मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश पोख्रेल
२०७७ चैत २५ बुधबार ०८:३९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रचण्डलाई सुवर्ण अवसर

Read Time : > 2 मिनेट
प्रकाश पोख्रेल
२०७७ चैत २५ बुधबार ०८:३९:००

कम्युनिस्टहरूलाई एकीकृत गरी सिंगो कम्युनिस्ट पार्टी स्थापना गर्ने लक्ष्यमा प्रचण्ड सफल भए पनि एकीकृत कम्युनिस्ट पार्टीको आयु दुई वर्षभन्दा बढी भएन । राजनीतिक यात्रामा रणनीतिक सफलता प्राप्त गर्दै आएका प्रचण्डको एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्व हत्याउने योजना भने विफल भयो । सशस्त्र द्वन्द्वको घाउ मेटिइनसकेको अवस्थामा प्रचण्डलाई किनारा लगाउने प्रधानमन्त्री केपी ओलीका योजनाहरू सफलताउन्मुख देखिन्छन् ।

बहुदलीय प्रजातन्त्र प्राप्तिपश्चात् वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय मुद्दामा जागरणको प्रमुख श्रेय प्रचण्डलाई नदिँदा अन्याय नै हुन्छ । राजनीतिक चेतना वृद्धिमा माओवादी आन्दोलनलाई श्रेय दिन कन्जुस्याइँ गर्नु राजनीतिक बेइमानी हुन्छ । यद्यपि, कुन उद्देश्यका लागि आन्दोलन भएको थियो र आन्दोलन कसरी बिसर्जन भयो भन्नेले महत्वपूर्ण अर्थ राख्छ । मुलुकमा आमूल परिवर्तनको लक्ष्य बोकेर सशस्त्र विद्रोहमा होमिएका प्रचण्डप्रतिको नकारात्मक टिप्पणी किन व्याप्त बन्दै छ ? के प्रचण्ड राजनीतिक हस्ती होइनन् ? प्रश्नको जवाफ स्वयं प्रचण्डले दिनुपर्ने हुन्छ । विगत स्मरण गर्दै वर्तमानलाई टेकेर भविष्यको राजनीतिक बाटो तय गर्नु नै प्रचण्डका लागि बुद्धिमतापूर्ण हुन्छ । 

सशस्त्र विद्रोहमा धेरै आमाका काख रित्तिए । चन्दा आतंकले आक्रान्त जनता ज्यान जोगाउन सहर पस्न बाध्य भए । पूर्वाधार योजना माओवादीको निसानामा परे । निहत्था जनता सवार बस विद्युतीय धरापमा परे । शेरबहादुर देउवा प्रधानमन्त्री रहेको वेला विद्रोेहलाई हतियारकै बलले निस्तेज गर्न भनेर माओवादी कमान्डर प्रचण्डको टाउकोको मोलसमेत तोकियो ।

पूर्वराजा ज्ञानेन्द्रले सत्ता हत्याएसँगै माओवादीलाई मूलधारको राजनीतिमा प्रवेशको अवसर बन्यो । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला लोकतन्त्र पुनर्बहाली र सशस्त्र विद्रोहको अवतरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भए । आफूले हारे पनि मुलुकले जित्नुपर्छ भन्दै कोइरालाले लिएको अडानले कांग्रेसलाई भलै क्षति पुर्‍यायो, तर जनताले शान्तिको सास फेर्न पाए । हैसियतभन्दा बढी नै हिस्सासहित माओवादीलाई सिंहदरबारमा रातो कार्पेट बिछ्याइयो । संसदीय प्रजातन्त्रलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने दोकान ठान्ने प्रचण्डले शान्ति प्रक्रियामा आइसकेपछि भन्ने गर्थे, ‘बहुसंख्यक जनताका लागि संसदीय प्रजातन्त्र फासीवादी व्यवस्था हो ।’ उनै प्रचण्ड संसदीय प्रणाली स्विकार्दै प्रतिस्पर्धी राजनीतिमा रूपान्तरित हुँदै वाहवाहीको पात्र पनि बने । कालान्तरमा महत्वाकांक्षा, सैद्धान्तिक विचलनसँगै उनको विश्वसनीयता गुम्दै गयो । छिमेकी देशहरूले सहकार्यका लागि भर पर्न नसकिने पात्रको रूपमा उनलाई लिन थालेको सहजै अनुमान गर्न सकिन्छ । बहुदलीय संसदीय व्यवस्थामाथि टेकेर चीनको जस्तो जनवादी शासन व्यवस्था स्थापना गर्ने उनको आन्तरिक योजनाप्रति लोकतान्त्रिक शक्ति सशंकित थिए । फलस्वरूप उनी चौतर्फी घेरामा परे ।

नेपालको राजनीतिमा बाह्य प्रभावलाई निस्तेज गर्ने गरी राजनीतिक कोर्स अगाडि नबढेसम्म मुलुक राजनीतिक स्थायित्वतर्फ प्रवेश नगर्ने देखिन्छ । त्यसैले प्रचण्डले बृहत् लोकतान्त्रिक मोर्चाको नेतृत्व गर्ने गरी अगाडि बढे त्यो स्वयं प्रचण्ड र मुलुकका लागि समेत हितकर हुनेछ ।

