मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मंगलबार बिहान भत्किएको चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल । तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका
२०७७ चैत २५ बुधबार ०६:१४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिशूलीमा २१ करोड ६८ लाखमा  निर्माणाधीन पक्की पुल भत्कियो

Read Time : > 1 मिनेट
२०७७ चैत २५ बुधबार ०६:१४:००

०७४ कात्तिकमा निर्माण गरिसक्नुपर्ने पुलको चौथोपटक म्याद थपेर आगामी असार मसान्तसम्म पुर्‍याइएको थियो

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल भत्किएको छ । ८० प्रतिशत निर्माण सकिएको पुल मंगलबार बिहान ४ बजेतिर एकाएक भत्किएको हो । 

कात्तिक ०७१ मा शिलान्यास गरिएको यो पुल तीन वर्षभित्र निर्माण सम्पन्न गरी १९ कात्तिक ०७४ मा हस्तान्तरण गर्नुपर्ने थियो । तर, भूकम्प, कोभिड र डिजाइन परिवर्तनको कारण देखाउँदै चारपटक निर्माण अवधि थप गरिएको थियो । अन्तिमपटक थपिएको म्याद पनि आगामी असार मसान्तमा सकिँदै थियो । पुल निर्माण कार्यमा ढिलाइ गरिएको भन्दै स्थानीयले दबाब समिति नै गठन गरेका थिए । स्थानीय देवेन्द्र पौडेलका अनुसार पछिल्लो समय भने पुलको काम केही तीव्र भएको थियो ।

सुरुमा १६ करोड ५३ लाखमा इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले पुलको ठेक्का पाएको थियो । पछि डिजाइन परिवर्तन गर्दै लागत बढाएर २१ करोड ६८ लाख पु¥याइएको थियो । पुलको लम्बाइ दुई सय मिटर र चौडाइ साढे आठ मिटर छ ।

पुलमा ४०–४० मिटरका चारवटा स्पान छन् । देवघाटतर्फ रहने एउटा स्टिलको स्पान र ठिमुरातर्फका दुईवटा कंक्रिटका स्पान निर्माण भइसकेका थिए । बीचमा रहने स्पानमा ढलान गर्न बाँकी थियो । ढलान भएका दुईवटै स्पान भत्किएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर विजय दराईले बताए । उनका अनुसार पुल भत्किएको विषयमा निर्माण कम्पनीसँग पत्राचार भएको छ, कम्पनीले पुरानै बजेटभित्र नयाँ पुल बनाउने सहमति जनाएको छ ।

सडक विभागले पुल भत्किएको विषयमा अध्ययन गर्न समिति बनाएको डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । ‘पुल भत्केको जानकारी प्राप्त भएको छ, थप विषय विभागको अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।

त्रिशूलीमै बनिरहेको नुवाकोट–धादिङ जोड्ने पुल पनि यसअघि भत्किएको थियो 

नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पुल पनि निर्माण गर्दागर्दै ११ चैत ०७५ मा भत्किएको थियो । त्रिशूली नदीमाथि बनिरहेको यो पुलको सम्झौता असार ०७१ मा भएको थियो भने असार ०७४ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । 

तर, म्याद सकिएको २१ महिनापछि बनाउन थालिएको थियो । ढलान गर्नुअघि फर्मा राख्ने काम हुँदै गर्दा हुरीले भत्काइदिएको थियो । कांग्रेसका सांसद बहादुरसिंह लामाको कम्पनीले पुल बनाइरहेको थियो । 

सडक विभागका अनुसार त्यसअघि पनि यस्तै किसमले २–३ वटा पुल भत्किएका घटना भएका छन् । सुनकोसी पुल र त्रिशूली पुल तनहुँमा पनि यस्ता घटना भएको विभागले जनाएको छ ।