अघिकांश खेलाडी युवा रहेकाले मिहिनेत गरेरै उपाधि आफ्नो पक्षमा पार्ने गरी मैदानमा प्रस्तुत हुने उनको भनाइ छ । ‘उपाधि जित्न धेरै मिहिनेत गर्नुपर्छ साथै दर्शकको साथसमेत रहँदा फाइनलमा विपक्षीलाई दबाबमा राख्ने योजना छ,’ खड्गीले भने ।

फाइनलमा थप मिहिनेत
अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले उपाधिका लागि मिहिनेत गर्ने बताए । उपाधि उचाल्नका लागि कठिन रहेकाले फाइनलमा उत्कृष्ट प्रदर्शन हुने उनेको भनाइ छ । ‘अहिलेसम्म हामीले उत्कृष्ट खेल पस्किएका छौँ, फाइनलमा योभन्दा बढी मिहिनेत गर्नुपर्छ,’ अफ्रिकन टोलीका प्रशिक्षक बोरिसले भने, ‘यो प्रतिष्ठित प्रतियोगिता भएका कारण उपाधि जित्न हामी उत्कृष्ट प्रदर्शन गछौँ ।’ पोखराको यात्रामा सुरुको लक्ष्य फाइनल र त्यसपछि उपाधि जित्ने रहेको प्रशिक्षक बोरिसले जनाए । ‘अहिले हाम्रो एउटा लक्ष्य पूरा भएको छ, अब दोस्रो लक्ष्य प्राप्त गर्न आतुर भएका छौँ,’ उनले भने । 

दुवै टोलीमा उच्च मनोबल
संकटाका कप्तान सरोज दाहालले उच्च मनोबलका साथ मैदान उत्रने र उपाधि जित्नैका लागि प्रतिस्पर्धा गर्ने बताए । ‘फाइनलमा जसले धेरै मिहिनेत र गल्ती गर्दैनन्, उपाधि उसले नै जित्छ,’ दाहालले भने । अफ्रिकन रुट्सका कप्तान डे साल्भियोले उपाधि उचाल्ने अवसरलाई गुम्न नदिने जनाए । नेपालको घरेलु फुटबलकै बलिया टोली पुलिसलाई पराजित गरेर फाइनलमा पुगेको अफ्रिकन रुट्सका खेलाडीहरूको आत्मबल निकै उच्च रहेको उनले बताए । ‘हामी फाइनलमा मैदानमा विपक्षीको खेल हेरेर रणनीति बनाउँछौँ,’ उनले भने । प्रतियोगितामा ए डिभिजनका क्लब, मोफसल र आयोजक सहारा गरी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।