मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ फाल्गुण ४ शनिबार ०६:४१:००
Read Time : > 5 मिनेट
साहित्य

कोरियानाको विषयभन्दा स्वाद महत्वपूर्ण हो : नारायण वाग्ले

Read Time : > 5 मिनेट
२०७५ फाल्गुण ४ शनिबार ०६:४१:००

पत्रकार नारायण वाग्लेको पहिलो गैरआख्यान ‘कोरियाना कफी गफ’ भर्खरै बजारमा आएको छ । केही दिनको कोरिया बसाइलाई सन्दर्भ बनाएर उनले यो किताब लेखेका छन् । यसअघि पल्पसा क्याफे र मयूर टाइम्स नामक उपन्यास लेखिसकेका वाग्ले यतिखेर कान्तिपुर दैनिकमा प्रधान सम्पादक छन् । ‘कोरियाना कफी गफ’को सेरोफेरोमा रहेर वाग्लेसँग नयाँ पत्रिकाका रोहेज खतिवडाले गरेको कुराकानी :
 ‘कोरियाना कफी गफ’मार्फत तपाईंले आफ्ना पाठकलाई दुईवटा सप्र्राइज दिनुभयो । पहिलोचाहिँ निकै वर्षसम्म तेस्रो उपन्यास आउनै लाग्यो भनिरहनुभयो । र, उपन्यासभन्दा पहिले नै यो पुस्तक लिएर आउनुभयो । कोरियानाले उपन्यासलाई कसरी उछिन्यो ?
गुड क्वइसन (छोटो हाँसो) । उपन्यास लेख्दालेख्दै चित्त बुझिरहेको थिएन । कति डिलिट गरेँ । पात्रहरूको नामकरण र प्लटको पुनर्संरचनामा अल्मल्लिइरहेका वेला कोरियाको अनुभवले बल दियो । कलम छिटोछिटो यसमा सार्न लगायो । कोरियामा मैले जे अनुभव गरेँ, त्यो नभएको भए म अहिले पनि उपन्यासकै खेस्रामा खसखस खसखस खोस्रिरहेको हुन्थेँ । बीचमा यो आइपुग्यो र यसैले जित्यो । जंगलको बाटोमा हाँगाहरू पन्छाउँदै हिँडिरहेका वेला कुनै बाटोमा हाँगाहरू सजिलोसँग पन्छियो भने छिटो हिँडिन्छ । यसमा चाहिँ मैले हाँगाहरू सजिलो गरी पन्छाउन सकेँ । त्यसैले यो किताब छिटो आयो । 

 दोस्रो सरप्राइज, किताबको नाममा कफी गफ देखेपछि तपाईंको पुरानो स्तम्भ कफी गफमा छापिएका लेखहरूको संगालो अथवा त्यस्तै फुटकर लेखहरूको संगालो हो कि भन्नेजस्तो भएको थियो । तर, त्यस्तो होइन रहेछ । कोरियानाको पछाडि कफी गफ किन जोड्नुभएको ?
कफी गफ मेरो शैली हो । फुटकर रचनाका रूपमा मैले धेरै वर्ष लेखेँ । आख्यानको शैलीमा गैरआख्यान लेख्नु मेरो कफी गफको शैली हो । कोरियाना त्यही शैलीमा लेखिएको हो, त्यसैले कफी गफ हो । यो शैलीसहितको शीर्षक हो । 

 आख्यानको शैलीमा गैरआख्यान ? यो किताबको विधा खासमा के हो त ?
यस्तो विधा चलेकै छ । सजिलो भाषामा भन्दा यो गैरआख्यान हो । तर, गैरआख्यान भन्नेबित्तिकै एकदमै गहु्र्रँगो प्राज्ञिक पुस्तक भन्ने सोच छ । त्यो जरुरी छैन । गैरआख्यान पनि सिर्जनशील विधा हो । विभिन्न लेखकले पुष्टि गरिसकेका छन् । खासमा सिर्जनात्मक गैरआख्यान नै कफी गफ होे । नेपालमा पनि यस्तो लेखन प्रशस्तै भएको छ । जारी छ । संस्मरण, निबन्ध, नियात्राजस्ता लेखन यही नै हो । कसरी लेख्ने भन्नेचाहिँ लेखकको मौलिक शैलीमा भर पर्छ । एउटा लेखकले लेख्ने र अर्को लेखकले लेख्ने उस्तै भयो भने त भएन नि त ।

