मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडौं
२०७७ चैत २७ शुक्रबार ११:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुल कर्जाको ३ प्रतिशत मात्रै पुनर्संरचना, ९८ अर्ब रुपैयाँ कर्जाको भाका सारियो

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ चैत २७ शुक्रबार ११:०९:००

बैंक तथा वित्तीय संस्थाहरूले करिब ९८ अर्ब रुपैयाँ कर्जा पुनर्संरचना गरिदिएका छन् । सञ्चालनमा रहेका ६७ बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक) मध्ये ४१ वटाले ऋणीहरूबाट उठ्न बाँकीमध्ये १० प्रतिशत ब्याज लिएर ग्राहकको कर्जा पुनर्संरचना गरिदिएका हुन् ।

‘पुससम्मको कर्जा पुनर्संरचनाको मात्रै विवरण आएको छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘करिब ९८ अर्बबराबरको कर्जा पुनर्संरचना भएको हो ।’ 

पुस मसान्तसम्म कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न नसकेका ऋणीहरूले बाँकी बक्यौता ब्याजको ५ प्रतिशत मात्र रकम बुझाएर आगामी असार मसान्तसम्म गर्न सक्ने भएका छन् । राष्ट्र बैंकले गत १६ फागुनबाट यस्तो सुविधा दिएको थियो । पुससम्म पुनर्कर्जा वा तालिकीकरण गरेकाले भने बक्यौता ब्याज रकमको १० प्रतिशत बुझाउनुपर्थ्यो । थपिएको अवधिपछि भने खासै धेरैले कर्जा पुनर्संरचनाको माग नगरेको बैंकरहरू बताउँछन् ।

विशेष गरी होटेल तथा पर्यटन क्षेत्रमै गएको कर्जाको पुनर्संरचना भएको राष्ट्र बैंकको अनुमान छ । ‘यसअघि केहीले मात्रै कर्जा पुनर्संरचना गर्न नभ्याएकाले थप समय माग गरेका थिए,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘पछिल्लोपटक यो सुविधाको माग खासै भएको छैन ।’

पुससम्म ३६ खर्ब ६२ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा पुनर्संरचना वा तालिकीकरण करिब २ दशमलव ६७ प्रतिशत मात्रै हो । वाणिज्य बैंकहरूले मात्रै ९४ अर्ब ३६ करोड रुपैयाँबराबरको कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गरेका छन् । वाणिज्य बैंकहरूको कर्जा लगानीको तुलनामा पुनर्तालिकीकरण वा पुनर्संरचना भएको कर्जा २ दशमलव ८९ प्रतिशत हो । 

‘बैंकअनुसार यो दर ६–७ प्रतिशतसम्म छ, औसतमा मात्रै ३ प्रतिशत कर्जा पुनर्संरचना भएकोमा मलाई पनि आश्चर्य लागेको छ,’ दाहालले भने, ‘यसले बैंकहरूलाई ठूलो समस्या नहुने भने देखिएको छ ।’ 

कृषि विकास बैंकबाहेक सबै वाणिज्य बैंकहरूले कर्जा पुनर्संरचना गरेका छन् । ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी रकमबराबरको कर्जा पुनर्संरचना गरेको छ भने सन्राइज बैंकले सबैभन्दा कम । 

विकास बैंकहरूमा ९ वटाले कर्जा पुनर्संरचना गरेका छन् । यी बैंकहरूले कुल ५ अर्ब ८१ करोड रकमबराबरको कर्जा पुनर्संरचना गरेका हुन् । यो अवधिमा कुल ३ खर्ब ३९ अर्ब कर्जा लगानी गरेका विकास बैंकहरूको करिब १ दशमलव ७० प्रतिशतबराबरको कर्जा पुनर्संरचना भएको हो । 

वित्त कम्पनीहरूमा भने ६ वटाले करिब ७८ करोड रुपैयाँबराबरको कर्जा पुनर्संरचना गरेका छन् । यो अवधिमा कुल ७९ अर्ब २९ करोड कर्जा लगानी गरेका वित्त कम्पनीहरूले १ प्रतिशतभन्दा पनि कम रकमको कर्जा पुनर्संरचना गरेका हुन् ।