मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश सापकोटा
२०७५ फाल्गुण ४ शनिबार ०६:२७:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

नेविसंघको ४८ वर्ष ११ महाधिवेशन, १८ सभापति

निर्वाचित ६ र तदर्थ समितिका पाँच गरी ११ सभापतिले मात्रै महाधिवेशन गराउन सके

Read Time : > 4 मिनेट
रमेश सापकोटा
२०७५ फाल्गुण ४ शनिबार ०६:२७:००

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ । पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन् । जसमा ६ निर्वाचित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन् । 

 महाधिवेशन गर्ने र नगर्नेको यस्तो छ इतिहास
१८ सभापतिमध्ये एक मात्र सभापतिले समयमै अर्थात् निर्वाचित भएको दुईवर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरेका छन् । पार्टी फुट्नुअघि ०५७ सालमा आठौँ महाधिवेशनबाट सभापतिमा चुनिएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरे । तर, अरू कुनै पनि सभापतिले नियमित कार्यकालमा महाधिवेशन गर्न सकेनन् । बरु, प्रभावशाली नेता उत्पादन गरेको, पार्टी गणतन्त्रमा जान खुट्टा कमाउँदै गर्दा गणतन्त्रको बिगुल फुकिसकेको, शैक्षिक मुद्दा उठाउने, जनजीविकका सवालका विषय उठाउने नेविसंघ नेताहरूको गुटगत राजनीतिको सिकारले ग्रस्त हुँदै आएको छ । निर्वाचित सभापतिले महाधिवेशन गर्न नसक्ने, तर तदर्थ समितिलाई महाधिवेशन गराउन सहयोग गर्ने पार्टीको नीतिले पनि नेविसंघ गुटगत राजनीतिले ग्रस्त भएको देखाउँछ । 

०२७ सालमा विपिन कोइराला सभापति भएको दुई वर्ष नपुग्दै ०२८ सालमा शेरबहादुर देउवा नेविसंघको सर्वसम्मत रूपमा सभापति भए । पञ्चायती व्यवस्थाको मध्य समयको अप्ठ्यारो राजनीतिक अवस्थामा दोस्रो महाधिवेशन गराउन देउवालाई नौ वर्ष लाग्यो । देउवा जेल परेकाले बलबहादुर केसी कार्यबाहक सभापति बनाइएका थिए । ०३६ सालमा देउवा नेतृत्वले तेस्रो महाविधेशन गराउँदा विमलेन्द्र निधि सभापतिमा चुनिए । 


म सुशील कोइरालाकै लिगेसीबाट भए पनि उनीहरूले शेरबहादुर देउवासँग मिलेको आरोप लगाउँथे । उल्टोपाल्टो कुरा लगाउने पनि उत्तिकै देखिए । जिल्ला, क्याम्पसको अधिवेशन हुँदै केन्द्रीय अधिवेशन घोषणा गरिसकेका थियौँ । अधिवेशन गराउन ग्राउन्ड भए पनि नेतृत्वले शेरबहादुरको मान्छे जिताइदेला भन्ने आशंका ममाथि ग-यो । यसरी सभापति सुशील कोइरालाले नेविसंघको कार्यसमिति विघटनको प्रस्ताव ल्याउनुभयो ।
 प्रदीप पौडेल
पूर्वसभापति, नेविसंघ 