 त्यसो भए यो संस्मरणको किताब हो ?
संस्मरण भनेर यसलाई ज्यादै साँघुरो वा फराकिलो बनाउन म सक्दिनँ । मेरो शैली संस्मरण होइन । मेरो शैली कफी गफ हो । यसमा निबन्ध पनि हुन्छ, नियात्रा पनि हुन्छ र संस्मरण पनि हुन्छ । साथै, यसमा आख्यानात्मक लेखन हुन्छ । 

 तपाईंले शब्दहरूसँग रमाइलो खेल खेल्नुभएको हो ?
शब्द हाम्रो मुख्य हतियार हो । हतियार चलाउन जानेन भने सिकारी जंगल गएको कुनै प्रयोजन छैन । सिकारीले कति दिन लगाएर हतियार तयार गर्छ, धार निकाल्छ, तिखार्छ, बनाउँछ । उसलाई हतियारको माया हुन्छ । लेखकले शब्दलाई माया गर्छ । वाक्यलाई माया गर्छ । शैलीलाई माया गर्छ । म हरेकपल्ट नयाँ केही लेख्दा शब्दहरू कसरी चलाउने भन्ने सोच्छु । मसँग कथा हुन्छ, त्यसलाई कसरी लेख्ने भनेर हरेकपटक सोच्छु । कथा त सबैसँग हुन्छ, तर कुन शब्दमार्फत, कस्तो शैलीमार्फत अभिव्यक्त गर्ने भन्नेले नै मेरो शैली निर्माण गर्छ । 

 लेखनलाई धेरै पोलिस गर्दा धारिलो नहोला कि भन्ने दबाब हुँदैन ?
धारिलो भनेको कस्तो ? फूलको धारले रेटेको भन्ने त गीतै छ नि । मैले रेट्नेचाहिँ फूलको धारले हो । म निःशस्त्र र निःशब्द हुन चाहन्छु । थोरैभन्दा थोरै लेखेर धेरै पढाउन सकियोस् । धार पाठकले आफूअनुकूल महसुस गर्छन् । कोरियाना कति पाठकहरूले एक रातमा सकेँ, दुई रातमा सकेँ भनिरहेका छन् । मैले पाठकको रात उद्वेलित गर्न सकेँ भने त्यो मेरा लागि सफलता हो । म मेरा पाठकलाई रक्ताम्य पार्न चाहन्नँ । कसैले मलाई अँगालो मार्न चाहन्छ भने कुइनाले नठेलोस् । 

 किताबमा तपाईंले कोरियाबाट नेपालको सम्झना गर्नुभएको छ, त्यत्तिकै कोरियाली राजनीतिको चर्चा पनि गर्नुहुन्छ । केही मानिसको चर्चा पनि गरिरहनुहुन्छ, कोरियाली साहित्यको कुरा पनि बरोबर गरिरहनुहुन्छ । यसको मुख्य विषयचाहिँ के हो ?
मैले के लेख्न खोजेको हुँ भन्नु बडप्पन हुन्छ । पाठकले के पढिरहेका छन् भन्नेचाहिँ अहं कुरा हो । एकजना प्रिय लेखक साथीले भने यो सिंगो किताब नै एउटा कविताजस्तो लाग्यो । यो मेरा लागि एकदमै ठूलो कम्प्लिमेन्ट हो । एउटा किताब एउटा कविताको तरिकाले पढियो भने लेखकका लागि त्यो सबैभन्दा ठूलो सन्तुष्टि हो । अर्का एकजना प्रिय मित्रले भने, ‘मैले दश प्रतिशत पनि नपढी कुनै पुस्तक समीक्षा गर्छु भनेर निर्णय गरेको छैन, तर यसमा धर पाइनँ । म समीक्षा गर्छु नै । यो लेखक एकदमै धेरै न्यारेटिभ भन्न खारिएर आयो र दार्शनिक बन्यो ।’ एउटा साथीले कविताको रूपमा पढ्यो, अर्को साथीले दर्शनको रूपमा पढ्यो । त्यसकारण यसको विषयभन्दा पनि यसको स्वाद महत्वपूर्ण कुरा हो । त्यसैले कोरियाना एउटा अनुभव हो ।

