मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १५:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जोखाना हेर्दाहेर्दै एउटा चान्स मिस भयो : रामचन्द्र पौडेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १५:२९:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने बताएका छन् । उनले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै चुनाव–चुनाव भनेर बस्न नहुने जिकिर गरे ।

उनले भने,  ‘अब एउटा चान्स त हामीले अस्ति नै मिस गरिसकेका छौँ । जुन वेला एमाले र माओवादी केन्द्र बनेका थिएनन् त्यसवेलामा जोखाना हेर्दाहेर्दै एउटा चान्स मिस भएको छ । यति मात्रै भन्छु । जोखाना फेरि पनि हेरेर यो चान्स मिस गर्ने अनि पछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव चुनाव–चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो, हाम्रा साथीहरूको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’ 

नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरंकुशतातिर बढिरहेकोले विकल्प खोज्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले संसद्को रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग गर्‍याे भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकारको विकल्प खोज्नुपर्ने बताए ।  त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भए पनि सरकार बदल्न इमानदार प्रयत्न गर्नुपर्ने बताए । 

उनले भने,  ‘संसद्को रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍याे कि गरेन, कसरी गर्‍याे यसको पनि लेखाजोखा इतिहासमा हुनेछ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव–चुनाव मात्रै भनेर सुख पाइँदैन । हामीले यो अहिलेको निरंकुशतातिर बढिरहेको यो सत्तालाई विकल्प खोजी गर्नुपर्छ । विकल्पका लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरू पार्टीहरूसँग मिलेर हामीले बदल्ने काममा इमानदार प्रयत्न गर्नुपर्छ ।’

पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताए । अहिलेको सरकारको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकाले लोकतन्त्र बचाउनका लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने बताए । उनले भने, ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन, पार्टी यस्तो अवस्थामा छ । चुनाव, चुनाव, चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पुर्‍याउँछ । आज हामीले एउटै कुरा सोचौँ कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनका लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषदमा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भर्‍याङ चढ्न खोजेको पुष्टि भएको पनि उनले बताए । त्यसैले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने बताए । व्यवस्था बचेमा मात्रै सत्ता आफैँ आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने पनि बताए । उनले भने, ‘व्यवस्था बचाउनुपर्छ, सत्ताभन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । सत्ताभन्दा व्यवस्थालाई महत्व दिएर हामीले नीति बनायौँ र इमानदार प्रयत्न गर्‍याैँ भने सत्ता आफैँ आउँछ ।’

समुदायलाई लोकतान्त्रीकरण गर्न आफूलाई पनि लोकतान्त्रीकरण  बनाउन तयार हुनुपर्ने पनि उनले बताए । अहिले कम्युनिस्टहरू पक्षपातको शासनमा उत्रिएकाले त्यसको लडाइँमा लाग्न कर्मचारीहरूलाई आग्रह गरे । उनले भने, ‘तपाईंलाई पक्ष हाम्रो लिनुहोस् भन्दिनँ, तर पक्षपात रोक्नुहोस् । निष्पक्षता अपनाउनुहोस् । पक्षपतको शासन चलिरहेको छ नेपालमा । पक्षपातको शासन रोक्नुहोस् । नांगो रूपमा कम्युनिस्टहरू पक्षपातको शासनमा उत्रेका छन्, आजको हाम्रो लडाइँ तिनैसँग हो । हाम्रो लडाइँ यही सिद्धान्तको लडाइँ हो । सत्ताको लडाइँ होइन ।