मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जगदीश ऐर
२०७७ चैत २७ शुक्रबार ०९:५६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मिथ्या सूचनाविरुद्ध युवाको लडाइँ

Read Time : > 2 मिनेट
जगदीश ऐर
२०७७ चैत २७ शुक्रबार ०९:५६:००

पहिलो, १३ चैत बेलुकी कांग्रेसका नेता नवीन्द्रराज जोशीको मृत्यु भयो । तर, केही सञ्चारमाध्यम र सामाजिक सञ्चालमा त्यसको दुई साताअघि नै उनको मृत्यु भएको समाचार बाहिर आयो, जुन गलत थियो । सूचना परिपक्व नभई बलियो स्रोतविना यसरी समाचार बाहिर ल्याउनुको अर्थ उनका आफन्तजन, चिनेजानेका र कार्यकर्तामा थप पीडा थप्नु थियो । 

दोस्रो, ४० वर्ष भारतीय जेलमा बिताएर इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कोलकाताको जेलबाट बाहिर निस्किए । लामो समय जेलमा बसेका निर्दोष दुर्गाप्रसाद शारीरिक र मानसिक कारणले गाह्रो अवस्थामा छन् । तर, त्यसलाई कुनै परवाह नगरी केही नेपाली अनलाइन मिडियाका संवाददाता घरमै पुगेर एकपछि अर्को गर्दै कडा शब्दमा प्रश्न सोधिरहे । जसमा दुर्गाप्रसादले उत्तर फर्काउन सकेका थिएनन् । अन्तर्वार्तामा उनलाई थप मानसिक पीडा भएको महसुस गर्न सकिन्थ्यो । 

तेस्रो, प्रधानमन्त्री केपी शर्मा ओलीले ६ पुसमा प्रतिनिधिसभा विघटनको प्रस्ताव अघि बढाएपछि तत्कालीन नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच विवाद भयो । सार्वजनिक स्थानमा एउटाले अर्कोलाई मनपरी शब्द प्रयोग गरी गाली गर्न र होच्याउन बाँकी राखेनन् । एउटाले अर्काको क्रियाकलापलाई ‘नौटंकी नै हो’ भन्ने संज्ञा दिए भने अर्कोले ‘नाटक नै हो’ भन्ने विचार व्यक्त गरे । नौटंकी र नाटक सामाजिक सञ्जालको एक नम्बरको ट्रेन्डिङमा पर्‍यो । 

सूचनाको बढाइचढाइ प्रचार–प्रसारले प्रोपोगान्डा गर्ने, वास्तविक सूचनाको तोडमोड, कसैलाई झुक्याउनका लागि वास्तविक सूचनामा हेरफेर र बनावटी सूचनाको प्रयोग, सूचनाको गलत अर्थमा प्रयोग र समाचार सम्प्रेषण गर्दा गरिने हेलचेक्र्याइँले पाठकको ठूलो तप्कामाथि अन्याय भइरहेको छ ।

चौथो, सूचनालाई तोडमोड गर्न सामाजिक सञ्जालले कति सहयोग गर्न सक्छ भन्ने सबैभन्दा बढी उदाहरण प्रस्तुत गर्ने आधुनिक विश्वकै पात्र हुन्, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प । सा“च्चै भन्नुपर्दा उनले अन्य सञ्चारमाध्यम नभई आफ्नो ट्विटर ह्यान्डलबाटै ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् अमेरिकालाई फेरि एकपटक महान् बनाउने र मेक्सिकोस“गको सीमा क्षेत्रमा पर्खाल लगाउने भन्ने अभिव्यक्ति बाहिर ल्याए । पटक–पटक एउटै कुरा दोहोर्‍याएपछि सबैलाई सत्य लाग्छ र मान्छन् भन्ने धारणा ट्रम्पको थियो । ट्रम्पको सोही गलत शैलीका कारण उनले दोस्रो विश्वयुद्धपछि शक्तिशाली बनेको संसारकै बलियो मुलुकको शासन गर्न पाए । तर, अन्त्यमा जसको प्रयोग गरेर ह्वाइट हाउसको यात्रा तय गरेका थिए, त्यही ट्विटरले उनको ह्यान्डललाई नै बन्द गरिदियो । किनकि, ट्रम्पले आफ्नो कार्यकालको अन्त्यतिर एकपछि अर्को गर्दै गलत र झुट सूचना लेखिरहे । 

माथिका सन्दर्भ र प्रसंगबाट सामाजिक सञ्जाल र मिडियाले गलत रूपमा सूचना बाहिर ल्याउँदा कस्तो प्रभाव पर्छ भन्ने बुझ्न सकिन्छ । पछिल्लो समय मिडिया र सामाजिक सञ्जालमा आउने केही विषयवस्तुले समाजलाई नै प्रदूषित गरेको देखिन्छ । यसले युवालाई थप अन्योलमा पारेको छ । यसको समाधानका लागि सबैभन्दा पहिले त हामीले सञ्चारमाध्याम र सामाजिक सञ्जालमा आउने विषयवस्तुलाई बुझ्नु आवश्यक छ । 

