१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत २८ शनिबार ०८:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नौ वर्षीया बालिकाको बलात्कार प्रयासपछि कर्णालीमा बगाएर हत्या

Read Time : > 1 मिनेट
२०७७ चैत २८ शनिबार ०८:४०:००

बलात्कार प्रयास गर्दा इन्कार गरेपछि ढुंगामा पछार्दा मूर्छित भएकी बालिकालाई आरोपीले मुगुकर्णाली नदीमा बगाएर हत्या गरेको प्रहरीको भनाइ

मुगुकर्णाली नदीमा मृत फेलापरेकी सोरु गाउँपालिका– ९ कालै गाउँकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि हत्या भएको खुलेको छ । बालिका लक्ष्मी सोरु गाउँपालिका– ८ तारानीमा बाबु सिद्धिलाल चौलागाईंसँग बस्दै आएकी थिइन् । सोही ठाउँका २० वर्षीय प्रवेश रावलले २१ चैतमा बलात्कारको प्रयासपछि लक्ष्मीको हत्या गरेर नदीमा फालेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी हत्या आरोपी रावललाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार रावलले २१ चैतको अपराह्न सवा पाँच बजेतिर शौच गर्न घरबाट करिब पाँच सय मिटर टाढा घाट भन्ने स्थानमा गएकी बालिकालाई बलात्कारको प्रयास गरेका थिए । तर, बालिकाले प्रतिकार गरेपछि धकेलेर ढुंगामा पछार्दा उनी  मूर्छित भएकी थिइन् । मदिरा सेवन गरेका रावलले त्यसपछि नजिकै रहेको मुगुकर्णाली नदीमा बालिकालाई बगाइदिएका थिए । 

२१ गते बेलुकीबाटै बालिकाको खोजी भए पनि फेलापरेकी थिइनन् । २३ चैतमा माछा मार्न गएका स्थानीयले नदीको बीचमा अड्किएको अवस्थामा उनको शव फेलापारेका थिए । घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक नरेश विकले बालिकाको शव भेटिएको स्थानभन्दा केही माथि चाउचाउका दुई खोल, बालिकाको निलो रङको एक जोर चप्पल बरामद भएको जानकारी दिए । बालिकाका बुबा सिद्धिलाल व्यापारका सिलसिलामा जिल्लाबाहिर छन् । 

स्थानीय विद्यालयमा दुई कक्षामा अध्ययन गर्ने बालिकाको पत्तो नलागेपछि आफन्तले प्रहरीलाई समेत जानकारी गराएका थिए । प्रहरी र स्थानीय खोजीमा लागेका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २४ गते रावललाई नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट दाजु धनराज चौलागाईंले बलात्कारको प्रयासपछि बहिनीको हत्या भएको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए । बालिकाको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । थप अनुसन्धानका लागि भिसेरा र भजाइनल स्वाब विधि–विज्ञान प्रयोगशाला वा नास्टमा पठाइने प्रहरीले जनाएको छ ।