 तपाईंको पहिलो उपन्यास पल्पसा क्याफे निकै लोकप्रिय भयो । त्यसपछि मयूर टाइम्स आयो तर पल्पसा क्याफेको ठाउँमा पुग्न सकेन । यो किताब लेख्दा पल्पसा क्याफेको सफलताको दबाब झेल्नुभयो कि भएन ?
दबाब झेलेँ मैले । पल्पसा क्याफेमा एउटा शैली वा बान्की विकसित थियो । त्यो अबोध थियो । मयूर टाइम्स मैले अलि हतारिएर गरेको थिएँ । त्यो धेरै दबाबमा प¥यो । पल्पसा क्याफेको अबोधपनको दबाबमा मयूर टाइम्स पस्यो, फस्यो । त्यहाँबाट निक्लिन मलाई अलि गाह्रो भयो । फेरि मैले कुनै कृत्रिम बाटो हिँड्न चाहिनँ । आफ्नै क्षमताअनुसारको बाटो हिँड्न चाहेँ । म त्यो लेख्न थालेँ, जुन लेख्दा आफैँलाई आनन्द आओस् । त्यसबीचको दबाबको यात्रा झेल्ने अचुक दबाईको रूपमा म आफ्नै बान्कीमा फर्कें । त्यो कफी गफ हो । कफी गफ नै पल्पसा क्याफेको जन्मघरजस्तो पनि हो, त्यो आख्यान थियो । कफी गफचाहिँ गैरआख्यान हो । कोरियानामार्फत कफी गफमा केही प्रयोग गर्दै मेरो लेखनको मूल घरमा फर्केको हुँ । 

 तपाईंले भन्नुभयो, कोरियाना विषयभन्दा पनि अनुभव हो । अनि भन्नुभयो, म आफू सन्तुष्ट हुने गरी यो किताब लेखेँ । एउटा लेखकले किताबमार्फत वा लेखमार्फत एउटा पाठकलाई केही भन्न खोज्दैन ?
खोज्न जरुरी छ । मैले यो भन्न खोजेको हुँ भन्न जरुरी छैन । पाठकमाथि त्यसरी हमला गर्नु हुँदैन । म गाइडबुक तयार गर्न सक्दिनँ । टेक्स्टबुक लेखेपछि फेरि गाइडबुक लेख्नुपर्दैन । सिर्जनात्मक लेखन त्यसवेला सफल हुन्छ, जतिवेला सिर्जनात्मक पाठक पनि हुन्छ । 

 कोरियाली कवि शिवा रिउको कुरा निकै गरिरहनुहुन्छ । शिवा रिउसँग तपाईंको सम्बन्ध कसरी बन्यो ?
शिवा रिउ कोरियाका एकदमै लोकप्रिय कवि रहेछन् । अरू लेखकले भन्दा उनलाई रकस्टार भन्छन् । उनका कविता लाखौँ प्रति बिक्दा रहेछन् । उनी नेपाल आइरहने रहेछन् । त्यही क्रममा उनले पल्पसा क्याफे अंग्रेजीमा पढेछन् । त्यसपछि उनले आफ्नो प्रकाशकलाई यो किताब अनुवाद गरेर छापौँ भनेछन् ।

त्यसपछि नेपाल आउँदा मसँग भने, ‘मैले यति गर्ने दुस्साहस जुटाएँ । मलाई यो किताब अनुवाद गरेर प्रकाशन गर्ने अनुमति दिनुस् ।’ त्यसपछि मेरो प्रकाशक नेपालय र कोरियाको फरेस्ट अफ लिटरेचरबीच किताब छाप्ने सहमति भयो र छापियो । त्यसपछि एउटा साहित्य सम्मेलनमा म कोरिया गएँ । त्यहाँ पनि भेट भयो । तीनपल्टजति उनीसँग भेट भएको छ । 

