मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विश्वराज पछल्डङ्ग्या
२०७५ फाल्गुण ४ शनिबार ०६:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सिंहदरबार गाउँ पस्यो : दंग छन् नरैनापुरवासी

Read Time : > 1 मिनेट
विश्वराज पछल्डङ्ग्या
२०७५ फाल्गुण ४ शनिबार ०६:३६:००

बाँकेको सुदूरपूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका नागरिक यतिवेला दंग छन् । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिको आगमन, सुरक्षा निकाय, बैंक तथा वित्तीय संघसंस्था खुल्नु र गैरसरकारी संस्था स्थापना भएपछि चहलपहल बढेको छ । भारतीय सीमानजिकैको नरैनापुर गाउँपालिकामा विगतमा पहाडी मूलका नागरिक जान मान्दैनथे । नेपालगन्ज–बघौडाअन्तर्गत पर्ने ४४ किलोमिटर हुलाकी सडक निर्माण भएपछि मोटरसाइकलमा एक घन्टामा नेपालगन्ज पुग्न सकिने भएको छ । सरकारी गतिविधि बढेको तथा जनप्रतिनिधिको आउजाउ बढेका कारण स्थानीयलाई राज्य भएको अनुभूत भएको छ ।

स्थानीयले नेपाली भाषा बोल्न थाले
नरैनापुर गाउँपालिकामा अवधि र हिन्दी भाषा बोल्नेको संख्या धेरै छ । सरकारी कार्यालय स्थापना भएसँगै कार्यक्रम लिएर नेपालगन्जबाट सरकारी कार्यालय र गैरसरकारी कार्यालय जान थालेपछि हिन्दी एवं अवधी भाषा मात्र बुझ्ने नरैनापुरका सर्वसाधारणले नेपाली भाषा पनि बुझ्न र बोल्न थालेको नरैनापुर गाउँपालिका–५, मटेहियाका गुरुमरत यादवले बताए । ‘नेपाली भाषी र सरकारी कार्यालयसँग सम्बन्ध, सम्पर्क नभएपछि बोल्ने र बुझ्ने कुरै भएन,’ उनले भने ।

बैंक स्थापनापछि नेपाली रुपैयाँ चलनचल्तीमा
स्थानीय तहको निर्वाचनपछि नरैनापुरमा बैंक स्थापना भएको छ । बैंक स्थापना भएपछि भारु छाडेर नरैनापुरवासीले नेपाली रुपैयाँमा कारोबार गर्न थालेका छन् । स्थानीय व्यापारी मोहम्मद सलिम हुसैन खाँले नेपाली रुपैयाँको चलनचल्ती सुरु भएको बताए । 

नेपाली मोबाइल प्रयोगमा वृद्धि
भारतीय टेलिफोनमा निर्भर नरैनापुरवासी अहिले नेपाली टेलिफोन प्रयोग गर्न थालेका छन् । पहिले नेपाली मोबाइलको नेटवर्कले काम नगरेपछि यहाँका नागरिक भारतीय मोबाइल टेलिफोन प्रयोेग गर्न बाध्य थिए । नेपाल टेलिकमले मोबाइल टावरको व्यवस्था गरेपछि पछिल्लो समय नेपाली मोबाइल प्रयोगकर्ता बढेको नरैनापुर गाउँपालिका–५, मटेहियाका मोहम्मद सफिक बेहनाले बताए । ‘भारतीय मोबाइल फोन पनि प्रयोग हुन्छ, तर नेपाली मोबाइल प्रदायकको फोन प्रयोग गर्नेको संख्या बढेको छ,’ उनले भने ।

बघौडा भनेर चिनिने नरैनापुर गाउँपालिका विकासको हिसाबले बाँकेको कर्णाली भनेर चिनिन्छ । भारतीय टेलिफोनमा निर्भर रहेको नरैनापुर गाउँपालिकाको कार्यालयका साथै ६ वटै वडामा इन्टरनेट सेवा पुगेको छ । 

नेपाली नागरिक भएको महसुस
नरैनापुर गाउँपालिकामा पहाडी मूलका मानिस भेटिँदैनन् । भारतको बाटो भएर जानुपर्ने र पहाडी मूलका मानिसको बसोवास नभएकाले विगतमा सरकारी कर्मचारी हत्तपत्त आउन नमान्ने गरेको नरैनापुर गाउँपालिका–१, कालाफाँटाका सहजाद खान बताउँछन् । उनले नेपाली भाषी र पहाडी अनुहार भएका मानिस नेपालगन्ज गएपछि मात्र देख्ने गरेको उनले बताए । ‘विगतमा नरैनापुर गाउँपालिका क्षेत्रभित्र पहाडी अनुहारका नेपाली भाषी देख्न पाइँदैनथ्यो, तर अहिले त्यस्तो छैन,’ उनले भने । 

नरैनापुरसँग बाँके सदरमुकाम नेपालगन्जको सडक सञ्जाल जोडिएपछि कहिल्यै नआउने सरकारी कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी कार्यालयका कर्मचारी नरैनापुर आउन थालेको स्थानीय रहमान हुसैन खाँले बताए । ‘सरकारी कर्मचारी कहिलेकाहीँ मात्र देख्न पाइन्थ्यो । हाम्रो ठाउँको समाचार आउन ठूलै घटना वा गतिविधि हुनुपथ्र्यो,’ उनले भने । 

सरकारी कार्यालय स्थापना र नेपालगन्जसँग सीधै सडक सञ्जाल जोडिएपछि बल्ल नेपाली भएको महसुस हुन थालेको नरैनापुर गाउँपालिका–४, नरैनापुरका जव्रिल खाँले बताए । गाउँपालिकाका सबै गाउँका सडक हुलाकी सडकसँग जोडिएका छन् । यसले नेपालगन्ज आउजाउ गर्न सजिलो भएको लक्ष्मणपुरका राधेश्याम मौर्यले बताए ।