समाचार सम्प्रेषण गर्दा कति हेडलाइन सूचनास“ग मेल नखाने खालका असान्दर्भिक हुन्छन् । समाचारले एउटा कुरा भन्न खोज्दा हेडलाइनले अर्कै कुरा भनिरहेको हुन्छ । यसले आमपाठक गलत सूचनाको मारमा परिरहेका हुन्छन् । वास्तविक सामग्रीको गलत प्रसंगका साथ प्रकाशन वा प्रसारण भएको पाइन्छ । नेकपा एमालेका नेता विष्णु रिजालले केही समयअघि आफ्नो फेसबुक पेज र ट्विटर ह्यान्डलमा आफूलाई लिएर बाहिर आएको समाचार सत्य नभएको भनेर लेख्नैपर्‍यो । माधव नेपाल पक्षका उनले ओली पक्षको समर्थन गरे भन्ने समाचार केही मिडियाले बाहिर ल्याएका थिए, जुन सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । त्यसपछि रिजालले आफैँ सोसल मिडियाको प्रयोग गरे । 

रिजालविरुद्ध प्रयोग भएको समाचारलाई बनावटी सामग्रीको रूपमा पनि लिन सकिन्छ । हानि वा असर पुर्‍याउने उद्देश्यले गर्ने शतप्रतिशत बनावटी र भ्रामक समाचारले गलत सन्देश प्रवाह गर्छ । मिडिया र सोसल मिडियामा भ्रामक विज्ञापन वा सम्पादित सामग्री, व्यंग्य वा प्यारोडी हानि पुर्‍याउने कुनै नियत नभएको, तर कसैलाई मूर्ख बनाउन खोजिएको सामग्रीले समस्या जन्माइरहेका छन् । त्यसको मुख्य पात्र ट्रम्प पनि हुन् । सूचनाको बढाइचढाइ प्रचार–प्रसारले प्रोपोगान्डा गर्ने, वास्तविक सूचनाको तोडमोड, कसैलाई झुक्याउनका लागि वास्तविक सूचनामा हेरफेर र बनावटी सूचनाको प्रयोग, सूचनाको गलत अर्थमा प्रयोग र समाचार सम्प्रेषण गर्दा गरिने हेलचेक्र्याइँले गर्दा पाठकको ठूलो तप्कामाथि अन्याय भइरहेको छ । 

यसै विषयमा केही समयअघि निर्वाचन आयोगले पनि मिथ्या र दुष्प्रचार सूचनाका सम्बन्धमा छलफल गरेको थियो । साथै, निर्वाचनको वेलामा सबैभन्दा बढी गलत सूचना बाहिर आउन सक्ने र त्यसले गर्दा समस्या निम्त्याउन सक्ने आकलन आयोगले गर्ने गरेको छ । मिथ्या सूचना र दुष्प्रचारलाई निर्वाचनको वेलामा मात्र सीमित राख्न मिल्दैन । अन्य समयमा पनि एकपछि अर्को यस्ता सूचना र समाचारलाई हामीले हेर्नु आवश्यक हुन्छ । मिथ्या सूचना, दुष्प्रचार तथा द्वन्द्व निम्त्याउने अभिव्यक्ति फैलाउन सोसल मिडिया बढी प्रयोग भएको देखिन्छ । पत्रपत्रिका, टेलिभिजन, रेडियोलगायतका आमसञ्चारमाध्यमबाट भन्दा पनि सामाजिक सञ्जालको प्रभाव बढी हुन्छ । सामाजिक सञ्जालमार्फत व्यापक रूपमा भ्रामक सूचना फैलन सक्ने भएकाले यसले ठूलो तप्कालाई दिग्भ्रमित पारिरहेको हुन्छ ।

गलत सूचनाको पहिचान गर्ने र त्यसबाट हुन सक्ने दुर्घटनाबाट बचाउने दायित्व अब युवाले लिनुपर्ने हुन्छ । त्यसैले सबैभन्दा पहिले युवालाई मिथ्या सूचना र दुष्प्रचारको बारेमा ज्ञान दिनुपर्छ । युवाले आमपाठक, दर्शक, श्रोता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई मिडियासम्बन्धी ज्ञान अर्थात् मिडिया लिट्रेसी र सोसल मिडिया लिट्रेसीका बारेमा अवगत गराएर उनीहरूकै माध्यममार्फत मुलुकभर मिथ्या सूचना र भ्रामक सूचनाको बारेमा जानकारीमूलक कार्यक्रम चलाउनुपर्ने हुन्छ । यस्तो गलत प्रचारलाई कम गर्नका लागि युवाको भूमिका महत्वपूर्ण हुन्छ र यसमा युवाले नै भूमिका खेल्नुपर्छ ।