मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २५ बुधबार ०९:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली सौन्दर्य  सामग्री उत्पादन गर्ने  कारखानामा प्रहरीको छापा,  सञ्चालक चेतन गोयल पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २५ बुधबार ०९:०६:००

भारतमा बनेको भन्दै गैरकानुनी तवरले सौन्दर्यवद्र्धक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । चन्द्रागिरि नगरपालिका– १५ स्थित ढुंगेअड्डामा खोलिएको कारखानामा छापा मार्दै प्रहरीले सञ्चालक चेतन गोयललाई पक्राउ गरेको छ ।

नक्कली सामग्री उत्पादन गरेकै अभियोगमा गोयललाई प्रहरीले दुई वर्षअघि पनि पक्राउ गरेको थियो । त्यसवेला जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएपछि उनी छुटेका थिए । प्रहरीका अनुसार धरौटीमा छुटेलगत्तै उनले करिब डेढ करोड रुपैयाँ लगानीमा कारखाना खोली गैरकानुनी तवरले नक्कली सौन्दर्यवद्र्धक सामग्री उत्पादन गर्दै आएका थिए । 

महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार गैरकानुनी तवरले सञ्चालित उनको कारखानामा नेपाल र भारत दुवै मुलुकमा उत्पादन भएको भनी उल्लेख गरिएको मेहेन्दी र फेस क्रिम भेटिएका छन् । उत्पादित सामग्रीमा नक्कली होलोग्राम प्रयोग भएको र सामग्री सबै नक्कली रहेको अनुसन्धानमा संलग्न एसपी पंगेनीले बताए । ‘गैरकानुनी तवरले कारखाना सञ्चालन भइरहेको सूचनापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीसँगै हामी सम्बन्धित ठाउँ पुग्यौँ । त्यहाँ भारतमा बनेको भनिएका, तर त्यहीँ प्याकिङ गरिएका विभिन्न सौन्दर्य सामग्री फेला पर्‍यो, गुणस्तर परीक्षण गर्दा सबै नक्कली रहेको खुल्यो,’ उनले भने ।

प्रहरीका अनुसार गोयलले दुई वर्षदेखि हबिक काला कोकिला नामको उद्योग सञ्चालन गर्दै आएका थिए । उद्योगबाट उनले उच्च अदालत पाटनको आदेशपछि खारेज भइसकेको निशा नामको ट्रेडमार्क प्रयोग गरी मेहेन्दी उत्पादन गर्दै आएका थिए । सँगै उनले कारखानाबाट सोही ट्रेडमार्क प्रयोग गरी अन्य २४ प्रकारका सौन्दर्य सामग्री उत्पादन गर्दै आएका थिए । यसका लागि उनले अत्याधुनिक चारवटा मेसिन नै जडान गरेका थिए ।

‘अदालतको खारेज भइसकेको ट्रेडमार्कको अनधिकृत प्रयोग गरी मेहेन्दी उत्पादन गरेको देखियो । सँगै अन्य २४ प्रकारका सौन्दर्य सामग्री पनि उत्पादन भएको भेटियो । भारतमा उत्पादन गरेको भनिएको सामग्रीमा लेबल लगाउने काम त्यहीँ हुने गरेको पाइयो,’ एसपी पंगेनीले भने । 

प्रहरीका अनुसार उत्पादित सामग्री बिक्री गर्न उनले न्युरोडस्थित ताम्राकार प्लाजा मखन गल्लीमा आहान इन्टरप्राइजेज नामको होलसेल पसल नै खोलेका थिए । सोही पसलबाट उनले देशभर नक्कली सौन्दर्य सामग्री बिक्री गर्दै आएका थिए । कारखाना सञ्चालनका लागि उनले १२ जना कर्मचारी नियुक्त गरेको प्रहरीले जानकारी दिएको छ ।