उनको कोरियाली अनुभव मैले उनका कवितामार्फत बुझ्न पाएँ । त्यो नेपाली अनुभवभन्दा फरक छैन । नेपाली हृदयलाई पनि उत्तिकै तरंगित बनाउने किसिमका छन् भनेर मैले उनको चर्चा गरेको छु । उनका कवितामार्फत मैले कोरिया बुझ्न पाएँ । कुनै ठाउँबारे साहित्यले पनि बुझाउँछ, पत्रिकाको शीर्षकले मात्र बुझाउँदैन । त्यसरी नै शिवा रिउका कविताले बुझाउँछन् । एक हिसाबले उनका कविता कोरियाली समाज नियाल्ने मेरा गाइड हुन् । त्यसैले उनको प्रसंग यो किताबमा आइरहन्छ । 

 कविको कुरा ग-यौँ । तपाईंको लेखनमा पनि कविताको स्वाद आउँछ भन्ने अघि पनि चर्चा ग-यौँ । तपाईंको कविता नछापिएको वर्षौं भयो । लेखनमा कविता तत्व कसरी मिसाइराख्नुहुन्छ ?
कविता नलेख्ने कुनै लेखक हुँदैन । प्रेममा नपरेको कुनै मान्छे हुँदैन । जीवनमा प्रेममा परेर, हन्डर खाँदै मान्छे जान्छ । लेखक पनि कविताकै हन्डर खाँदै, कवितामार्फत नै हुर्किँदै, लड्दैपढ्दै, उभिँदै, तंगिँदै जाने भएकाले कविता प्रेमजस्तै हो । जसरी जीवनमा खारिन प्रेमको बाटो हिँडिन्छ, त्यसरी नै लेखकहरू खारिनलाई कविताको बाटो हिँड्छ । जसरी मानिसको जीवनमा प्रेम टुट्दैन, त्यसैगरी लेखकको जीवनमा कविता टुट्दैन । कविताविहीन लेखक हुँदैन । कविताविना लेखक शक्तिशाली हुँदैन । त्यसैले म पनि कविताबाट पर छैन । 

 किताब लेखिरहँदा आख्यानको शैलीले गैरआख्यानको सामथ्र्य कमजोर हुन्छ कि भन्ने भएन ?
यो गैरआख्यानलाई बुझ्ने हाम्रो धारणा पूर्वनिर्धारित भएर हो । गैरआख्यानलाई सधैँ एउटै धारमा, एउटै धारणामा राखिरहनुपर्छ भन्ने छैन । गैरआख्यानमा पनि धेरै प्रयोग गर्न सकिन्छ । प्रयोगविना त लेखक हुन सकिँदैन । लेखकले त दायरालाई आफ्नो नियन्त्रणमा ल्याउने हो । 
यसमा स्वाद मात्रै आख्यानको हो, किताब त गैरआख्यान नै हो । यसको शैलीचाहिँ कफी गफ हो । 

 तपाईंको उपन्यासभन्दा छिटो कोरियाना पाठकको हातमा पुग्यो । उपन्यासको प्रतीक्षा त भइरहेकै छ । अब उपन्यास लेखनको टेबलमा कहिलेदेखि बस्नुहुन्छ ?
म अहिले पूर्णकालीन पत्रकार हुँ, एउटा ठूलो पत्रिकाको जिम्मेवारी छ । शब्दहरूसँगको यात्रामा त दैनिक छु, कथा मभित्र हुरिनलाई मैले आफ्नै संघर्ष बढाउनुपर्छ । देशकाल, परिस्थितिसँग हरेक दिन पत्रिकाको द्वन्द्व छँदै छ । आफ्नो कथा, आफ्ना पात्रहरूसँगको द्वन्द्व पनि छ । ती पात्रहरूलाई न्याय दिनु पनि पर्नेछ । प्रसवकाल अलि लामो होला, तर मैले कविताको शक्तिले त्यहाँका पात्रलाई बाँधिरहनसकेँ भने कुनै न कुनै दिन त्यो बाहिर निस्किन्छ ।