१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं ।
२०७७ चैत २४ मंगलबार १७:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल भन्छन्– निर्वाचन आयोगले ओलीलाई आधिकारिकता दिए पनि आत्तिनुपर्दैन, नेता–कार्यकर्तालाई अलपत्र छाडने छैनौँ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं ।
२०७७ चैत २४ मंगलबार १७:०२:००

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रूपमा केपी ओलीलाई एमाले दिए पनि नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । आफूनिकट बागमती प्रदेश कमिटीको मंगलबार आयोजित बैठकमा नेता नेपालले निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् । 

उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए । आफ्नो पक्षमा लागेका कुनै पनि नेता–कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने उनको भनाइ छ । एउटै डुंगामा यात्रा गर्नेहरूलाई आफूले सफलताका साथ वारिबाट पारि पुर्‍याइछाड्न उनको प्रतिबद्धता छ । 

उनले भने, ‘भोलि वैधानिक रूपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईंहरूलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ, त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौँ । त्यसो हुनाले बीचमा तपाईंहरूलाई छाडने छैनौँ । तपाईंहरू र हामी एउटै डु‌ंगामा सवार भएका छौँ, त्यो डुंगालाई सफलताका साथ वारिबाट पारि पुर्‍याइछाड्ने छौँ । लक्ष्यसम्म पुगिछाड्ने छौँ । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’ 

नेपालले आफूहरू लोकतान्त्रिक कम्युनिस्ट शक्तिहरूसँग एकताबद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे । त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वसँग कुराकानी भइरहेको पनि उनले बताए । उनले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍याैँ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, मोहन वैद्यजीहरूको समूहसँग कुरा गर्‍याैँ उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, अरू लोकतान्त्रिक पार्टीहरूले पनि हाम्रो कुरालाई सकारात्मक रूपमा लिइरहनुभएको छ । हामी सबै सकारात्मक शक्तिहरूसँग एकताबद्ध भएर जान चाहन्छौँ । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्नेछैन । तर, यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा–अवरोधहरू खडा गर्‍याे भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौँ । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौँ ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको नेपालको भनाइ छ । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको आरोप लगाउँदै नेपालले ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए । अहिले प्रचण्ड र अन्य दलहरूसँगको दूरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेपालको भनाइ छ । 

ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरूप देखाएको पनि नेपालले बताए । आफूहरूमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको नेपालले बताए ।