स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड– १९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए ।
उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको पनि बताए । लकडाउनले कोभिड– १९ नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनले स्पष्ट पारे ।
उनले भने, ‘हामी यो चाहँदैनौँ कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदम छन्, ती गर्न सरकार तयार छ, त्यसको तयारी भइरहेको छ ।’
भारतमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमानाकामा एन्टिजेन परीक्षण सुरु गरेको त्रिपाठीको भनाइ छ । सीमानाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।