 सर्वसम्मत भए पनि निधिले सकेनन् 
बिपी कोइरालाले सर्वसम्मत रूपमा सभापति बनाए पनि तीन वर्ष बित्दासमेत महाधिवेशन गर्न नसकेपछि विमलेन्द्र निधि बाहिरिनुप-यो । निधि बाहिरिएपछि ०३९ सालमा ज्ञानेन्द्रहादुर कार्कीको नेतृत्वमा तदर्थ समिति गठन भयो । कार्की नेतृत्वको तदर्थ समितिले ०४० सालमा गराएको चौथो महाधिवेशनबाट बलबहादुर केसी सर्वसम्मत रूपमा सभापति भए । उनीसँगको प्रतिस्पर्धामा डा. प्रकाशशरण महत प्रतिस्पर्धी भए पनि पार्टीले नेतृत्वका लागि निर्वाचन गराएन । 
केसीले चार वर्षपछि ०४४ सालमा गराएको पाँचाैँ महाधिवेशनबाट बालकृष्ण खाण सर्वसम्मत रूपमा सभापति हुन पुगे । खाणले चार वर्षपछि ०४८ सालमा गराएको छैटौँ महाधिवेशनबाट एनपी साउद सभापतिमा निर्वाचित भए । साउदले नवीन्द्रराज जोशीलाई पराजित गरे । तर, उद्घाटन गरेर पनि महाधिवेशन गर्न नसकेपछि साउदले राजीनामा दिए । 

 गुरुङले छोटो समयमै महाधिवेशन गराए
साउदको राजीनामापछि गिरिजाप्रसाद कोइरालाले ०५३ सालमा धनराज गुरुङलाई तदर्थ समितिको सभापति बनाए । सभापति भएको सात महिनामै गुरुङले महाधिवेशन गराए । सातौँ महाधिवेशनबाट गोविन्द भट्टराई सर्वसम्मतिमा सभापति चुनिए । भट्टराईले चार वर्षपछि ०५७ सालमा आठौँ महाधिवेशन गराउँदा विश्वप्रकाश शर्मा निर्वाचित भए । शर्माले किशोरसिंह राठौरलाई पराजित गरे ।

०५८ सालमा कांग्रेस फुटेपछि कांग्रेस प्रजातान्त्रिकबाट किशोरसिंह राठौर तदर्थ समितिका सभापति भए । उनी नेतृत्वको समितिले सोही वर्ष गराएको महाधिवेशनबाट कल्याण गुरुङ सभापतिमा चुनिए । निर्वाचित भएको दुई वर्षमै विश्वप्रकाश महाधिवेशन गराएर गुरु घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्न सफल भए । कल्याण गुरुङ नेविसंघको सभापति भए पनि उनलाई महाधिवेशन गराउने म्यान्डेट थिएन । उनी कांग्रेस प्रजातान्त्रिकनिकट नेविसंघको सभापति थिए ।

 निर्वाचित सभापतिमाथि अविश्वास र तदर्थमाथि विश्वास 
कांग्रेसमा स्थापनादेखि अहिलेसम्म गुटगत राजनीतिले निरन्तरता पाइरहेको छ । नेता उत्पादनको कारखाना नेविसंघ भएकाले केन्द्रमा आफू स्थापित हुन, आफूनिकटका नेताको जमात बढाउन, चाकरी र चाप्लुसी गर्नेहरूको घेरा बनाउन नेताहरूले तदर्थवादमा बढी विश्वास गर्ने गरेको केन्द्रीय सदस्य गुरु 
घिमिरे बताउँछन् । 

‘नेविसंघ पार्टीका नेता उत्पादन गर्ने कारखाना हो । नेता उत्पादन हुने भएकाले आफ्नो प्रभावका राख्न खोज्ने र नेताको घेरा बनाउन खोज्ने अभ्यास हुँदै आयो,’ घिमिरे भन्छन्, ‘यसकारण नेविसंघमा आफ्नो गुट बलियो नभएसम्म महाधिवेशन गराउन नखोज्ने । गुटबन्दीको सोझो प्रभाव, नेविसंघमा पार्ने र व्यक्तिगत प्रभावमा नेविसंघ चलाउन खोजेपछि निर्वाचित सभापतिलाई महाधिवेशन गर्न नसक्ने बनाइयो ।’  

सभापति भइसकेका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल पनि निर्वाचितको लोकप्रियता, जनमत र उनीहरूको आकर्षण देखिएकाले तदर्थवादमा नेताहरू लागेको टिप्पणी गर्छन् । ‘निर्वाचित भएर आउँदा नेविसंघमा नेता बलियो हुन्छ । लोकप्रिय हुन्छ र छिटो राजनीतिको केन्द्रमा उदाउँछ,’ पौडेल भन्छन्, ‘यसरी छिटो केन्द्रमा कोही नेता उदाउँदा सिनियर नेताले आफूलाई असुरक्षित महसुस गर्छन् अनि तदर्थ समिति बनाएर आफूविरोधी नहोस् भन्ने चाहन्छन् ।’ 

