१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत २७ शुक्रबार १३:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नौ वर्षीया बालिकाको बलात्कार प्रयासपछि  हत्या

Read Time : > 1 मिनेट
२०७७ चैत २७ शुक्रबार १३:४९:००

जिल्लाको सोरु गाउँपालिका– ९ कालै गाउँकी नौ वर्षीया बालिकाको बलत्कार प्रयासपछि हत्या भएको छ । सोरु गाउँपालिका– ९ कालै स्थायी ठेगाना भई हाल सोही गाउँपालिका– ८ तारानीमा अस्थायी बसोवास गर्दै आएका सिद्धिलाल चौलागाईंकी नौ वर्षीया छोरी लक्ष्मी चौलागाईंलाई सोही गाउँपालिका– ८ का २० वर्षीय प्रवेश रावलले चैत २१ गते बलात्कारको प्रयासपछि बालिकाको  हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । 

चैत २१ गते साँझ ५ बजेको समयमा घरबाट अन्दाजी पाँच सय मिटर टाढा घाट भन्ने स्थानमा बालिका  शौच गर्न गएको र सोही समयमा मदिरा सेवन गरेका आरोपित रावलले शौच गरेको स्थानमा बलात्कारको प्रयास गर्न खोज्दा बालिकाले इन्कार गरेपछि रावलले धकेलेर ढुंगामा पछारेका थिए । त्यसपछि बेहोस भएकी बालिकालाई नजिकैको मुगु कर्णाली नदीमा बगाएर हत्या गरेको आरोपित रावलले  प्रहरीलाई बयान दिएका छन् ।  

घटनास्थलमा खोलेको अवस्थामा चाउचाउको दुई पोकासहित बालिकाको नीलो रङको एक जोडी चप्पलसमेत प्रहरीले बरामद गरेकाे थियाे । बालिकाका बुबा सिद्धिलाल व्यापारका सिलसिलामा जिल्लाबाहिर छन् । घटना भएको दिन राति अबेरसम्म बालिका घर नफर्किएपछि  उनकी आमाले खोजतलास गरेकी थिइन् । राति अबेरसम्म छोरी घर नफर्किएपछि कतै आफन्तको घरमा गएको होला भन्ने सोचले २१ गते राति खान खाएर सुतेको र २२ गते बिहान पनि बालिका घर नआएपछि  परिवार र  छिमेकीले खोजीकार्य गरेका थिए । 

बालिकाको कतै पत्तो नलागेपछि आफन्तले प्रहरीलाई जानकारी गराए । २३ गते बिहान ७ बजे घटनास्थल आसपासमा माछा मार्न गएका स्थानीयले बालिकाको शव कर्णाली नदीको बीचभागमा अड्किएको देखेपछि परिवार र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको अनुसन्धानले घटनामा संलग्न देखिएको भन्दै  प्रवेश रावललाई चैत २४ गते साँझ ४ बजे तारापानीबाट प्रहरीले  गिरप्तार गरेको थियो । आफ्नी बहिनीको बलात्कारको प्रयासपछि  हत्या भएको भन्दै २५ गते बालिकाको दाजु धनराज चौलागाईंले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । 

बालिकाको जिल्ला अस्पतालमा पोस्टमार्टम  भएको छ । थप अनुसान्धका लागि भिसेरा र भिजिनेला स्वाबसमेत प्रहरी विधिविज्ञान प्रयोगशाला वा नास्टमा पठाइने भएको छ । घटनाको थप अनुसन्धानका लागि आरोपितलाई १० दिनका लागि प्रहरी हिरासतमा राख्न जिल्ला अदालत मुगुबाट २४ गते अनुमति लिई थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।  परिवार, आफन्त र अधिकारकर्मीले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।