केपी ओलीको छद्म राष्ट्रवाद र प्रचण्डमा कम्युनिस्ट शासनको धङधङीका कारण नेकपा दुर्घटनामा पर्‍यो । नेपालका कम्युनिस्टलाई एकीकृत गरी प्रभुत्व कायम गर्ने लक्ष्यमा रहेको चीनको उपस्थिति नेकपा सरकार गठनसँगै बाक्लिएको थियो । जुन भारतलाई चित्त बुझेको थिएन । नेकपाभित्र विग्रह पैदा गरी उनीहरूलाई अलग बनाउने रणनीतिमा लोकतान्त्रिक शक्ति लागेका थिए । सर्वोच्च अदालतले नेकपालाई अलग गराउने आदेश दिएसँगै कम्युनिस्टहरूको गठबन्धनसँग सशंकित भारत पनि आफ्नो रणनीतिमा सफल भएको देखिन्छ । एमाले र माओवादी केन्द्रबीचको एकीकरणमा चीनको भूमिका थियो भन्ने तथ्य नेकपाको कलह उत्कर्षमा पुग्दै गर्दा उनीहरूलाई मिलाउन चिनियाँ राजदूतले देखाएको अग्रसरताले पुष्टि गर्छ । प्रधानमन्त्री बनेपछि प्रथमपटक भारतको भ्रमण गरिँदै आएकामा प्रचण्डले चीन रोजे । नेपाली सेनाभित्र प्रचण्डले गर्न खोजेको हस्तक्षेप उनका लागि महँगो साबित भयो । प्रधानमन्त्री नियुक्त भएको सात महिनामै प्रचण्डले राजीनामा दिनुपरेको धेरै भएको छैन । 

शान्ति प्र्रक्रियामा आएसँगै राजनीतिको केन्द्रमा प्रचण्ड थिए । यसबीचमा सरकार बनाउने र गिराउने खेलमा प्रचण्डको निर्णायक भूमिका रहँदै आयो । एकातिर लोकतान्त्रिक पद्धतिलाई आफूले स्विकारेको भन्ने र अर्कोतिर चीनको जस्तो कम्युनिस्ट शासन प्रणाली नेपालमा स्थापित गर्ने मोह नत्याग्ने उनको द्वैध चरित्रकै कारण अमेरिका, भारतलगायत लोकतान्त्रिक शक्तिराष्ट्रका लागि उनको विश्वसनीयता गुम्दै गयो । उनी चीनकै लागि पनि भरपर्दो बन्न सकेनन् । 

बहुदलीय व्यवस्थाको आगमनसँगै राजनीतिमा अस्थिरता झनै भित्रिइरहेको छ । पद, सत्ता र शक्तिलाई नै सबै ठान्ने प्रवृत्तिले राजनीतिमा इमानदारिता, नैतिकता कोमामा पुगेको छ । गणतन्त्र, लोकतन्त्र, समाजवादजस्ता कर्णप्रिय शब्दावली जनताका कानमा बिझाउने स्थिति पैदा हुँदै गएको छ । जनतामा परिवर्तनको अनुभूति हुन पाएको छैन । जब शासन व्यवस्था अलोकप्रिय हुन्छ, त्यस देशमा विदेशी शक्तिले खेल्ने ठाउँ पाउँछन् नै । लामो समयसम्म अस्थिरताले घर गरिरहेको देशमा लोककल्याणको काम हुन पाउँदैन । अस्थिरता र अलोकप्रियताका कारण सही मार्गनिर्देशन दिने कुनै शक्ति देशभित्र देखा नपरेपछि त्यसलाई परिपूर्ति गर्न विदेशी शक्ति तम्सिने नै भए । 

नेताहरू शक्ति र सत्ताका लागि विदेशीसँग हारगुहार गरिरहेको हामीले देखिरहेकै छौँ । नेपालको राजनीतिमा बाह्य प्रभावलाई निस्तेज गर्ने गरी राजनीतिक कोर्स अगाडि नबढेसम्म मुलुक राजनीकि स्थायित्वतर्फ प्रवेश नगर्ने देखिन्छ । त्यसैले प्रचण्डले बृहत् लोकतान्त्रिक मोर्चाको नेतृत्व गर्ने गरी अगाडि बढे त्यो स्वयं प्रचण्ड र मुलुकका लागि समेत हितकर हुनेछ । ‘थोरै हतियार उठाएर स्थापित भएका पार्टीको जिम्मेवारी र शान्ति पनि थोरै हुने तर धेरै हतियारको बलमा स्थापित पार्टीको जिम्मेवारी र शान्ति बढी हुने’ भनेर टेलिभिजन अन्तर्वार्तामा आफैँले बोलेको वाक्यलाई मनन गर्दै आगामी बाटो तय गर्न सके उनको राजनीतिक भविष्य अझै पनि सुरक्षित छ । आफूलाई राजनीतिक हस्तीमा स्थापित गर्ने कि हिंसाका नाइकेको आरोप खेपिरहने ? जवाफ दिने सुवर्ण अवसर प्रचण्डलाई अहिले जुरेको छ ।