१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत २७ शुक्रबार ०८:४२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

न्यु डायमन्ड र हेल्प नेपाललाई उपाधि

Read Time : > 2 मिनेट
२०७७ चैत २७ शुक्रबार ०८:४२:००

राष्ट्रिय खेल भलिबलको ठूलो घरेलु प्रतियोगिता आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग सम्पन्न, दुवैतर्फ गैरविभागीय टोलीले उपाधि जित्दै समान तीन लाख रुपैयाँ प्राप्त गरेका छन्

गैरविभागीय टोली न्यु डायमन्ड भलिबल क्लब र टिपटप हेल्प नेपालले राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) नेपाल भलिबल संघ (एनभिए) राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । न्यु डायमन्डले महिलातर्फ र हेल्प नेपालले पुरुषतर्फको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको रोमाञ्चक फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक २२–२५, २५–११, २५–१९, २१–२५ र १५–११ को सेटमा पराजित गर्दै उपाधि निश्चित गरेको हो । न्यु डायमन्डले पछिल्लो चार वर्षपछि पुनः यो प्रतियोगिताको उपाधि जितेको हो । टोलीले पछिल्लोपटक ०७३ मा यो उपाधि जितेको थियो । समग्रमा भने न्यु डायमन्डले कुनै पनि प्रतियोगिताको उपाधि जितेको ०७४ पछि यो पहिलोपटक हो । ०७४ मा आफैँले आयोजना गरेको प्रथम शिवम् न्यु डायमन्ड कपको उपाधि जितेपछि न्यु डायमन्डले कुनै पनि प्रतियोगिता जित्न सकेको थिएन ।

लामो समयपछि उपाधि जितेकोमा न्यु डायमन्डका प्रशिक्षक कुमार राईले खुसी व्यक्त गरे । ‘हामी अभाव र दुःखमा खेल्ने टोली हौँ । अरू टोली नियमित र लामो समयको तयारीमा प्रतियोगिता खेल्न आउँछन् । हाम्रा कोही खेलाडी पढ्न जान्छन्, कसैका लागि अभिभावकसँग कुरा गर्नुपर्छ,’ प्रशिक्षक राई भन्छन्, ‘हामीले कृपा अधिकारीले क्लब छाडेपछि उपाधि जित्न छाडेका थियौँ भन्दा पनि हुन्छ । लामो समयपछि फेरि उपाधि जित्दा खुसी लागेको छ ।’

न्यु डायमन्ड र कुमार राई नेपाली खेलकुदकै फरक क्लब वा संस्था हो, जसले आफ्नै मिहिनेतमा नियमित राष्ट्रिय खेलाडी जन्माइरहन्छन् । राष्ट्रिय टोलीका मुख्य स्पाइकर प्रतिभा माली, रेश्मा भण्डारीलगायत खेलाडी नेपाली भलिबलका लागि न्यु डायमन्ड र कुमार राईकै देन हो । ‘हामी लामो समयदेखि भलिबलका लागि योगदान गर्दै छौँ । नियमित राष्ट्रिय खेलाडी उत्पादन गर्दै छौँ । अब त सरकार वा त्यसअन्तर्गत खेलकुद हेर्ने निकायबाट सहयोग अपेक्षा गरेका छौँ,’ उनी भन्छन् ।

उपाधि भिडन्तको पहिलो सेट न्यु डायमन्डले सहजै गुमायो । कुनै समय ८–१६ ले पछि परेको न्यु डायमन्डले अन्तिमतिर केही सुधार गरे पनि पुलिसलाई रोक्न सकेन । त्यसपछिको दुई सेट भने न्यु डायमन्डले त्यही शैलीमा आफ्नो पक्षमा बनायो । चौथो सेट प्रतिस्पर्धात्मक देखियो । अन्तिम सेटमा तीन अंकले अग्रता बनाइसकेको पुलिसलाई रोक्दै न्यु डायमन्डले महत्वपूर्ण जित हात पार्‍यो । 

टोलीको जितमा प्रतिभा मालीले सशक्त प्रदर्शन गरिन् । गत वर्ष यही प्रतियोगिता खेल्दा घाइते भएर करिब वर्षदिन कोर्टबाहिर रहेकी प्रतिभाले पुनरागमनसँगै उपाधि नै जितिन् । त्यही प्रदर्शनका आधारमा प्रतिभा प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी पनि चुनिइन् । 

नेपाल पुलिस क्लबकी उषा भण्डारी उत्कृष्ट स्पाइकर चुनिइन् । पुलिसकी मनीषा चौधरी उत्कृष्ट ब्लकर, कमला पुन उत्कृष्ट सेटर तथा डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, ललिता नाथ उत्कृष्ट सर्भर र कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

बिहीबार नै भएको पुरुषतर्फको फाइनल खेलमा विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि जितेको हो । हेल्प नेपालले एपिएफमाथि २५–१४, २५–२० र २५–२२ को सहज जित निकाल्यो । तीन भारतीय खेलाडीसहित प्रतियोगितामा सहभागी भएको हेल्प नेपाललाई उपाधि जित्न कुनै मुस्किल देखिएन । 

पुरुषतर्फ हेल्प नेपालका विनित कुमार सर्वाेत्कृष्ट खेलाडी घोषित भए । बुलबुले रारा क्लबका मुराद जेहान उत्कृष्ट स्पाइकर, घनश्याम चौधरी उत्कृष्ट सर्भर, पुलिस क्लबका दीपकराज जोशी उत्कृष्ट ब्लकर, हेल्प नेपालका विकास कुमार उत्कृष्ट सेटर, रमेश केसी उत्कृष्ट प्रशिक्षक र एपिएफका विनोद चन्द उत्कृष्ट डिफेन्डर घोषित भए । 

महिला र पुरुष दुवैतर्फ उपाधि विजेता न्यु डायमन्ड र हेल्प नेपालले समान तीन–तीन लाख जितेका छन् । महिलातर्फ उपविजेता बनेको नेपाल पुलिस क्लब र पुरुषतर्फ उपविजेता बनेको एपिएफले एक लाख ५० हजारमा चित्त बुझायो । महिलातर्फ एपिएफ तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो बन्यो । पुरुषतर्फ बुलबुले रारा क्लब तेस्रो र नेपाल पुलिस क्लब चौथो बन्यो । दुवैतर्फ तेस्रो हुने टोलीले समान ७५ हजार र चौथो हुने टोलीले ३७ हजार पाँच सय प्राप्त गरे । 

महिला र पुरुषतर्फ सर्वाेत्कृष्ट घोषित दुवै खेलाडीले जनही २५ हजार प्राप्त गरे । यस्तै, विधागततर्फ उत्कृष्ट घोषित खेलाडी र प्रशिक्षकहरूले जनही १० हजार प्राप्त गरे । महिलातर्फ ६ टोली र पुरुषतर्फ ७ टोली सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहेका दुई टोलीबीच उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा भएको थियो ।