मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत २८ शनिबार ०६:१०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खोप आपूर्तिमा सहजीकरण गरिदिन भारतीय विदेशमन्त्रीसँग आग्रह 

Read Time : > 2 मिनेट
२०७७ चैत २८ शनिबार ०६:१०:००

कोभिड– १९ विरुद्धको कोभिसिल्ड खोप आपूर्ति ढिलाइ भएपछि सरकारले भारतसँग कूटनीतिक पहल थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी डा. एस जयशंकरलाई शुक्रबार अपराह्न टेलिफोन संवाद गरी १० लाख डोज कोभिसिल्ड खोप आपूर्तिमा सहजीकरणका लागि आग्रह गरेका छन् । 

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालले खरिद गरेको १० लाख थान कोभिसिल्ड खोप आपूर्तिका लागि सहजीकरण गर्ने आश्वासन दिएका छन् । उनले कोभिड महामारीविरुद्ध प्रतिकार्यका लागि नेपाललाई खोप आपूर्ति तथा अन्य सहयोग गर्ने वचन दिएका हुन् । दुई मन्त्रीबीच माघमा दिल्लीमा भेटवार्ता भएको दुई महिनापछि टेलिफोन संवाद भएको हो । 

पटक–पटक पत्राचार गर्दा पनि भारतको सिरम इन्स्टिच्युट इन्डियाबाट खोप नआएपछि परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक पहल गरेका हुन् । परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले टेलिफोन संवादका लागि दिल्लीस्थित भारतीय परराष्ट्र मन्त्रालयको उत्तर डिभिजनसँग समन्वय गरेको थियो । ‘टेलिफोन संवाद मुख्य रूपमा कोभिड महामारीसँग जुध्ने विषयमा सहकार्य तथा भारतबाट खोप ल्याउने विषयमा केन्द्रित थियो, भारतीय विदेशमन्त्रीले खोप आपूर्तिका लागि सहजीकरण गर्ने वचन दिनुभएको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नयाँ पत्रिकासँग भनिन् । नेपालले खोपको भुक्तानी अग्रिम रूपमा पठाइसकेको छ । तर, खोप नआउँदा नेपालमा खोप अभियान नै प्रभावित बन्न पुगेको छ । 

खोप आपूर्तिमा सहजीकरण गर्ने विषयमा छलफल भए पनि कहिले आपूर्ति हुने भन्ने अझै यकिन भएको छैन । भारतले नेपाललाई अनुदानमा दश लाख डोज खोप उपलब्ध गराएको छ भने नेपालले २० लाख डोज खोप खरिद गरेको छ । खरिद गरेकोमध्ये सिरमबाट १० लाख डोज खोप ल्याउन बाँकी छ । खोप दिन सिरमले ढिलाइ गरिरहेका वेला भारतीय विदेशमन्त्रीले सहजीकरण गर्ने आश्वासन दिएका हुन् । विगतमा भारत सरकारले सहजीकरण गरेपछि सिरम इन्स्टिच्युटले सहुलियत दरमा नेपाललाई खोप उपलब्ध गराएको थियो । तर, बाँकी खोप कहिले आपूर्ति हुन्छ भन्ने अझै यकिन छैन । परराष्ट्रमन्त्रीद्वयको कुराकानीमा पनि खोप आपूर्तिको समयसीमाबारे छलफल नभएको परराष्ट्र स्रोतले बतायो । 

‘उहाँ (परराष्ट्रमन्त्री)ले समकक्षीलाई उच्च जोखिममा रहेका जनतालाई खोपको दोस्रो डोज निरन्तर लगाउन खोप आपूर्तिमा सुगमताका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध गर्नुभयो,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतका परराष्ट्रमन्त्रीले उहाँ (ज्ञवाली)लाई खोपको आपूर्तिसहित महामारीविरुद्ध लडाइँमा भारत सरकारले निरन्तर सहयोग गर्नेमा आश्वस्त तुल्याउनुभएको छ ।’ सुरुमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकर र चिनियाँ समकक्षी वाङ यीलाई अनुदानमा उपलब्ध गराउन तथा खरिदका लागि सहजीकरण गर्न अनुरोधसहितको चिठी पठाएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले ६० लाख नेपालीका लागि एक करोड २० लाख डोज खोप खरिदका लागि सिरम इन्स्टिच्युटसँग सहजीकरणका लागि भारतलाई आग्रह गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले खोपकै विषयमा चिनियाँ समकक्षी वाङसँग टेलिफोन गरेपछि चीनबाट आठ लाख थान खोप उपलब्ध भएको थियो । खोपकै विषयमा माघ पहिलो साता भारत भ्रमणका वेला परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी जयशंकरसँग कुराकानी गरेका थिए । त्यसपछि भारतबाट अनुदानमा १० लाख र खरिद गरेको १० खोप ल्याइएको थियो । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप बेग्लै उपलब्ध गराएको छ । नेपालले २० लाख डोज खरिदका लागि सिरम इन्स्टिच्युटलाई भुक्तानी गरिसकेकोमा १० लाख डोजको आपूर्ति हुन बाँकी छ । 

टेलिफोन संवादपछि परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा दुई पक्षबीच कोभिड– १९ महामारीसँग लड्ने गहन प्रयासबारे छलफल भएको उल्लेख छ । ‘परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड– १९ महामारीविरुद्धको लडाइँमा भारतले गरेको सहयोग र विशेषगरी दश लाख डोज कोभिसिल्ड खोप उदारतापूर्वक उपहार प्रदान गरेकोमा भारत सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । 

भारतले नेपाललाई ८ माघमा अनुदानका रूपमा १० लाख डोज कोभिसिल्ड खोप हस्तान्तरण गरेको थियो । उक्त खोप कोभिड महामारीका वेला अग्रमोर्चामा खटिएकालाई लगाइएको थियो । उनीहरूलाई पहिलो चरणको खोप लगाएको पनि दुई महिना भएको छ । सरकारले करिब ७२ प्रतिशत नेपालीलाई कोभिडको खोप लगाउन मिल्ने भन्दै यसका लागि करिब ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेअनुसार बजेटको बन्दोबस्त गरिसकेको छ । 

नेपाली अधिकारीसँग दुई महिनाअघि भएको छलफलमा भारतले नौ लाख नेपालीलाई हुने गरी करिब २० लाख डोज खोप अनुदानमा दिन सकिने संकेत गरेको थियो । भारतले दश लाख डोज दिइसकेकोमा थप दश लाख डोज खोप दिने अपेक्षा नेपालको छ ।