निर्वाचित सभापतिले महाधिवेशन गर्न नसकेको दोष आफूहरूले लिनुपर्ने भएपछि तदर्थ समिति बनाउने र उनीहरूलाई सबै हिसाबले महाधिवेशन गर्न दिने नीति पार्टी नेतृत्वमा देखिँदै आएको पौडेल बताउँछन् । विद्यार्थीले नै नेतृत्व गरेर आएको समितिलाई पार्टीले फाल्न खोज्ने र टिके नेतृत्वलाई विश्वास गर्ने तथा असहयोग गर्ने अस्वस्थ शैली नहटाएसम्म संगठनमा भद्रगोल कहिल्यै नसकिने उनी बताउँछन् । 

नेविसंघ पार्टीका नेता उत्पादन गर्ने कारखाना हो । नेता उत्पादन हुने भएकाले आफ्नो प्रभावका राख्न खोज्ने र नेताको घेरा बनाउन खोज्ने अभ्यास हुँदै आयो । यसकारण नेविसंघमा आफ्नो गुट बलियो नभएसम्म महाधिवेशन गराउन नखोज्ने, गुटबन्दीको सोझो प्रभाव नेविसंघमा पार्ने र व्यक्तिगत प्रभावमा नेविसंघ चलाउन खोजेपछि निर्वाचित सभापतिलाई महाधिवेशन गर्न नसक्ने बनाइने गरिएको छ ।
 गुरुराज घिमिरे
पूर्वसभापति, नेविसंघ 

पछिल्ला तीन निर्वाचित सभापति महाधिवेशन गर्न असफल
आफ्नो समयमा निकै चर्चा, परिचर्चा र लोकप्रिय हुनुका बाबजुद केही निर्वाचित सभापतिहरूले नेविसंघको महाधिवेशन गर्न सकेनन् । पार्टीले प्रभावकारी अग्रसरता नलिनु, गुटगत रूपमा नेताहरूले खेल्नु र नेविसंघकै नेताबीच हानाथाप हुँदा केही सभापतिहरू महाधिवेशन नै नगरी बिदा भए । कोही सभापतिको समिति भंग हुन पुग्यो, केहीले समय सकिएपछि राजीनामा दिन पुगे । ०४८ सालमा सभापतिमा निर्वाचित भएका साउदले समयमा महाधिवेशन गर्न सकेनन् ।

उद्घाटन गरेर पनि उनले महाधिवेशन गर्न नसकेपछि राजीनामा दिए । नवौँ, दशौँ र ११औँबाट निर्वाचित सभापतिहरूले पनि महाधिवेशन गर्न सकेनन् । पञ्चायतकालमा असहज परिस्थितिमा नियमित नभए पनि बहुदल आएपछिको सहज राजनीतिक अवस्थामा पनि कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा नियमित महाधिवेशन हुन सकेन । नवौँ (२०५९) बाट निर्वाचित गुरु घिमिरे, १०औँ (२०६४) बाट निर्वाचित प्रदीप पौडेल र ११औँ (२०७३) बाट निर्वाचित नैनसिंह महरले समयमा महाधिवेशन गर्न सकेनन् ।

विश्वप्रकाश शर्माको समितिले ०५९ सालमा गराएको महाधिवेशनबाट गुरु घिमिरे निर्वाचित भए । तर, घिमिरे नेतृत्वको समितिले महाधिवेशन गर्न सकेन । केही नेता नेविसंघको समितिलाई विघटन गर्नुका पछाडि गणतन्त्रको नारालाई कारण मान्छन् । ‘हामी विद्यार्थीहरू आन्दोलनका क्रममा गणतन्त्रमा गइसकेका थियौँ । तर, राजा र भारतले नेविसंघलाई कि राजतन्त्रमा फर्काऊ कि विघटन गर भन्ने दबाब पार्टीमा बढायो,’ कांग्रेसका एक नेताले भने, ‘तर, हामी गणतन्त्र छोड्न सक्ने अवस्थाम थिएनौँ । हामी फर्किने अवस्थामा नभएकाले पार्टीले समिति विघटन गरिदियो ।’ 

