मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ चैत २८ शनिबार ०५:५७:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ चैत २८ शनिबार ०५:५७:००

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान विन्डसोरस्थित निवासमा मृत्यु भएको बेलायती राजदरबारले पुष्टि गरेको छ ।

‘गहिरो पीडासहित महारानी एलिजाबेथबाट उनको प्रिय श्रीमान्को निधनको घोषणा भएको छ,’ दरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनमा सम्पूर्ण जनतासहित राजपरिवार पनि गहिरो दुःख व्यक्त गर्दछ ।’ 

महारानी एलिजाबेथ द्वितीयको ६ दशकभन्दा लामो शासन अवधिमा राजकुमार फिलिपले महत्वपूर्ण साथ दिएका थिए । महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिप बेलायतको इतिहासमा लामो समय सँगै रहेर सेवा गर्ने जोडीसमेत हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अनगिन्ती युवाहरूको प्रेरणाको स्रोतका रूपमा राजकुमार फिलिपलाई सम्झिएका छन् । ‘उनले बेलायतमा मात्रै होइन, कमनवेल्थ र विश्वभरकै युवाहरूबाट माया र सद्भाव पाएका थिए,’ प्रधानमन्त्री जोन्सनले भनेका छन् ।

राजकुमार फिलिपको मृत्युपछि बकिङहम राजदरबारमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ भने दरबारको गेटमा उनको मृत्युको सूचना टाँसिएको छ । बेलायती सर्वसाधारणले उनको सम्मानमा दरबारको गेटअघि फूलको गुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

दरबारले भने कोरोना महामारीका कारण श्रद्धाञ्जलीका लागि भेला नहुन र पूmलको गुच्छा नचढाउन सर्वसाधारणमा अनुरोध गरेको छ । त्यसको सट्टा फूलको गुच्छा किन्ने पैसा कुनै सामाजिक कार्यका लागि दान गर्न अनुरोध गरेको छ । 

राजदरबारले उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न दरबारको आधिकारिक वेबसाइटमा ‘अनलाइन बुक’ सार्वजनिक गरेको छ । जहाँ उनको सम्झनामा सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गर्न सक्छन् । रानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिप ७३ वर्षदेखि सँगै थिए । 

उनीहरूबीच सन् १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजाबेथ द्वितीय रानी बनेकी थिइन् । राजकुमार फिलिप गत मार्चमा मात्रै मध्यलन्डनस्थित किङ एडवार्ड सातौँ अस्पतालबाट दरबार फर्किएका थिए । उनको त्यहाँ झन्डै महिना दिन उपचार भएको थियो । 

उनी अस्वस्थ भएपछि गत १६ फेब्रुअरीमा अस्पताल भर्ना भएका थिए । त्यसबीचमा उनको अर्काे एक अस्पतालमा मुटुको उपचार पनि भएको थियो । 

राजकुमार फिलिपको अन्त्येष्टि विन्डसोरस्थित सेन्ट जर्ज चापेलमा हुने छ । अन्त्येष्टिको कार्यक्रम कोरोना भाइरस महामारीका कारण सदाको भन्दा केही फरक हुने छ दरबारले जनाएको छ । अन्त्येष्टिअघिसम्म राजकुमार फिलिपको शव विन्डसोर क्यासलमै रहनेछ । राजकुमार फिलिपको अन्त्येष्टिको पूर्ण कार्यक्रम दरबारले आफ्नो वेबसाइटमार्फत जानकारी गराउने जनाएको छ ।

राजकुमार फिलिपको निधनप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले एक असल मित्र गुमाएको उल्लेख गरेका छन् ।