मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत २७ शुक्रबार १०:४५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अफ्रिकन रुट्स र  संकटाबीच फाइनल

Read Time : < 1 मिनेट
२०७७ चैत २७ शुक्रबार १०:४५:००

अफ्रिकन रुट्स एसोसिएसन १९औँ आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा अफ्रिकन रुट्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेको हो । अब अफ्रिकन रुट्सले उपाधिका लागि शनिबार संकटा क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

अफ्रिकन रुट्सले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । बसिकले डिबक्सभित्र सहजै गोल गर्दा अफ्रिकन रुट्सले खेलमा १–० को अग्रता बनाएको हो । मोउसाले दिएको पासमा बसिकले पहिलो बार च्याप्दै गोल गर्न सफल भए । बसिकले गोल गर्नुअघि पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले डिबक्सभित्रै अजित भण्डारीलाई छोटो पास दिएका थिए । 

भण्डारीले डिबक्सभित्र नै तेज तामाङलाई छोटो पास दिने प्रयास गरे । तामाङ नियन्त्रण लिन नसकेको बलमै बसिकले अग्रता गोल गरेका हुन् । खेलको अन्तिम इन्जुरी समयमा म्यान अफ दि म्याचसमेत रहेका मोउसाले अफ्रिकन रुट्सलाई २–० को अग्रता दिलाए । रिमले डिबक्सभित्र उपलब्ध गराएको पासमा मोउसाले दोस्रो बार च्याप्दै गोल गर्न सफल भए । 

सुरुदेखि नै राम्रो प्रदर्शन गरेको पुलिसका खेलाडी शारीरिक रूपमा अग्ला र बलिया अफ्रिकन टोलीसामु कमजोर देखिएका थिए । पुलिसले केही राम्रा अवसर सिर्जना नगरेको होइन । तर, पुलिसका खेलाडीले प्राप्त अवसरमा गोल गर्न सकेनन् । प्रतियोगिताको ६ पटकको उपाधि जितेको पुलिसले खेलको सुरुमै गोल खाँदा निकै दबाबमा परेको थियो ।

यसअघि क्वार्टरफाइनलमा अफ्रिकनले मच्छिन्द्र क्लबलाई हराएको थियो । पुलिसले थ्री स्टार क्लबलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान बनाएको थियो । २८ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।