त्यसपछि ०६१ सालमा केशव सिंहको नेतृत्वमा तदर्थ समिति बन्यो, तर उनले पनि महाधिवेशन गर्न सकेनन् । पोखरामा महाधिवेशन उद्घाटन भयो । प्रतिनिधि छनोटका विषयमा भएको विवाद चुलिएपछि पार्टीले महाधिवेशन नै स्थगित गरिदियो । त्यसपछि महेन्द्र शर्माको नेतृत्वमा ०६२ सालमा तदर्थ समिति बन्न पुग्यो । शर्मा नेतृत्वको समितिले ०६४ सालमा १०औँ महाधिवेशन गर्दा प्रदीप पौडेल सभापतिमा निर्वाचित भए ।  विकास कोइरालालाई पराजित गरेर सभापतिमा जितेका पौडेल लोकप्रिय मात्र थिएनन्, संगठनमा पनि उनको बलियो पकड थियो । लोकप्रिय नेताहरू गगन थापा, विश्वप्रकाश शर्माहरूको साथ थियो । तर, उनी नेतृत्वको समितिले पनि महाधिवेशन गर्न सकेन ।

नेविसंघमा कहिले को सभापति ?
पहिलो महाधिवेशन २०२७: विपिन कोइराला (निर्वाचित)
दोस्रो महाधिवेशन     २०२८ : शेरबहादुर देउवा (सर्वसम्मत)
तेस्रो महाधिवेशन     २०३६ : विमलेन्द्र निधि (सर्वसम्मत)
    २०३९ : ज्ञानेन्द्र कार्की (तदर्थ) 
चौथो महाधिवेशन     २०४० : बलबहादुर केसी (सर्वसम्मत)
पाँचौँ महाधिवेशन     २०४४ : बालकृष्ण खाण (सर्वसम्मत)
छैटौँ महाधिवेशन     २०४८:सालमा एनपी साउद (निर्वाचित) 
    २०५३ : धनराज गुरुङ (तदर्थ) सात महिनामा गरे 
सातौँ महाधिवेशन     २०५३ : गोविन्द भट्टराई (सर्वसम्मत)  
आठौँ महाधिवेशन     २०५७ : विश्वप्रकाश शर्मा (निर्वाचित) 
आठौँ महाधिवेशन (पार्टी फुट्दा) किशोरसिंह राठौर तदर्थ समितिका सभापति, 
    कल्याण गुरुङ निर्वाचित
नवौँ महधिवेशन     २०५९ : गुरुराज घिमिरे (निर्वाचित)
    २०६१ : केशव सिंह (तदर्थ समिति) 
    २०६२ :महेन्द्र शर्मा (तदर्थ समिति)
१०औँ महाधिवेशन     २०६४ : प्रदीप पौडेल (निर्वाचित)
    २०६९: रञ्जित कर्ण (तदर्थ समिति) 
११औँ महाधिवेशन     २०७३ : नैनसिंह महर (निर्वाचित) सभापति 
    २०७५ माघ २ मा समय सकिएपछि महरद्वारा राजीनामा

 महाधिवेशन गर्ने सभापतिहरू
विपिन कोइराला
शेरबहादुर देउवा
ज्ञानेन्द्रबहादुर कार्की
बलबहादुर केसी
बालकृष्ण खाण
धनराज गुरुङ
गोविन्द भट्टराई
विश्वप्रकाश शर्मा
किशोर राठौर
महेन्द्र शर्मा
रञ्जित कर्ण
 तदर्थ समितिका सभापति 
ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा र रञ्जित कर्ण